Shikhar Insurance

सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १३:१३
NIMB
Nabil Bank

बागलुङ । गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो । एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आएका उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गरेका थिएनन् ।

सुनारका दुई छोरा सम्पर्कविहीन छन् भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आएका सुनारको परिवारले नयाँ घर पाएका छन् । गाउँकै ज्ञानबहादुर थापाको पहलमा उनको परिवारलाई नयाँ घर निर्माण गरिएको हो । सुनारले भने,“वृद्धावस्थामा नयाँ घर मिलेको छ, नातिनातिनालाई ओत लगाउन पाएँ, तीन छोरा भएरसमेत सुखको अनुभूति गर्न पाएको थिइनँ । १२ वर्षअघि भारत गएको जेठो र माइलो छोरा फर्केर आएनन्, कान्छो जेलभित्र छ । अब बल्ल बासको पीर हट्यो ।”

Citizen Life
Kumar Bank

थापाले एउटै कोठामा आठजनाको परिवार कोचिएर बसेको तस्बिर सामाजिक सञ्जालमा राखेर सहयोगको अपिल गरेका थिए । “बेलाबेलामा खाद्यान्न, जस्तापाता सहयोग गरिएको थियो, तर सुरक्षित आवास नहुँदा समस्या थियो, एक दिन बिहानै काली सुनारको घरमा पुग्दा अगेना छेउमै आठजना कोचिएर सुतेको देखेपछि सामाजिक सञ्जालमा तस्बिर राखेँ । धेरैले घर बनाइदिनूहोस् हामी सहयोग गर्छौं भन्ने आश्वासन दिनुभयो । स्थानीय युवाहरुको साथ सहयोगमा नयाँ घर निर्माण गर्न सफल भयौँ ।” थापाले बताए ।

घर बनाउन सुरुमा प्रगति आधारभूत विद्यालयले अभिभावक भेलामा २५ हजार पाँच सय सङ्कलन गरेको थियो । त्यही पैसाले घर बनाउने काम थालेको उनको भनाइ छ । अहिले अधिकतम ५ हजारदेखि दुई हजारसम्म सहयोगको प्रतिबद्धता धेरैले जनाएको थापाले जानकारी दिए । चार कोठाको घर निर्माण सम्पन्न भइसकेको थापाले बताए । उनका अनुसार गलकोट नगरपालिकाको विपद् व्यवस्थापन शाखालेसहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सुनारले वृद्धभत्ताको रकम नातिनातिनीको पढाइमा खर्च गर्दै आएका छन् । सुनारको परिवारलाई गाँस, बास, कपास र शिक्षाको व्यवस्था मिलाउने गरी सहयोग सङ्कलन अभियान जारी रहेको थापाको भनाइ छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्