Shikhar Insurance

धान खेतमा मोटर फलाउँदै लक्ष्मी ग्रुप, आयातित भन्दा १० प्रतिशतसम्म सस्तो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १०:०२
NIMB
Nabil Bank

काठमाडौं । भैरहवाको उत्तर–दक्षिण सडकस्थित देवकोटा चोकबाट करिब ३० किलोमिटर पूर्व लागेपछि आउँछ परासीको रामग्राम नगरपालिका । भैरहवा आसपासको क्षेत्र अर्थात समथल र उब्जाउ जमिन, धमाधम विस्तार हुँदै गएको मानव बस्ति, तिब्र रुपमा निर्माण भैरहेका औद्योगीक पूर्वाधार । अनि त्यहि समथल अन्न भण्डारको धान, गहुँ र मकै फल्ने फाँटमा १० बिघा जमिनमा खडा छ एउटा संरचना । र त्यहि संरचना भित्र अहिले फल्छन् मोटर ।

Citizen Life
Kumar Bank

कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको एसेम्बल प्लान्टमा अहिले हुण्डाईका कार एसेम्बल भैरहेका छन् । परासीको रामग्राम नगरपालिका–१३ स्थित सडक किनारको ठूलो संरचनाभित्र ११ सय भन्दा बढी पार्ट पुर्जा जोडेर तयार भैरहेका छन् हुण्डाईका भेन्यु कार । र यो नै नेपालमा चार पांग्रे सवारी साधन उत्पादनको पहिलो एसेम्बल उद्योग पनि हो ।

एसेम्बलमा प्रयोग हुने ११ सय पार्टपुर्जामध्ये कम्पनीले केहि भारतबाट आयात गर्छ भने केहि सिधै कोरियाबाट ल्याउने गरेको छ । एक बर्ष अघिसम्म धान फल्ने खेतमा अहिले कार फल्ने संरचना बनाउन लक्ष्मी ग्रुपको लक्ष्मी मोटर कर्पाेरेशनले २ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । ‘सन २०२३ सम्म यहाँ धान खेत थियो, ११ महिनाको मेहनतबाट धान खेतमा मोटर फल्ने विश्वस्तरिय एसेम्बल प्लान्ट तयार भएर पनि सञ्चालनमा आईसकेको छ ।’ कम्पनीका प्रोजेक्ट मेनेजर इश्वर कुमार सर्राफले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८१ साल बैशाख २८ गते उद्घाटन गरेको एसेम्बल उद्योगले बर्षमा ५ हजार कार उत्पादनको क्षमता राख्दछ । हुण्डाई मोटर कर्पाेरेशन(एचएमसी)को प्राविधिक पर्यवेक्षणमा एलएमसी अर्थात लक्ष्मी मोटर कर्पाेरेशनले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको दावी छ ।

हुण्डाई मोटर कर्पाेरेशनले तयार पारेका सम्पूर्ण गुणस्तर र प्राबिधिक मापदण्डहरु पुरा गरि एसेम्बल प्लान्ट सुरु गरिएको हो । कोरियाबाटै आएका प्राबिधिकहरुले सम्पूर्ण निरिक्षण प्रतिवेदन तयार गरेपछि नेपाल सरकारका सम्वद्ध निकायहरुले समेत प्लान्टको निरिक्षण गरि उत्पादनका लागि अनुमति दिएको हो ।

छुट्टा छुट्टै आयात गरिएका स–साना पाटपुर्जाहरुलाई जोडेर सिंगो कार तयार गर्न यहाँ २ सय दक्ष इञ्जिनियर तथा प्राबिधिकहरु निरन्तर खटिएका छन् । कार एसेम्बलका लागि केहि प्राबिधिकहरु कोरियाबाटै आएर खटिएका छन् भने केहि भारतबाट पनि आएका छन् । तर अधिकांश प्राबिधिकहरु भने नेपालकै छन् । निर्यातको समेत सम्भावनालाई देखेर एसेम्बल प्लान्ट लगाएको कम्पनीले बताउँदै आएको छ ।

