Shikhar Insurance

अवकासपछि कृषि फर्मबाट वार्षिक १० लाख आम्दानी गर्दै सिरहाका सुकदेव

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३१, सोमबार १७:००
NIMB
Nabil Bank

सिरहा । मान्छे जागिर छोडेर अवकासपछिको जीवन कसरी व्यतित गर्ने भन्ने चिन्तामा रुमल्लिएको देखिन्छ । कोही भने स्वतन्त्र रुपले जिउन चाहन्छन् । कुनै पेसा व्यवसायमा आवद्ध हुनुभन्दा पनि सामाजिक क्षेत्रमा लाग्नेहरु बढी देखिन्छन् । तर, सिरहाको लहान नगरपालिका–१६ का सुकदेव चौधरीको भने उपसचिवबाट अवकासपछिको जीवन अलि फरक शैलीमा बितिरहेको छ । विसं २०७९ मा नेपाल सरकारको जल तथा ऊर्जा आयोगको इलेक्ट्रोनिक इञ्जीनीयर अन्तर्गत उपसचिवबाट अवकास पाएसँगै व्यावसायिक कृषि पेसामा संलग्न भए । त्यसको लागि उनले जागिरे जीवनमै देश तथा विदेश भ्रमणताका विभिन्न कृषि क्षेत्रको अवलोकन गरी अवकासपछि यही पेसा गर्छु भन्ने सङ्कल्प गरिसकेको बताउँछन् ।

सिरहा जिल्लामै ड्रागन खेतीको सुरुवात आफुले गरेको दाबी चौधरीको छ । उनले भने,“जागिरबाट अवकास पाउने वित्तिकै कृषि कर्ममा हात हालेको छु । अवकास हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागनखेती सुरु गरिसकेको थिएँ । त्यसपछि फलफूलखेती, माछा व्यवसाय र माहुरी व्यवसाय पनि एकसाथ सुरु गरेको छु । अहिले दुई वर्ष भयो व्यवसायमा सोचे भन्दा राम्रो सफलता पाएको छु ।” चौधरीले १४ कठ्ठा क्षेत्रफलमा ड्रागनखेती गरेका छन् । त्यसैगरी फलफूलको बगैँचा पनि निर्माण गरेका छन् । जसमा सय/सय बोट लिची र कागती रहेका छन् । त्यसैगरी आँप, उष्ण क्षेत्रमा फल्ने स्याउ, सेतो जमुना, एभोकाडो, मौसमी अनार, सुन्तला जस्ता फलफूलका बिरुवा पनि लगाएको चौधरीले बताए । त्यस्तै चारवटा पोखरी निर्माण गरी छ प्रजातिका माछा व्यवसाय रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी आठ घारबाट माहुरी व्यवसाय पनि सुरु गरेका छन् । पेसाले इलेक्ट्रोनिक इञ्जिनीयरबाट अवकाशपछि यही क्षेत्रको निजी स्रोतमा ४०/५० हजारको जागिर सजिलै पाउने भए तापनि आफूलाई कृषि कर्ममा खुसी र सन्तुष्टि मिल्ने चौधरी बताउँछन् । “अवकासपछि आफूलाई कसरी व्यस्त र खुसी राख्ने भन्नेबारे मानिसको आ–आफ्नो धारणा हुनसक्छ । मलाई भने आफ्नै खेतबारीमा परिश्रम गरी शान्त वातावरणमा बाँकी जीवन व्यतीत गर्न मन लाग्यो । वास्तवमा प्रत्येक व्यक्तिले जे गर्दा आफ्नो मन खुसी हुन्छ वा सन्तुष्टि मिल्छ त्यही गर्नुपर्छ । कसैलाई घुमफिर गर्न मन लाग्छ, कोही समाजसेवामा आफूलाई सन्तुष्टि पाउँछन् । कोही जागिरको व्यस्तताले आफूलाई मन परेको काम गर्ने रहर मेट्न पाएका हुँदैनन् । जुनसुकै काम गरे पनि मन सन्तुष्ट हुने काम गर्नुपर्छ” चौधरीले बताए ।

