Shikhar Insurance

महामारीबीच खुसीको खबर : नेपालमा पर्यटकको औसत बसाई ३ दिन बढ्यो, कति खर्च गर्छन् ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार ११:१४
NIMB
Nabil Bank

काठमाडौं । कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन  नाघेको छ ।

अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाई थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पर्यटकको बसाई लम्बिएसँगै उनीहरुले गर्ने खर्च पनि बढेको छ । प्रतिपर्यटक खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको छ । अघिल्ला वर्षमा सरदर प्रति पर्यटक ४५ डलरसम्म खर्च हुने गरेको थियो ।

कोभिड महामारीका कारण सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । सन् २०२० को पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र रहेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ ।

महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७१ प्रतिशतले कमी आई करिब २५ अर्ब आर्जन भएको छ । सन् २०२० मा १५३ टिमका ४४७ जनाले पर्वतारोहणका लागि अनुमति लिएका थिए जुन गत सालको तुलनमा ९२ प्रतिशतले कम हो ।

नेपालमा सन् २०२० सम्ममा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४० पुगेको छ । अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको सङ्ख्या तीन रहेको छ भने नेपाल उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या २७ वटा पुगेको छ । मुलुकमा हाल एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल छ ।

सन् २०२० सम्ममा आन्तरिक उडान तर्फ कूल ५४ विमानस्थल छन् । तीमध्ये ३७ विमानस्थल कालोपत्रे गरिएको छ भने सबै मौसममा नियमित उडान हुनसक्ने विमानस्थलको सङ्ख्या ३५ रहेको छ । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । साहसिक र मनोरञ्जनात्मक उडान गर्ने कम्पनीहरुको संख्या ८० रहेको छ ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्