Shikhar Insurance

युवालाई उद्यमशील बनाउने काममा राष्ट्रिय वाणिज्य बैंकले सघाउने, तेस्रो बैंक बन्यो आरबीबी

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३०, बुधबार ११:२७
NIMB
Nabil Bank

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले युवालाई उद्यमशील बनाउने भएको छ । स्थानीय तहमा नै रोजगारका सम्भावना रहेकाले परिषद्ले युवा उद्यम प्रवद्र्धन कार्यक्रममार्फत युवालाई उद्यमशीलतर्फ डोर्‍याउन स्थानीय तह र बैंकबीच सहमति गर्न थालेको हो ।

चालु आर्थिक वर्षदेखि परिषद्, स्थानीय तह र बैंकबीच त्रिपक्षीय सहमति गरी स्थानीय युवालाई उद्यमशील बनाउन युवा उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

Citizen Life
Kumar Bank

कार्यक्रमअन्तर्गत परिषद्ले स्थानीय तह र बैंकबीच स्थानीय युवाको क्षमताअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि सहजीकरण गर्नेछ । उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गरी बाध्यताबस हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

परिषद्ले स्थानीय तहले छनोट गरेका युवालाई उद्यमशीलतासम्बन्धी तालिम दिने छन् । तालिम दिनका लागि परिषद्सँग अहिले ७० जना प्रशिक्षक र मनोचिकित्सकको टोली रहेको छ । छनोटमा पहिले ती युवाको उद्यमशीलता र क्षमताबारे बुझ्नका मनोचिकित्सकबाट मनोवैज्ञानिकले परीक्षा लिनेछन् । त्यसपछि मात्रा ती युवालाई उद्यमशीलताको तालिम दिइन्छ ।

अहिले परिषद्ले युवा उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउनका लागि तीन स्थानीय तह र बैंकबीच सहमति गरिसकेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका युवालाई स्वरोजगारसँग जोड्नका सहुलियपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा आजै नै परिषद्, चैनपुर नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच त्रिपक्षीय सहमति भएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेल, नगरपालिकाका प्रमुख भरतकुमार खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणबहादुर श्रेष्ठबीच त्यस क्षेत्रका युवालाई सहुलियपूर्ण कर्जा उपलब्ध गराई उद्यमशील बनाउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार पहिलो पक्ष परिषद्ले उक्त नगरपालिकाका युवालाई उद्यमशीलता विकास तथा वित्तीय साक्षरता र मनोवैज्ञानिक परीक्षण गर्नेछ ।

नगरपालिकाले छनोट गरिएका युवालाई उद्यमशीलतर्फ आकर्षण गराउन परामर्श विज्ञ तथा तालिम सञ्चालनका लागि आवश्यक पर्ने प्रशिक्षकको तयारी तथा परिचालनमा संयोजन परिषद्ले गर्नेछ । परिषद्ले दिने यस्ता तालिममा युवाले उद्यमशीलता सम्बन्धी परियोजना लेख्न पनि सिकाउने छ । सोही परियोजनाका आधारमा युवाले बैंकबाट सहुलियत दरमा कर्जा पाउने छन् । परिषद्ले तालिम दिएका युवालाई उद्यमशील गर्न सक्षम भएपछि मात्र बैंकले ती युवाको क्षमताअनुसार पाँच लाखदेखि पाँच करोडसम्म कर्जा प्रवाह गर्नेछ ।