पोखराबाट व्यवसायीक यात्रा सुरु गरेका गणेश बहादुर श्रेष्ठको पारिवारिक कम्पनी लक्ष्मी ग्रुपले भगिनी संस्था लक्ष्मी मोटर कर्पाेरेशन मार्फत एसेम्बल प्लान्ट स्थापना गरेको हो । र यसको नेतृत्व गरिरहेका छन् ग्रुपका कार्यकारी निर्देश निराकार श्रेष्ठले ।

कम्पनीले नेपालमै एसेम्बल भएका भेन्यु कारको मूल्य आयात गरिएकाको भन्दा ७ देखि १० प्रतिशतसम्म सस्तो हुन सक्ने बताएको छ । तर अहिले लागत क्यालकुलेशनको काम जारी रहेकाले मूल्यबारे ठ्याक्कै भन्न सकिने अवस्था नरहेको कम्पनीका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बताउँछन् । भेन्युको सफल एसेम्बलपछि आई१० र क्रेटा पनि यहि प्लान्टमा एसेम्बल गर्ने कम्पनीको योजना छ ।

हुण्डाईको यो एसेम्बल प्लान्ट दक्षिण एशियाकै उत्कृष्ठ भएको प्लान्टका प्रोडक्सन मेनेजर सर्राफ बताउँछन् । दुई पांग्रे सवारी साधनका अन्य दुई एसेम्बल प्लान्ट पनि हुण्डाईको एसेम्बल उद्योग नजिकै छन् । शेखर गोल्छाको बजाज मोटर उत्पादन गर्ने एसेम्बल र बिष्णु अग्रवालको यामाहा मोटर साइकल बनाउन एसेम्बलको बिचमा पर्छ हुण्डाईको यो एसेम्बल ।

पछिल्लो समय भैरहवा र आसपासका क्षेत्रमा तिब्र औद्योगीकरणको लहर चलिरहेको छ । पथलैया–बिरगञ्ज औद्योगीक करिडोरमा जग्गाको अभाव र शान्ति सुरक्षाको चुनौती समेत थपिएपछि भैरहवा आसपासका क्षेत्रमा औद्योगीकरणको नयाँ युग सुरु भएको हो । त्यस बाहेक फराकिलो भैरहवा–बुटवल सडक अनि धमाधम विस्तार हुँदै गरेको बुटवल–नारायणगढ सडकले पनि यो क्षेत्रमा सम्भावनाको नयाँ ढोका खोलिदिएको छ ।

औद्योगिकरणको प्रथम प्रस्थान विन्दु नै एसेम्बल उद्योग भएको बताउँदै कम्पनीले नेपालमा उत्पादन भएका हुण्डाईका सवारी साधनहरु निर्यातको सम्भावनालाई हेरेको छ । नेपालमा तयार भएका मोटरहरु उत्तरी भारत र बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावना छ । एसेम्बल उद्योगहरुलाई प्रोत्साहन गर्ने सरकारको स्थिर नीतिले निरन्तरता पाउनुपर्ने व्यवसायीहरुको माग छ ।

यस अघि नै बजाज मोटर साइकल, यामाहा, टिभिएस र रोयल इनफिल्ड मोटर साइकलहरु नेपालमै एसेम्बल हुँदै आईरहेका छन् । विद्युतिय सवारीसाधनहरु प्रति उपभोक्ताहरुको बढ्दो आकर्षणका बावजुद लक्ष्मी ग्रुपले साढे २ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेर एसेम्बल उद्योग खोल्ने जोखिम उठाउनु सामान्य विषय भने होइन् ।

तर दुई पांग्रे सवारी साधनहरुले करमा सहुलियत लिएको तर रोजगारी तथा उपभोक्ता मूल्यमा खासै प्रभाव नपारेको भन्दै आलोचना भने खेपि नै रहेका छन् । दुई पांग्रे सवारी साधन एसेम्बलका क्रममा दिईएको कर सहुलियतमाथि महालेखा परिक्षकको कार्यालयले प्रश्न गरिसकेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्