Shikhar Insurance

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १४:४७
NIMB
Nabil Bank

गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन् भने बाँकी चार घर दलित समुदायका । लम्जुङको दोर्दी गाउँपालिका–८ स्थित रमणीय गाउँका रुपमा रहेको टाप यस क्षेत्रको प्राचीन गाउँ हो ।

परम्परागत कला, संस्कृतिका साथै प्राकृतिक सौन्दर्यताका कारण धेरै पर्यटकीय सम्भावना रहेर पनि उचित प्रचारप्रसारको अभावमा यहाँको मौलिक पहिचान अझै उजागर हुन सकेको छैन । गाउँको प्रवर्द्धनसँगै पर्यटकीय उपयोगका लागि समयसमयमा विभिन्न प्रयास भए पनि त्यसले अझै सार्थकता पाउन नसकेको स्थानीय समाजसेवी एवं दोर्दी गाउँपालिका–८ का पूर्ववडा सदस्य सुकबहादुर गुरुङले बताए ।

Citizen Life
Kumar Bank

उनले भने,“टाप गाउँ प्राकृतिक सुन्दरतासँगै आफैँमा मौलिक संस्कृतिले सम्पन्न ठाउँ हो । गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न नसक्दा हामी अझै पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेका छौँ ।”प्राचीनकालदेखि गाउँमाथिका भिरमा हुने गरेको भिर मौरीको सिकारको पर्यटकीय महत्व छ । यहाँबाट नजिकै रहेका प्रसिद्ध बराह पोखरी, लम्जुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरी यहाँको पहिचानसँग जोडिएका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

टाप गाउँबाट लगभग पाँच घण्टाको हिँडाइमा बराह पोखरी पुग्न सकिन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ र दोर्दी गाउँपालिका–८ को सिमानामा पर्ने यो पोखरी समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित रहेको गुरुङले जानकारी दिए । उनका अनुसार वरपर लालीगुराँसले ढाकिएको बराह पोखरीमा पात खस्नासाथ चराले टिपेर बाहिर फाल्ने भएकाले यसको महिमा र गरिमा अझै बढेको छ ।बराह पोखरीमा श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासले पनि धार्मिक महत्व चुलिएको स्थानीयवासी बताउँछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा निःसन्तालाई सन्तान प्राप्त हुने जनविश्वासले यसको धार्मिक महत्व बढाएको छ । टाप गाउँभन्दा माथि अन्य बस्ती नभएका कारण बराहपोखरी जाने धार्मिक पर्यटकलाई लक्षित गरी यो गाउँमा घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गर्ने आफूहरूको सोच रहेको गुरुङले बताए ।

गाउँभन्दा माथिका चिन्मी, तिजे, छौंदी जस्ता भिरहरूमा पर्याप्त भिर मौरी पाइने र यी ठाउँमा परम्परागत रुपमा वार्षिक भिर मौरीको सिकार गर्ने गरिएको दोर्दी गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताए । टाप गाउँमाथिका भिरमा परम्परागत रुपमा हुने गरेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्ने प्रयासमा लागिरहेको उनले बताए ।

कतिपय ठाउँमा भिर मौरीको सिकार पछिल्ला पुुस्तामा पुस्तान्तरण हुन नसकेका अवस्थामा टाप गाउँमा भने यो सीप पुस्तान्तरण भएको पाइन्छ । एउटा भिर मौरीको सिकार गर्न करिब ६० देखि ७० जनासम्म आवश्यक हुनेमा टाप गाउँमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म यसमा संलग्न हुने गरेको स्थानीय युवा जगतराम गुरुङले जानकारी दिए । भिर मौरीको मह प्रतिलिटर २ हजार बिक्री हुने गरेको बताए । साहसिक पर्यटनको एउटा महत्वपूर्ण गतिविधिका रुपमा रहेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्न सकेमा पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले बताए ।

बराह पोखरीबाट माथि दुई दिनको पदयात्रामार्फत अर्को धार्मिक पर्यटकीय गन्तव्य मेमे पोखरी पुग्न सकिन्छ । हिउँचुली हिमालको पानी आउने मेमे पोखरीमा प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । विशेषगरी लमजुङकै गुरुङ तथा तामाङ समुदायले मेमे पोखरीलाई विशेष महत्वको धार्मिक तीर्थस्थलका रुपमा लिने गर्दछन् । मेमे पोखरी दर्शन गरिसकेपछि बराह पोखरीको दर्शन नगरे मेला पूरा नहुने विश्वासका कारण यी दुई पोखरीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । कृषिप्रतिको अनिच्छाका कारण ग्रामिण बस्तीका जग्गाहरू बाँझो भए पनि टाप गाउँका स्थानीले बाँदरलगायत समस्याका बाबजुद मकै, कोदोलगायत खेतीपातिलाई निरन्तरता दिँदै आएका छन् ।

भिरमौरीका साथै पदयात्रा पर्यटनको गन्तव्यका रुपमा टाप गाउँको पर्यटकीय विकास गर्न सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । यस क्षेत्रलाई पदयात्रा पर्यटनको गन्तव्य बनाउनका लागि टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा दोर्दी, बारापाक सुलिकोट, अजिरकोट र दूधपोखरी गाउँपालिकाको समन्वयमा १६ दिनसम्मको पदयात्रा मार्ग तय गर्नेगरी प्रयास अघि बढेको उनले जानकारी दिए । सडक निर्माणसँगै पदयात्रा मार्गहरू छोटिएको वर्तमान सन्दर्भमा प्रस्ताव गरिएका पदमार्ग विकास हुन सके यो क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष अधिकारीको भनाइ छ । उनका अनुसार पदमार्गअन्तर्गत नौथर सेराबाट इलम पोखरी, लिपे, नोटाँचे, मुलम्चे, उखण्ड, मेमे पोखरी, कुम्लेडाँडा हुँदै बराह पोखरी जोड्न सकिन्छ । त्यस्तै इलम पोखरीबाट नोटाँचे, नौथर सेराबाट दाम्राङ, लिपे हुँदै नोटाँचे जस्ता विभिन्न पदमार्गलाई जोड्न सकिने सम्भावना रहेको उनले बताए ।

टाप गाउँ पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ठाउँ भएकोले यसको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोख्रेलले बताए । “टाप गाउँलाई भिर मौरीको सिकारको गन्तव्यसँगै पदयात्रा पर्यटनसँग जोड्न सकिने धेरै सम्भावना छन् । गाउँका प्राचीन मौलिकता कायमै रहने गरी सुरुमा घरवास(होमस्टे) सञ्चालन गर्न आवश्यक छ” उनले बताए ।

टापमा घरवासको सञ्चालन एवम् यहाँको पर्यटन प्रवर्द्धनका लागि बोर्डका तर्फबाट आवश्यक सहयोगका लागि पोख्रेलले विश्वास व्यक्त गरे । भिरमौरी सिकारकै सम्भावना देखेर नेपाल पर्यटन बोर्डले दोर्दी गाउँपालिकालाई यहाँको भिरमौरी सिकारको प्रवर्द्धनका लागि सहयोग गरेको उनले जानकारी दिए । दोर्दी गाउँपालिकाको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टाप गाउँ माथि छौँदी भीरमा भिरमौरी सिकार महोत्सव २०८१ सम्पन्न भइसकेको छ । यसलाई आगामी वर्षमा पनि यस महोत्सवलाई पर्यटकीय रुपमा अघि बढाइने स्थानीय समाजसेवी सुकबहादुर गुरुङले बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्