Shikhar Insurance

पर्यटन व्यवसायीको गुनासोः सरकारले केही गरे पनि समस्या बुझेन

सिंहदरबार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार २१:१७
NIMB
Nabil Bank

पोखरा । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताएका छन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को २७औँ वार्षिक साधारणसभामा उनले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । उनले भने, “यतिबेला निकै कठिन अवस्थामा पर्यटन क्षेत्र छ, तर सरकारले मौद्रिक नीति र पुनरुत्थानका कार्यक्रम कार्यान्वयनमा ल्याएर राहत दिन सकेको छैन, कार्यक्रम ल्यायो भनेर हामीले  स्वागत गर्न हतार गरेजस्तो भयो, नतिजा देखिएन ।”

महामारीको यो समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले हर्जाना, जरिवानासहित व्यवसायीलाई ताकेता गरेर मानसिक दबाब दिएको बताउँदै उनले निजी क्षेत्रको भूमिकालाई मूल्याङ्कन गरेर पर्यटनमैत्री नीति ल्याउन सरकारसँग आग्रह गरे । अध्यक्ष उनले भने, “आजसम्म पनि सरकारको पर्यटनसम्बन्धी स्पष्ट नीति र योजना छैनन्, केवल व्यक्तिका सम्बन्ध र विचारबाट पर्यटन क्षेत्र चलेको छ ।”  अध्यक्ष भट्टराईले पोष्ट कोभिडको अवस्थामा पर्यटन क्षेत्रलाई उठाउन सबैको साझा सोच र दृष्टिकोणको खाँचो रहेको बताए । उनले लामो समयदेखि अन्योलमा रहेको पोखराका रत्नमन्दिर र हिमागृह खुलाउन अब परिषद् निर्णायक रुपमा पहल गर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय रुपमा चिनाउन रेवानले गर्दै आएको स्ट्रिट फेष्टिभलको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विश्वमै कोरोनाका कारण पर्यटन क्षेत्रमा ८० देखि ८५ प्रतिशत गिरावट आएको उल्लेख गर्दै अब खोपको सहजतासँगै यस क्षेत्रले गति लिँदै जाने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले लेकसाइडको सौन्दर्यकरणका लागि वडाले विभिन्न कार्य गरिरहेको जनाउँदै पूर्वाधार विकासका काम भएपनि अझै पर्याप्त हुन नसकेको बताए ।

रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना कहरको बीचमा पाँच महिना मात्र आंशिक र आन्तरिक पर्यटकलाई सेवा दिएको पर्यटन क्षेत्र अहिले सङ्कटमा परेको उल्लेख गर्दै पर्यटन चलायमान बनाउन अब सरोकारवाला सबै पक्षबाट पहल गर्नुपर्नेमा जोड दिए ।

रेवानका उपाध्यक्ष नरेश भट्टराई र महासचिव विकास भट्टराईले पर्यटन क्षेत्रसँग आवद्ध सबैलाई खोपको सुनिश्चित गरेर यस क्षेत्रलाई लयमा फर्काउनुपर्नेमा जोड दिए ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्