Shikhar Insurance

इलाममा पसलेहरूको बदमासी, म्याद गुज्रिएका खाद्य सामग्री बेच्दै

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार ०८:३०
NIMB
Nabil Bank

इलाम । कोरोना माहामारीको प्रभाव क्रमश: कम हुँदै गएको र चाडबाड नजिकिएसँगै बजारमा उपभोक्ताको भीड बढ्न थालेको छ । चाडबाडका लागि खाद्यान्न र लत्ता कपडाको खरिदका लागि बजारमा उपभोक्ताको भीड बढ्न थालेको हो । तर, बजारमा भने म्याद गुज्रिएका खाद्य सामग्री छ्यापछ्याप्ती भेटिन थालेका छन् ।

चाडपर्व नजिकिएपछि इलाम बजारको अनुगमनमा निस्किएको टोली नारायणस्थान लाइनमा रहेको सिद्धि सप्लायर्समा पुग्यो । सप्लायर्समा म्याद गुज्रिएको लामो समय भइसकेको चकलेट, मसला, जिराको धुलोलगायतका खाद्य सामग्री फेला पार्‍यो । सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन निरीक्षक झरेन्द्र चापागाईं नेतृत्वको संयुक्त अनुगमन टोलीले पसलमा भेटिएको म्याद गुज्रिएको खाद्य सामग्री जफत गर्‍यो । पसलबाट १४ हजार रुपैयाँभन्दा बढीको म्याद गुज्रिएको खाद्य सामग्री जफत भएको जनाइएको छ ।

Citizen Life
Kumar Bank

अनुगमन टोलीले चोक बजार क्षेत्रमा रहेको ताम्राकार भेराइटिजबाट पनि म्याद गुज्रिएका सामाग्री जफत गरेको छ । ताम्राकार भेराइटिजबाट फ्रुटी, च्युरा, पिठो, लिची जुस, स्प्राइट, फेन्टालगायतका सामग्री जफत गरेको हो ।

अनुगमनको क्रममा दुई वर्ष पहिले म्याद सकिएका खाद्य सामग्रीसमेत भेटिएको घरेलु तथा साना उद्योग कार्यालय इलामका निमित्त प्रमुख पदम कट्टेलले बताए । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामग्री नष्ट गरिएको छ ।

उपभोक्ता भने चाडबाडको आसपासमा कर्मकाण्डी रूपमा मात्र बजार अनुगमन हुने गरेको बताउँछन् । नियमित बजार अनुगमन नहुँदा बजारमा बेथिति बढेको छ । ‘अब नियमित रूपमा बजार अनुगमन हुन्छ’, सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले भने, ‘सदरमुकाममा मात्र होइन, बाहिरी बजारहरू पनि अनुगमन गर्छौं ।’

अनुगमनको क्रममा भ्याट बिल जारी नगर्ने, बिल जारी नगर्ने, करपाटी नराख्ने व्यवसायीलाई भने जरिमानासमेत गराइएको छ । मदिराको समेत व्यवसाय गर्ने युनिक ट्रेड सप्लायर्स र सिद्धि सप्लायर्सलाई १०/१० हजार रुपैयाँ जरिमाना गराइएको छ । पान बिलसमेत जारी नगर्ने ताम्राकार भेराइटिजलाई पाँच हजार, इन्द्रलक्ष्मी ट्रेड कन्सर्नलाई तीन हजार रुपैयाँ जरिमाना गरिएको करदाता सेवा कार्यालयका कर अधिकृत प्रकाश राईले जानकारी दिए ।

त्यस्तै, इलाम पोलिक्लिनिकको बिल जफत गरिएको छ र पोलिक्लिनिकलाई करदाता सेवा कार्यायलयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्