Shikhar Insurance

कर विवादमा सुर्य नेपाल-कच्चा भन्दै तयारी सुर्ति आयात, वीरगञ्ज भन्सारले परिमाण नै लुकायो

प्रकाश वाग्ले
२०८१ जेष्ठ २५, शुक्रबार ०८:३३
NIMB
Nabil Bank

काठमाडौं । प्रत्येक वर्ष धेरै कर तिरेको भन्दै पुरस्कृत हुने देशको सबैभन्दा ठूलो चुरोट उद्योग सुर्य नेपाल प्राली कर विवादमा फसेको छ । सुर्य नेपालले कच्चा पदार्थ भन्दै तयारी सुर्ति आयात गर्ने गरेको भेटिएको हो ।

प्रालीले भारतबाट सुर्ति आयात गर्ने गरेको छ । सो सुर्ति ६ महिनादेखी १ वर्ष लगाएर कट टोबाकोको रुपमा नेपालमा आयात गर्ने गर्छ । यसरी आयात गरेको सुर्ति भन्सार बिन्दुमा कच्चा (र) सुर्ति भन्दै घोषणा गर्ने गरेको छ । तर सो सुर्ति कच्चा सुर्ति नभई तयारी सुर्ति भएको महालेखा परिक्षक कार्यालयको भनाई छ ।

Citizen Life
Kumar Bank

महालेखा कार्यालयले उठाएको कर छलिको विषयमा अध्ययन भैरहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिए । पन्थीले सिंहदरबारसँग भने, ‘विभिन्न प्रकारका सुर्ति आयात हुने गरेको छ, यसरी आयातकर्ताले भन्सार घोषणा गर्दा फरक गर्दिदा मिसम्याच हुने गरेको छ, भन्सार अधिकृतलाई पनि छुट्याउन असहज हुने गरेको छ । यस विषयमा स्पष्ट गर्न महालेखामा पत्राचार गरिसकेका छौं, यद्यपी उद्योगबाट नमुना संकलन गरी भन्सार विभाग समेत पठाइसकेको छौं।’

विभागले तयारी सुर्ति भनि वर्गिकरण गरे थप राजस्व असुली गर्न प्रमुख पन्थीको भनाई छ । महालेखालाई पठाएको पत्रमा साइज मात्रै मिलाएर प्रोसेसिङका लागि ल्याएको वस्तु कच्चा नै भएको भनिएको छ । सुर्य नेपाल प्रालीमा भारतको आइटीसी लिमिटेडको ५९ प्रतिशत शेयर हिस्सा छ । सोही कम्पनीले भारतमा तयारी सुर्ति बनाएर नेपालमा पठाउने गर्छ ।

आर्थिक ऐन, २०७९ को दफा २ मा विदेशबाट पैठारी हुने मालवस्तुमा अनुसूची-१ बमोजिम भन्सार महसुल लगाउनुपर्ने, दफा ५ मा नेपालभित्र पैठारी भएका मालवस्तुमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम अन्तःशुल्क असुल गर्नुपर्ने व्यवस्था छ । दफा ६ मा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि कर लगाई असुल गर्नुपर्ने उल्लेख छ ।

नेपालभित्र पैठारी हुने मालवस्तुको उपयुक्त वर्गीकरण गरी सोही अनुसारको दर लगाई भन्सार जाँचपास गर्नुपर्ने उल्लेख छ । भन्सार विभागले कार्यालयहरूलाई पटक- पटक परिपत्र गरी मालवस्तु जाँचपास गर्दा स्पेसिफिकेसन, गुणस्तर खुलाई जाँचपास गर्न निर्देशन दिएकोमा भन्सार कार्यालयले जाँचपास गर्दा उक्त निर्देशनको पूर्ण पालना नगरेको महालेखाले जनाएको छ ।

मालवस्तु पैठारी गर्दा बिलमा अनम्यानुफ्याक्चर्ड सुर्ती उल्लेख गरीएको छ भने वीरगन्ज भन्सार कार्यालयले जाँचपास गर्दा प्रणालीमा केही कारोबारको परिमाणसमेत खुलाएको छैन । परिमाण उल्लेख नभएको विषयमा भने कहिलेकाहि एक ठाउँमा देखिएपनि अर्को ठाउँमा नदेखिने गरेको भन्सार प्रमुख पन्थीले बताए ।

आर्थिक वर्ष २०७९।०८० मा अनम्यानुफ्याक्चर्ड सुर्तीलाई बिराटनगर, वीरगन्ज लगायतका भन्सार कार्यालयले अधिकांश प्रज्ञापनपत्रमा कट टोबाको भनी भन्सार उपशीर्षक २४०३.९९.३० बाट जाँचपास गरेका छन् ।

