Shikhar Insurance

पाँच महिनादेखि रोकिएको आईपीओ र हकप्रद सेयरको निष्काशन खुलाउँदै धितोपत्र बोर्ड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १४, सोमबार १०:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको सार्वजनिक निष्काशनहरु अब खुल्ने बताएको छ । नयाँ कानुनी व्यवस्था अनुसार बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका सहसचिव नरेन्द्र कुमार रानाले लामो समयदेखि रोकिएका सार्वजनिक निष्काशनहरु अब खुल्ने बताएका हुन् ।

बोर्डले २०८० पुस १९ गते अन्तिम पटक रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमा आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । त्यस्तै, रिडी हाइड्रो पावरले पनि पुस १९ गते नै हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको थियो । अर्थात अब करिब पाँच महिनापछि आईपीओ र हकप्रद सेयरको निष्काशन खुल्ने भएको हो । ‘नियम पुरा गरेका कम्पनीहरुको सार्वजनिक निष्काशन अब खुल्छन्’, बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका सहसचिव रानाले सिंहदबारसँग भने ।

Citizen Life
Kumar Bank

यस अघि बोर्डमा अध्यक्षको जिम्मेवारीमा रहेका सहसचिव रितेश शाक्य बिभिन्न विवादहरुमा तानिएपछि अर्थमन्त्री वर्षमान पुनले रुकुम पश्चिम स्थायी घर भएका रानालाई बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् ।

बोर्डमा पुस २१ गतेदेखि अध्यक्ष पद रिक्त थियो । अध्यक्ष छनौट प्रक्रिया अघि बढेर पनि कर्पाेरेट घरानाहरुले आफु अनुकुल पात्रहरु ल्याउनका लागि अनेकौं दबाव बढाएपछि अध्यक्ष नियुक्ति प्रक्रिया बिचमै रोकिएको छ । पूर्णकालिन जिम्मेवारीसहित नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि रानाले नै बोर्ड अध्यक्षका रुपमा काम गर्नेछन् । ‘नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया जारी छ, म बिचको अवधीमा नियमित काम गर्नेगरि आएको हुँ, दिर्घकालिन महत्वका कामहरु भावी अध्यक्षले गर्नुहुनेछ, बजार सम्वद्ध नियमित कामहरु भने मैले सुरु गरिसकेको छु’, अध्यक्ष रानाले भने ।

बोर्डमा अध्यक्ष बन्नका लागि आवेदन दिएकाहरुमध्ये डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की र सन्तोष नारायण श्रेष्ठको नाम अन्तिम पाँचमा छानिएको छ । उनीहरुमध्येबाटै एक जनालाई बोर्ड अध्यक्ष बनाइनेछ । तर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि व्यवसायीक घरानाहरुले आफु अनुकुल अध्यक्ष बनाउन चर्काे दबाव दिएपछि अर्थमन्त्री पुनले प्रक्रिया नै रोकिदिएका छन् ।

हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन दिएको दिपक भट्ट समुहले सन्तोष नारायण श्रेष्ठलाई अघि सारेको छ भने मुक्तिनाथ श्रेष्ठ दोश्रो प्राथमिकतामा छन् । बुटवलका सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन एमाले अध्यक्ष केपी ओलीले पनि प्रधनमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनमाथि दबाव दिईरहेका छन् ।

उता, व्यवसायी चन्द्र ढकालहरुको समुहले भने चिरञ्जीवी चापागाईँ र कृष्ण कार्कीमध्ये एक जनाको नाम अघि सारेका छन् । डा. नवराज अधिकारीले भने आफु प्रधानमन्त्री प्रचण्डको आफन्त भएको बताउँदै अध्यक्षमा दावेदारी पेश गरिरहेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्