Shikhar Insurance

तात्यो सरकार : स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिबारे वाणिज्य विभागले अनुगमन गर्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिबारे अनुगमन गर्ने बताएको छ ।

प्याडमा अत्याधिक मूल्यवृद्धि भएको भन्दै चौतर्फी गुनासो आइरहेको बेला विभागले आइतबारदेखि अनुगमन सुरु गर्ने विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

Citizen Life
Kumar Bank

‘अर्थ मन्त्रालयले स्यानिटरी प्याडमा भन्सार शुल्क तथा कर नबढाउँदा पनि प्याडमा महँगो भएको भनि विरोध हुन थाल्यो,’ पौडेलले भने, ‘व्यापारीहरुले बिनाकारण मूल्य वृद्धि गरेको हो वा होइन भनेर हामी आइतबारदेखि बजार अनुगमन थाल्छौं ।’

अहिले सामाजिक सञ्जालमा #makesanitarypadfree, #taxfreesanitarypad लगायतको ह्यास्ट्याग प्रयोग गर्दै प्याडलाई नि:शुल्क बनाउनु पर्ने माग उठिरहेको छ ।

प्याडको मूल्य ५ देखि १० प्रतिशतसम्म बढेको भन्दै अहिले महिला हकहितका लागि काम गर्ने विभिन्न संघसंस्थाले विरोधका कार्यक्रमहरु गरेर मूल्य घटाउनुपर्ने माग गरिरहेका छन् । प्याड अत्यावश्यक वस्तु भएकाले विलासिताको वस्तुमा जसरी कर लगाउन नहुने उनीहरुको माग छ ।

अर्थ मन्त्रालयले भने प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर नै कायम रहेको जनाएको छ । शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले स्यानेटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनेर सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल नै कायम छ । स्वदेशमा स्यानेटरी प्याड बनाउने कच्चा पदार्थमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्क पाँच प्रतिशतमा झारेर स्वदेशमा नै प्याड उत्पादनलाई प्रोत्साहन हुने हाम्रो अपेक्षा छ ।’

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब पाँच करोड मूल्यको प्याड आयात भएको थियो । ०७७/७८ मा तीन करोड ३१ लाख १९ हजार ५९८ थान प्याड, टेम्पोन, मिन्सुरल कपजस्ता सामाग्री नेपाल भित्रिँदा २०७६/७७ मा २१ करोड ५१ लाख १० हजार ७१ थान प्याड भित्रिएको छ ।

नेपालमा प्रतिवर्ष करिब ६० अर्ब रुपैयाँ बराबरको स्यानिटरी प्याड खपत हुने गरेको छ । जसमा करिब ४० प्रतिशत मात्रै नेपालमा उत्पादन हुने र बाँकी विभिन्न देशबाट तयारी आयात हुने गरेको छ ।

राष्ट्रिय जनगणना २०६८/६९ को तथ्याङक अनुसार महिनावारी उमेर समूहका ७८ लाख २७ हजार ७२० जनसंख्याको करिब १५ प्रतिशतले स्यानिटरी प्याडको प्रयोग गर्ने गरेको तथ्यांक छ । अहिले यो संख्या बढ्दो क्रममा छ । एक अध्ययनअनुसार एक महिलालाई एक महिनामा सरदर १६ वटासम्म स्यानिटरी प्याड आवश्यक पदर्छ ।

सन् २०१९ मा एशियाका विभिन्न १८ देशमा बीबीसीले गरेको एक अध्य्यनमा महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाली महिलाहरूले आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेको उक्त तथ्यांकले देखाएको छ । यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकम जति नै हुन आउँछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्