जब ‘देउता किन अप्ठ्यारो ठाउँमा मात्र बस्छन् ?’ भन्ने प्रश्नको जवाफ पाएँ

रोविन पौडेल
२०७८ भाद्र १९, शनिबार ०९:५८

जनै पूर्णिमाका बेला गोसाइकुण्ड जाने मेरो केही वर्षअघिको योजना हो । तीर्थयात्रा ठूलो आकांक्षा नभएपनि तीर्थयात्रा कै नाममा ठाउँठाउँ घुम्ने रहर पक्कै हो ।

यो भावलाई मैले यसरी भनें, “तिर्थयात्रा त बहाना हो, घुम्न जाने खास चाहना हो ।” साथी पाएँ, ज्वाइँ (हिमाल धिताल) ।

अघिल्लो रातसम्म खुब भ्लग हेरें । क्यामेरामा कैद भिडियाले झन् जाउँ जाउँ लाग्यो । खुब रमाइलो हुन्छ भन्ने आश थियो । रमाइलो भयो पनि । तर, जति दुःख पाइयो, त्यसका आधारमा कम्तिमा जनैपूर्णिमा वा मेलाका बेला गोसाइँकुण्ड नजाने सुझाव दिन्छु ।

जाने नै हो भने, टेन्टको व्यवस्था गर्नुहोला । टेन्ट नभए कम्तिमा स्लिपिङ ब्यागको राम्रो प्रबन्ध गर्नुहोला । मेलाको बेलामा पानी नचुहिने छत मात्र भेट्नु भाग्यको कुरा हो ।

र, एक थोपा पानी नचुहिने रेनकोटको अनिवार्य छ है । पानी नपस्ने ट्रेकिङ बुट लगाउनुको विकल्प छैन । एउटा डीएसएलआर बोक्नु परै टुरका लागि मेरा लागि घाँडो भयो । सकेसम्म राम्रो क्यामेरा भएको फोन वा ग्रो प्रो बोक्नुहोला ।

धुन्चेसम्मको गाडी यात्रामात्र राम्रो रह्यो ।

अब, बाँकी तस्बिरमाः

 

बाटोमा यस्तो देखिन्छ मैलुङ झरना,

धुन्चे पुग्नै लाग्दा देब्रेपट्टि यस्तो झरना पनि भेटिन्छ, जसलाई हामीले ठाउँको नाम अनुसार ‘बोकेझुण्डा झरना’ भन्यौं ।

धुन्चे पुग्नै लाग्दा नेपाली सेनाको चेकिङ । जहाँ प्रतिव्यक्ति १ सय रूपैयाँको टिकट काट्नुपर्छ । किनकी, गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ ।

धुन्चेमा पानी छेक्ने प्लास्टिक किन्यौं । आवश्यक खानेकुरा पनि भए नभएको पक्का गर्‍यौं ।

धुन्चेबाट ट्रेकिङ यात्रा सुरू हुँदै गर्दा रूटको म्याप ।

रसुवाको सदरमुकाम धुन्चे कट्नेवित्तीकै देखिएका मनमोहक दृष्य जसले यात्रामा थप प्रकृतिको बेजोड सुन्दरता हेर्न पाइने संकेत गर्दथ्यो ।

गोसाइँकुण्डबाट बगेर आएको त्रिशुली नदी यस्तो देखियो ।

देउरालीमा बास पाइएला भन्ने आशले तीब्र गतिमा अघि बढेको भएपनि त्यहाँ बास पाइएन । झमक्कै रात पर्दै गर्दा उकालो (डिम्सातर्फ) उक्लियौं । अन्धकार रातमा केही देखिएन । एकसुरले वर्षिएको पानीले पुरै शरिर निथ्रुक्क भयो । झोलाको आधासरो कपडा भिजेका थिए ।

जोगाउनुपर्ने केही सामान मुस्किलले जोगायौं ।

डिम्सामा पनि सबै होटल प्याक थिए । पालमुनिको बास भयो । खाना खाँदा जुका थालैछेउबाट पास हुन्थे । पाल (होटल) वालाले तरकारीको सट्टा नुनको व्यवस्था गरे ।

स्लिपिङ ब्यागमा सुतेर रात कट्यो ।

यस्तो थियो डिम्साको खाना ।

भोलिपल्ट उकालोको सहयात्री बने गाडीमा सँगै परेका मिलन तिम्सिना र कल्पना चापागाईं । उहाँहरूसँग पकाउने सामान थियो । चाउचाउ खाँदै उकालो लाग्यौं ।

जतिजति उकालो लाग्थ्यौं, रूख हराउँदै जान थाले, स-साना बुट्यानमात्र देखिन थाले । हल्का खुलेको मौसममा बादल खेलेको हेर्न मज्जा आइरहेको थियो ।

रंगीविरंगी फूल देखिन थाले ।

बटुवालाई पोज दिन लगाइयो ।

अघिल्लो दिनभन्दा यात्रा रमाइलो थियो । खुट्टा हिलोमा मात्र टेकिन्थ्यो । तैपनि गफैगफमा उकालो लाग्यौं ।

साथमा जेजति थिए, टोक्दै मास्तिर लाग्यौं । ओत लाग्ने ठाउँ भेटे चिया पकाएर खान्थ्यौं ।

बाटोमा दाजु प्रभाकर प्याकुरेलको टोली भेट्यौं । ढुक्क भयो । बुद्ध मन्दिरको बास उहाँहरूको साथमा बितायौं ।

लेकतिर पुगेपछि चिसोले टाउको दुख्यो । कोल्टे सुतेरै रात बित्यो । यहाँ पनि स्लिपिङ ब्यागको राम्रो उपयोग भयो । उज्यालो नहुँदै टेन्टभित्र पानी पसेछ । निन्द्रा छ्यांगै भयो ।

उज्यालो लागेपछि उकालो लाग्यौं । बादलले प्रकृतिसँग लुकामारी खेल्दै थियो ।

छहरा, कुण्ड, फूल, चट्टान बेलाबेलामा देखिन्थे । बेलाबेला छोपिन्थे ।

कुण्ड पुगेर फर्किएका तीर्थयात्रु बाटोमा भेटिन्थे । सबैले बाटो ‘आधा घन्टा’ को मात्र बाटो छ भन्थे ।

जब त्यहाँ पुग्यौं, अलग दुनियाँको महसुस गर्‍यौं ।

त्यहाँ पुगेपछि साँच्चै तीर्थयात्री बनेछु । चिसो पानीमा छप्लंग हाम्फालें । पुजा अर्चना गरें । जनै फेरें ।

सँगै गएका ज्वाइँ र भेटिएका मित्रद्वयलाई पनि पवित्र कार्यमा सहभागी गराएँ । तस्बिरहरू खिचें ।

नुहाएपछि चिया पनि बनाएर खायौं । र, साँच्चै महसुस गरियो कि, कल्पना गरिएको स्वर्गको अनुभुति गरियो ।

त्यहाँ पुगेपछि रियलाइज भयो, देउता किन अप्ठ्यारो ठाउँमा बस्छन् ! जवाफः थकानपछि आनन्द जो मिल्दो रहेछ ।

उहाँहरू मेरो यात्राको सहयात्री ।

कालो ज्याकेट लगाउँने ज्वाइँ । दुईजना मिलन र कल्पना ।

No description available.

र, यो व्यक्ति हो, म ।

 

प्रतिक्रिया दिनुहोस्