Shikhar Insurance

काठमाडौंको तापक्रम ३३ डिग्री नाघ्ने, २ दिन देशभर तातो हावा चल्ने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार ०८:२२
NIMB
Nabil Bank

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ ।  “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।

Citizen Life
Kumar Bank

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार शुक्रबार दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, राति कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुनसक्ने छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही  एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले काठमाडौँ उपत्यकाको तापक्रम २०.२ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले तातो लहरको  असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।

तातो हावा तथा तातो लहर (लू)बाट  थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्