Shikhar Insurance

कात्तिकदेखि ब्याजदर थप बढ्दै, राष्ट्र बैंक भन्छ–‘अब संयमित नभए समस्या हुन्छ’

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । बैंकको ब्याजदर थप बढ्ने प्रष्ट भएको छ । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव चर्किएसँगै ब्याजदर थप बढ्ने भएको हो ।

व्यवसाय विस्तारमै समस्या भएपछि गत भदौ मसान्तमै बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए । शोधनान्तर स्थिति घाटामा गएसँगै बैंकहरुमा तरलता अभाव चर्किएर ब्याजदर अझै बढ्ने नियामक तथा स्वयं बैंकर स्वीकार गर्छन् ।
गत साउनमा देशको शोधनान्तर स्थिति ३५ अर्ब ७५ करोड रुपैयाँले घाटामा थियो भने कुल विदेशी विनिमय सञ्चिति समेत एक महिनामै ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Citizen Life
Kumar Bank

गत २०७८ असारमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउन मसान्तमा घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ ।

आयातको उच्च वृद्धिले गर्दा भदौ महिनामा समेत शोधनान्तर स्थिति नकारात्मक देखिएपछि बैंकहरुमा तरलता समस्या कायमै छ । जसका कारणले ब्याजदरमा चाप पर्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘अब बैंकहरु थप संमयित हुन पर्ने बेला भएको छ, रेमिट्यान्स आप्रवाह र सरकारी खर्च समेत संतोषजनक छैन भने आयातको उच्च वृद्धिले गर्दा भदौमा समेत शोधानन्तर स्थीति घाटामा हुने देखिन्छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘बाह्य निक्षेप समेत बैकिङ प्रणालीमा उत्साहजनक रुपमा वृद्धि हुन सकेको छैन त्यसैले कर्जा प्रवाहमा संमयता अपनाउनु पर्ने र सम्बन्धीत बैंकले सम्पती तथा दायित्व व्यवस्थापनमा विषेश ध्यान दिँदै सजक रहनु पर्ने देखिन्छ ।’

हिजोको दिनमा बैंकहरुले सम्पती तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा अहिले ब्याजदरमा चाप परेको उनको भनाइ छ ।

‘ब्याजदरमा चाप अहिलेदेखि नै परेको छ, समग्र बैंकिङ प्रणालीमा जसरी निक्षेप बढ्नु पर्ने हो, उनले थपे, ‘त्यो नबढ्दा भोलीको दिन सकेत ब्याजदरमा चाप पर्दा कर्जा र निक्षेप दुबैको ब्याजदर बढ्न सक्ने देखिन्छ ।’
कात्तिकदेखि प्रत्येक बैंकहरुको ब्याजदर बढ्ने संकेत अहिले नै छ, यसरी बैंकहरुको ब्याजदर बढ्दा इन्डस्ट्रि रेट नै केही बढ्ने उनको भनाइ छ ।

बैंक तथा वित्त कम्पनीले असोज १६ गतेसम्म ४७ खर्ब ५८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब २६ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा निक्षेपतर्फ वाणिज्य बैंकहरुले ४२ खर्ब ११ अर्ब ८ करोड, विकास बैंकहरुले ४ खर्ब ५८ अर्ब ३३ करोड र वित्त कम्पनीहरुले ८९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

साथै कर्जातर्फ भने, असोज १६ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ३९ अर्ब ५० करोड, विकास बैंकहरुले ४ खर्ब १३ अर्ब ५२ करोड र वित्त कम्पनीहरुले ७३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

बैंक तथा वित्त कम्पनीले आवश्यकअनुसार स्रोत संकलन गर्न नसकेपछि मौद्रिक उपकरणमार्फत् राष्ट्र बैंकले असोज १३ गते ७ दिनको लागि १३ अर्ब रुपैयाँ रिपो जारी गरेको थियो । जसमा ६१ अर्ब रुपैयाँको माग आएको थियो । राष्ट्र बैंकले अहिलेसम्मकै सबैभन्दा बढी ब्याजदर अर्थात ४.९५ प्रतिशतमा सो रिपो बजार पठाएको हो ।

राष्ट्र बैंकले यसरी मौद्रिक उपकरणमार्फत् बजारमा तरतला प्रवाह गर्दा समेत प्रणालीमा हाल १४ अर्ब ९५ करोड रुपैयाँमात्र तरलता मौज्दात छ । भने, बैंकहरुले गर्ने आपसी सापटी कारोबार अन्तर बैंक ब्याजदर समेत ४.९५ प्रतिशत पुगेको छ ।

बैंकहरुको कर्जा–निक्षेप अनुपात(सीडी) समेत असोज १२ गतेसम्म १७ वटा वाणिज्य बैंकको ९० प्रतिशत माथि छ । बैंकहरुले अपेक्षित स्रोत संकलन गर्न नसक्दा निक्षेपको रेट बढाउनु पर्ने बाध्यतामा बैंकहरु रहेको बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए ।

‘यसअघिसम्म बैंकहरुले सरकारी कोषमा पैसा अड्केको थियो, र चाडवार्डको समयमा रेमिट्यान्स पनि राम्रो आउँछ र रिफाइनान्स आएपछि सहज हुन्छ भनेर बढेको ब्याजदर कात्तिकदेखि घट्ने संकेत देखेका थियौ,’ संघका अध्यक्ष दाहालले सिंहदरबारसँग भने, ‘तर अहिले भने ब्याजदर घट्नेमा अन्योल मै छौँ, रेमिट्यान्स आएको पैसा अहिले बैंकहरुले राष्ट्र बैंकलाई बिक्री गर्न सकेको छैन, उल्टै खरिद गर्नु परेको छ ।’

अहिले देशको शोधनान्तर स्थिति नै घाटामा छ । देशको पैसा नै बाहिर गएपछि बैंकिङ प्रणालीमा सरकारी कोषबाट पैसा आउने आशा नै नरहेको हुँदा निक्षेपको ब्याजदर बढाएर स्रोत संकलन बैंकहरुले गर्नु पर्ने उनले बताए ।
बैंकिङ प्रणालीको पैसा सरकारी खातामा गएपछि सरकारले ढिलो चाँडो बजारमै पठाउनु पर्ने हुन्छ । तर, शोधनान्तर बचत नै घाटामा हुँदा सरकारको ढुकुटीबाट देशको पैसा बाहिरिएर बैंकहरुले स्रोत व्यवस्थापनको विकल्पमा निक्षेपकर्तालाई रेट बढाएर आकर्षित गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

साउन महिनामै शोधान्तर स्थिति नकारात्मक थियो । राष्ट्र बैंकले भदौ महिनामा पनि घाटामै होला भन्ने प्रक्षेपण गरेको हुँदा ब्याजदर बढाएर बैंकहरुले स्रोत व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्