Shikhar Insurance

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदहरुको जोड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आज(मंगलबार) बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटाले कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर हुनु परेको उल्लेख गर्दै आत्मनिर्भर बन्ने गरी सरकारले विशेष कार्यक्रम अगाडि सार्नुपर्ने बताए । सांसद सापकोटाले भने,“कृषिप्रधान देश हो तर हामी आफैँले खान पुग्नेगरी खाद्यान्न तरकारी फलफूल पनि उत्पादन गर्न सकिरहेका छैनौँ, परनिर्भर हुनुपरेको छ । प्राकृतिक स्रोतहरु परिचालन गर्न जानेका छैनौँ, प्लाष्टिकजन्य सामग्रीलाई बढी कर लगाउनुपर्छ, नेपालकै दुनाटपरी प्रयोग गर्नुपर्छ, जसलेगर्दा मुलुक आत्मनिर्भर हुन्छ । यस विषयमा सरकारको ध्यान जाओस् ।”

Citizen Life
Kumar Bank

जलवायु परिवर्तनका कारण हिमाल कालापहाडमा परिणत भएका, धेरै नागरिक पहाडबाट तराई झरेका र तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएका तर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसीले मुलुकलाई आत्मनिर्भर बनाउने किसिमका उद्योगधन्दा र कृषिजन्य उत्पादन बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । “मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्नका लागि मुलुकलाई विकासको बाटोमा डोर्‍याउन जरुरी छ” उनले भने । उनले भूकम्प प्रभावितलाई अझै घर निर्माण नभएका र पहिलो किस्ता पनि ६० प्रतिशतले नपाएको गुनासो आइरहेको उल्लेख गर्दै टिनको टहरामा बस्नुपर्दा गर्मी, सर्पको डर र विभिन्न खालको हिंसा हुने खतरातर्फ पनि सरकार सचेत हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले बजेटमा प्रभावशाली नेताका जिल्लामा धेरै बजेट र अरु नेताहरुको जिल्लामा बजेट नै नभएको गुनासो गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकारी विद्यालयमा तालिममा धेरै खर्च गरिए पनि शिक्षण सिकाइमा धेरै सुधार हुन नसकेकोकाले यस विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे । साथै, उनले सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

एमालेका सोनाम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले विकराल अवस्था ल्याएको भन्दै सगरमाथाको आधार शिविरमा फोहरमैला व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले जलवायु परिर्वतनका कारण हिमालमा गम्भीर असर परेकाले न्यूनीकरणका लागि प्रयास गर्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उर्मिला अर्यालले राज्यको आर्थिक स्रोतको दुरुपयोग गर्दैै राजनीतिक पहुँच बढाउनेलाई कारबाही गर्नुपर्ने बताए । उनले झोलुङ्गे पुलको नियमित मर्मत गर्ने, विकल्पमा पक्की पुल बनाउनुपर्ने र विगतमा लापरबाही गरेका ठेकेदारहरुलाई कारबाही गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मदनकुमारी शाह (गरिमा) ले भूकम्प प्रभावित क्षेत्रजस्तै सल्यान, रुकुमपश्चिम र जाजरकोटको पुनःनिर्माणमा तीव्रता दिन माग गरे । सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको बीचमा रहेको झोलुङ्गे पुलको लट्ठा चुडिँदा १४ वटा खच्चड पुुलमा परेका र समयमा उद्धार गर्न नसक्दा दुई खच्चडको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । झक्कुप्रसाद सुवेदीले खास परिस्थितिमा देशमा निरासा देखिनु स्वभाविक भएको उल्लेख गर्दै सबैले निरासा बाँड्ने काम गर्न नहुनेमा बताए । उनले नयाँ पार्टीहरु पुराना पार्टीको वितृत्णाको कारण नभई नेपालको संविधानले गरेको व्यवस्थाअुनसार आएको र अब संविधान रक्षाका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै, सांसद विष्णुदेवी पुडासैनीले महँगी बढ्दै गएको तर निरीक्षण तथा अनुगमनको कुनै पनि व्यवस्था नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले विकास निर्माण, सडक, पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्