जसमा ८० प्रतिशत भन्सार महसुल, रू.४६० प्रतिकेजी अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेका छन् । सुर्ती प्रोसेस गरिएको हो वा कट टोबाको समेत रहेको हुनसक्ने देखिएकोले भन्सार उपशीर्षक २४०१.२००० बाट जाँचपास गर्दा वीरगन्ज भन्सार कार्यालयका ३ पैठारीकर्ताको ८८२ प्रज्ञापनपत्रको कारोबार मूल्य रू. २ अर्ब ६३ करोड ७८ लाख २० हजार र सुख्खा बन्दरगाहा भन्सार कार्यालय, पर्साको एक पैठारीकर्ताको ६३ प्रज्ञापनपत्रको कारोबार मूल्य रू. २१ करोड ९७ लाख ८४ हजारसमेत रू. २ अर्ब ८५ करोड ७६ लाख ४ हजार कारोबार मूल्यमा लाग्ने राजस्व सम्बन्धमा छानबिन हुनुपर्ने महालेखाको निष्कर्ष छ ।

भारतले सुर्ति को कच्चा पदार्थ आयातलाई ८ मागमा विभागजन गरेर आयत गर्ने गर्छ । तर नेपालले भने २ भागमा मात्रै विभाजन गरेको छ । भन्सार शिर्षक नम्बर २४०१ बाट अनम्यानुफ्याक्चर्ड सुर्ति जाँचपास हुने गरेको छ । यो शिर्षकबाट जाँचपास गर्दा भन्सार महसुल दर प्रतिकिलो ३० प्रतिशतका दरले तिर्नुपर्छ । यस्तै, अन्तशुल्क प्रतिकिलो १ सय ३० रुपैयाँ र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्छ ।

प्रोसेस सुर्ति आयात गर्दा भन्सार शिर्षक नम्बर २४०३ बाट जाँचपास गर्नुपर्ने व्वस्था छ । जसमा भन्सार महसुल प्रतिकिलो ३० प्रतिशत, अन्तशुल्क प्रतिकिलो ४ सय ६० रुपैयाँ र भ्याट १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सुर्य नेपालले भने भन्सार बिन्दुमा कर छलि गर्नका लागि तयारी सुर्तिलाई अनम्यानुफ्याक्चर्ड सुर्ति घोषणा गर्ने गरेको छ ।

त्यसैगरी, वीरगन्ज भन्सार कार्यालयका ३ प्याकेजिङ उद्योगले पैठारी गरेको अनम्यानुफ्याक्चर्ड सुर्ती प्रोसेस गरेको वा कट टोबाको समेत भएकोले प्रति केजी रू. २११ देखि रू. २३५ सम्मको अनम्यानुफ्याक्चर्ड सुर्तीलाई केही प्रज्ञापनपत्रहरूमा भन्सार दरबन्दी २४०३.९९.३० (कट टोबाको) बाट ८० प्रतिशत भन्सार महसुल, रू. ४६० प्रति के.जी. अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र प्रति के.जी. रू.६० स्वास्थ्य जोखिम कर लगाई जाँचपास भएको छ, भने प्रति के.जी. रू.२३० देखि रू.२३८ सम्मको अनम्यानुफ्याक्चर्ड सुर्तीलाई नै भन्सार उपशीर्षक २४०१.२००० (अनम्यानुफ्याक्चर्ड सुर्ती) बाट २० प्रतिशत भन्सार महसुल, रू. १३० प्रति के.जी. अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्दा छुट भएको राजस्व रू. ६ करोड ४६ लाख ९६ हजार सम्बन्धमा यकिन गरी छुट भएको राजस्व रकम असुल गर्नुपर्ने उल्लेख छ ।

यस्तो छ डब्लुसीओको गाइडलाईन

वल्र्ड कस्टम अर्गनाइजेशन (डब्लुसिओ) को गाइडलाइनलाई नै उपेक्षा गर्दै भन्सार कार्यालयहरुले तयारी सुर्तिलाई कच्चा पदार्थ भन्दै जाँचपास गरिरहेका छन् ।

डब्लुसीओको गाइडलाइन अन्तर्गत एचएस कोड २४०१ मा अनम्यानुफ्याक्चर्ड सुर्ति भन्नाले टोबाकोको सिङगै पात हुनुपर्ने कुनैपनि प्रोसेस भएको हुन नहुने उल्लेख छ । यस्तै, भन्सार शिर्षक २४०३ मा सुर्तिको पातलाई गरिएको कुनैपिन प्रोसेसलाई मानेको छ ।

सुर्य नेपाललाई सुर्तिको कच्चा पदार्थ पठाउने एसटीसीले प्रोसेस गरेर मात्रै सुर्ति पठाउने गरेको महालेखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्