नगरपालिकाले उद्यमशील गर्ने इच्छा भएका युवाको विवरण परिषद्लाई उपलब्ध गराउने सहमतिपत्रमा उल्लेख छ । उपलब्ध भएको ती विवरणअनुसार एक दिनको परामर्श र एक हप्ताको तालिम युवालाई परिषद्ले सञ्चालन गर्नेछ । तालिम प्राप्त त्यस्ता युवालाई उच्च प्राथिमकतामा राखी परियोजना प्रस्तावका आधारमा बैंकले १५ लाख रुपैयाँसम्म विनाधितो र सोभन्दा माथिको ऋण प्रवाह गर्नुपरेमा उद्यमी र बैंकको समझदारीमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले स्थानीय सरकारसँग मिलेर युवा स्वरोजगार गराउनसके युवा बेरोजगार भएर बस्न नपर्नुपर्ने बताए । उनले युवालाई गाउँमा स्वरोजगार दिनका लागि स्थानीय तहसँग समन्वय गरिएको बताए । “युवाको क्षमताअनुसार उद्यमशील बनाउनका लागि हामीले तालिम दिन्छौँ,” उनले भने, “तालिमबाट युवाले के गर्ने, कसरी गर्ने, कुन व्यवसायबाट फाइदा हुन्छ भन्नेमा आत्मविश्वास हुन्छ । अनि आफैँ परियोजना बनाएर बैंकबाट कर्जा लिन्छन् ।”

उनले स्थानीय तहले पनि बैंकलाई पैसा डुब्दैन भनेर सुनिश्चिता गराउनुपर्ने बताए । नगरपालिकाका प्रमुख खत्रीले सहमतिअनुसार नगरपालिकाभित्रका ११० युवालाई उद्यमशीलता बनाउने बताए । उनले आफूले १० वर्षभित्रमा अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत युवालाई स्वरोजगारमुखी बनाइने बताए । उनले सहमतिअनुसार नगरका युवालाई माछा, बाख्रा, कृषि उत्पादनजस्ता कार्यमा लगाउनेसमेत जानकारी दिए । उनका अनुसार नगरपालिकाले अहिले पनि ५० लाखको गाई वितरण गरिसकेको र यसै आर्थिक वर्षमा ५० लाख बराबरको भैँसी वितरण गर्ने योजना रहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफूहरुले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिए । “बैंकको पैसा उत्पादनमुखी काममा लगानी गर्दछौँ,” उनले भने, “कृषिमा लगानी बढे उत्पादन बढ्छ । उत्पादन बढे खपत र बाहिरबाट खाद्यान्न आउँदैन ।”

उनका अनुसार बैंकले अहिलेसम्म दुई हजार ८०० जनालाई सहुलियपूर्ण कर्जा प्रवाह गरिसकेको छ । बैंकले यस आर्थिक वर्ष सुरुयता १७० जनालाई कर्जा प्रवाह गरिसकेको छ । अहिलेसम्म बैंकले सहुलियतपूर्ण कर्जा दुई अर्ब २४ करोड लगानी गरिसकेको छ । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउनका लागि विनाधितो पाँच लाखदेखि पाँच करोडसम्म बैंकले विभिन्न नौ प्रकारका व्यवसायमा सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् ।

बैंकको आधार दरमा २ प्रतिशत व्याज (ब्याज अनुदान ५ प्रतिशत पुरुष र महिलालाई छ प्रतिशत) मा पाँच वर्षसम्म सहुलियत दरमा कर्जा पाउनेछन् । एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने हुन्छ । परिषद्का उपाध्यक्ष ढुङ्गेलका अनुसार अहिलेसम्म तीन वटा नगरपालिका र बैंकबीच सहुलियतदरमा कर्जा प्रवाह गरी युवालाई उद्यमशील बनाउनका लागि सहमति गरिएको जानकारी दिए ।

यसअघि भक्तपुरका चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेड, पञ्चेश्वर गाउँपालिका बैतडी र नवील बैंकबीच सहमति भइसकेको छ । चाँगुनारायण नगरपालिकामा ३०० युवालाई तालिम दिएर कर्जा प्रवाहसमेत भइसकेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा २०० युवा छनोट गरेर तालिम सञ्चालनको तयारीमा परिषद् रहेको छ ।

परिषद्का सदस्य गोविन्द गिरीले सबै स्थानीय तहमा कार्यक्रम लागू गरेर युवालाई स्वरोजगार बनाइने बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्