Shikhar Insurance

भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २, बुधबार १२:०८
NIMB
Nabil Bank

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् ६ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा ५ करोड मात्र बजेट विनियोजन भएको थियो । थप २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी गरे । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ । बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी गरे । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल गरेको थियो । उनले भने ‘अब बजेटको अभाव हुँदैन । निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुप¥यो ।’

वि.सं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले गरिरहेको छ । कम्पनीले १ अर्ब सात करोड भुक्तानी प्राप्त गरिसकेको छ । चालु आवमा पनि २५ करोड हाराहारी कम्पनीलाई भूक्तानी गरिएको उनले बताए । सुरुको ठेक्का रकम १ अर्ब २३ करोड रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै २५ करोड आवश्यक पर्छ । यो सडक ६.०८ किलोमिटर लामो छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताइन् । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन । प्रमुख दाहालले भनिन् ‘बजेटका कारण काम हुन नसकेपछि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, सचिव लगायतलाई पटक पटक अनुरोध गरेपछि काम भएको हो ।’

GBIME

प्रतिक्रिया दिनुहोस्