Shikhar Insurance

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल : उडान रुटमै ल्यान्डफिल साइट परेपछि महानगरलाई जग्गाको खोज्ने चटारो

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार २०:१७
NIMB
Nabil Bank

पोखरा । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार विमानस्थलबाट करिब १० किलोमिटर नजिक ल्याण्डफिल राख्न पाईंदैन। तर, पोखरामा निर्माणाधीन विमानस्थलको उडान रुटमा ल्याण्डफिल साइट छ।

अन्तर्राष्ट्रिय उडानको लागि त्यहाँबाट ल्याण्डफिल हटाउनुपर्ने पहिलो सर्त छ। विमानस्थल निर्माण अन्तिम चरणमा छ। तर, ल्याण्डफिललाई स्थानान्तरण गर्न पोखरा महानगपालिकाले चासो दिएको छैन । चार पटकसम्म विमानस्थल आयोजनाले ल्याण्डफिल हटाइदिन महानगरलाई पत्र पठाएपनि चासो नदिएपछि विमानस्थललाई टाउको दुखाइ बनेको छ। निरन्तर काम भइरहे अन्तर्राष्ट्रिय उडानको मिति नजिकै आइसक्यो।

Citizen Life
Kumar Bank
Nepal Life

फोहोरमाथी चराचुरुङ्गी उड्ने र जहाजसँग ठोक्किने सम्भावना भएकोले विमानस्थल नजिक र विमान उड्ने रुटमा ल्याण्डफिल राख्न नमिल्ने अन्तर्राष्ट्रिय मापदण्ड हो।

२०६१ सालमा १५ वर्षको आयू तोकेर ल्याण्डफिल बनाइएको हो। डिजाइनको हिसावले अब त्यहाँ फोहोर फाल्न पाइँदैन । विमानस्थलका कारण मात्र होइन, प्राविधिक हिसावले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । आयोजनाले गएको डिसेम्बर महिनासम्म ल्याण्डफिल सार्न भदौ २०७६ मा परिपत्र गरेको थियो । त्यसपछि पनि पटक–पटक औपचारिक र अनौपचारिक आग्रह गरिरहेको छ।

‘धेरै पटक भनिसक्यौं । अब त टड्कारो समस्या भइसकेको छ। ल्याण्डफिल नहटाउँदासम्म विमान उड्नै सक्दैन,’ आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘महानगरले हाम्रो आग्रह सुनेन। एयरपोर्ट मात्र बनेर हुँदैन। सहायक व्यवस्थापन अनिवार्य छ।’

परिपत्रपछि पोखरा महानगरले जग्गा खोजबिनका लागि समिति नै गठन गरेको थियो। समितिले लामो अध्ययनपछि बल्ल सम्भावित जग्गाहरूको सूचीसहितको प्रतिवेदन दिएको छ।

बुधबार उपमेयर मन्जुदेवी गुरुङलाई समितिका संयोजक जीवन आचार्यले प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनले चार ठाउँमा जग्गाको पहिचान गरेको छ ।

पोखरा–३३ भरतपोखरीको दुई ठाउँ, वडा नम्बर १३ र १६ का जग्गाहरू उपयुक्त हुने आचार्यले बताए। ‘प्राथमिकता छुट्याएका छौं। अहिले हेर्दा सबैभन्दा उपयुक्त १६ नम्बरको जग्गा छ। चाहिएजति जग्गा चलाउन सकिन्छ,’ उनले भने, ‘१३ नम्बरको पनि राम्रै छ। अब कार्यपालिकाले निर्णय गर्छ ।’ आउँदो कार्यपालिका बैठकले जग्गाको टुंगो लगाउने उनको भनाइ छ।

अहिले हेरिएको पुँडीटार क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने प्रस्ताव छ । त्यसैले १६ नम्बरमा जोड गरिएको उनले बताए।

‘सार्वजनिक एक सय रोपनी जति छ। व्यक्तिको जग्गा किन्न सकिन्छ । लालपूर्जा भएको दुई सय ३१ रोपनी छ,’ उनी भन्छन्, ‘रोड एक्सेसको समस्या रहँदैन। अलिकति २० नम्बर वडाको स्वीकृति खोज्नुपर्छ । त्यो महानगरले मिलाउँछ।’

उनका अनुसार ल्याण्डफिल व्यवस्थापन गर्न कम्तिमा डेढदेखि दुई सय रोपनी जग्गा चाहिन्छ। ‘प्राविधिकको सुझाव चाहिन्छ । उनीहरूले हेर्नुपर्छ,’ आचार्य भन्छन्, ‘अन्यत्रको अभ्यास पनि हेर्नुपर्‍यो । तर, विमानस्थलबाट १३ किलोमिटर आकाशको दूरी भने पोखरामा सम्भव छैन।’

आयोजनाले १३ किलोमिटर पर ल्याण्डफिल सार्न सिफारिस गरेको थियो। अर्का सदस्य मोहन बास्तोलाले १६ नम्बरको जग्गा नै उपयुक्त भएको बताए। वातावरणीय प्रभाव मुल्यांकन र अन्य सम्भावित जोखिम आँकलन भएको छैन । नयाँ ल्याण्डफिल बनाउँदा कम्तिमा एक अर्ब खर्च लाग्ने अनुमान छ । यो रकमसमेत प्राधिकरण र सरकारसँग माग गरिएको छ । तर, बजेट प्राप्त भइसकेको छैन। बसाइसराइ र बढ्दो सहरीकरणका कारण पोखरामा फोहोर उत्सर्जन झनै बढेको छ।

चार वर्षअघि गरिएको एक सर्भेक्षणले दैनिक डेढसय टन फोहोर उत्पादन हुने देखाएको छ। वार्षिक हिसाव गर्दा महानगरबाट ३५ हजार टनभन्दा बढी फोहोर उत्पादन हुने आँकडा छ । त्योमध्ये ३२ प्रतिशतभन्दा बढी नकुहिने खालको छ भने अरु कुहिने फोहोर छन् । हालको ल्याण्डफिल दुई सय रोपनीमा फैलिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्