वार्षिक १० लाख आम्दानी

चौधरीका अनुसार दुई वर्षअघिदेखि फल दिन सुरु गरेको ड्रागन सुरुको वर्ष जम्मा एक क्विन्टलमात्र भएको थियो । तर, दोस्रो वर्ष भने १६ क्विन्टल फल दिएको उहाँले बताउँदै आगामी वर्षमा ३० क्विन्टल हुने अनुमान गरे । प्रतिकेजी ड्रागनको फल रू तीन सयदेखि पाँच सयसम्म बिक्री वितरण भएको जनाउँदै मुख्यगरी यसको बजार सिरहाको लहान, गोलबजार र सदरमुकाम सिरहा तथा उदयपुरको गाईघाट र कटारी भएको चौधरीले बताए ।

यसरी ड्रागनखेती, माछा व्यवसाय र माहुरी व्यवसायबाट वार्षिक १० लाखको कारोबार हुने चौधरीले बताए । स–साना फलफूलको बोट भने हुर्कने प्रक्रियामा रहेकाले फल लाग्न बाँकी रहेको छ । त्यसैगरी आगामी वर्षमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना रहेको पनि चौधरीले जानकारी दिए ।

स्थानीयलाई रोजगार

कृषि कर्ममा चौधरी सक्रियताका साथ आफैँ बिहानदेखि बेलुकासम्मै खट्नुहुन्छ । उनलाई जीवन सङ्गिनी हरिदेवी चौधरीले साथ दिएका छन् । उनका एक छोरा भने अध्ययनको सिलसिलामा विदेशमा रहेका छन् । जागिरे जीवन हुँदा काठमाडौंमा करिब १६ वर्ष श्रीमतीले सुगर प्रेसरको औषधि खानुपरेको भए तापनि अहिले खेतबारीमा श्रम गर्दा उक्त रोग नियन्त्रणमा रहेको र कुनै औषधि खानै नपरेको चौधरी बताउँछन् ।

“केही नगरी बसेर दिन कटाउनु भनेको रोग पाल्नु जस्तै रहेछ । त्यो भन्दा त कामले शरीरलाई व्यस्त राख्दा शरीर पनि फुर्तिलो, खाने कुरा पनि अर्गानिक उत्पादन हुने रहेछ ।” चौधरीले भने । चौधरीले ड्रागनको खेतीभित्रै अर्गानिक कम्पोष्ट मल प्रयोग गरी प्याज, लसुन, भान्टा जस्ता तरकारी पनि लगाएका छन् । उनले अहिले पाँच जना स्थानीयलाई नियमित रोजगारीमा काम पनि दिलाएका छन् । युवाहरु बेरोजगार भएँ भन्दै भौँतारिने समस्या देख्दा दुःख लाग्ने उनी बताउँछन् । “मेहनत गरेपछि जीविकोपार्जन गर्न कुनै समस्या छैन । तर, त्यसको लागि स्पष्ट दृष्टिकोण चाहिन्छ । नेपालमा जमिनको महत्व नबुझेर विदेश जाने प्रवृत्ति छ । किन विदेश जानु ? खेतबारी बाँझै किन छोड्नु ? विदेशमा जतिनै मेहनत यहीँ गर्ने हो भने सुनै फलाउन सकिन्छ नि ।” चौधरीले भने ।

जागिरबाट अवकाश लिएपछि पनि मनलाई खुसी राख्न मानिसले आफूलाई कुनै न कुनै रुपमा सक्रिय राख्नुपर्छ भन्ने मान्यता चौधरीको छ । “सक्रिय हुनु भनेको आफ्नो शरीरलाई मात्रै होइन मनलाई पनि सक्रिय राख्नु हो । मानिसले आफूलाई सक्रिय राख्यो भने मात्रै आफ्नो मनलाई खुसी राख्न सकिन्छ । अनि मात्रै स्वस्थ, खुसी र सुखी जीवन जिउन सकिन्छ,” चौधरी अगाडि भन्छन्,“नेपालको परिप्रेक्ष्यमा त अवकाश लिने भनेको जागिर खानेको लागि मात्रै हो भन्ने धारणा छ । तर त्यस्तो होइन । शरीरले धानेसम्म काम गर्ने हो । सबैलाई राज्यबाट पेन्सन प्राप्त हुन्छ भन्ने छैन । पेन्सन प्राप्त भए पनि त्यो आफ्नो र परिवारको जीवन धान्न पर्याप्त हुन्छ भन्ने पनि छैन । बुढेसकाल धान्न राज्यबाट सुविधा प्राप्त हुन्छ भन्ने पनि छैन । त्यसैले अवकाशपछिको जीवनबारे पूर्व तयारी गरिएन भने जीवन धान्न मुस्किल हुन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्