Shikhar Insurance

नेपालमा लगानी गर्न भारतीय व्यावसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले त्यस्ताे आग्रह गरेका हुन् ।

उक्त भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फिक्कीका पदाधिकारीले छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल भारतीय लगानीकर्ताका लागि उपयुक्त देश भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए ।

Citizen Life
Kumar Bank

प्रधानमन्त्री दाहालले भने,“लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुन अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ । लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।” उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उनको भनाइ छ । भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री दाहालले ठूला जलविद्युत् आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

सो अवसरमा फिक्कीका अध्यक्ष डा अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जाका क्षेत्रमा आफू र आफ्ना सदस्यहरू लगानी गर्न इच्छुक रहेको बताए । प्रधानमन्त्री दाहालले लगानीका लागि लिनुभएको तदारुकतालाई आफूहरूले नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै अध्यक्ष शाहले नेपालमा लगानीका लागि उत्साहित रहेको बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्