Shikhar Insurance

दसैं लाग्योः पानीपुरी र चटपटेको छैन व्यापार

भूमिका तिमल्सिना
२०७८ आश्विन २२, शुक्रबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । दसैं नजिँकिँदै गर्दा बजारमा भिडभाड बढेको छ । तर, पानीपुरी र चटपटेको व्यापार भने घटेको छ । उपत्यकामा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार महिलाको राम्रो आम्दानीको श्रोत बनेको छ । केही समय पहिले पुरुषले मात्रै गर्दै आएको यो व्यापार पछिल्लो समय महिलाले पनि अंगाल्न थालेका छन् । थोरै लगानीमा धेरै फाइदा हुने हुँदा पानीपुरी र चटपटेको व्यापार गर्नेमा महिलाको संख्या बढेको हो ।

तर, गतवर्ष र यसवर्ष भने कोरोना महामारीले पानीपुरी र चटपटेको व्यायारमा खासै सफल्ता हात पार्न नसकेको गुनासो चटपटे तथा पानीपुरी व्यापारीको छ । विद्यालय आसपास, घर–घरमा ठेला गुडाउँदै महिला चटपटे र पानीपुरी बेच्न व्यस्त हुन्छन् ।

Citizen Life
Kumar Bank

काभ्रेपलाञ्चोक स्थायी घर भई हाल काठमाडौंको बिजुलीबजार चोकमा चटपटे र पानीपुरी बेच्दै आएकी शुभद्रा तिवारीले आफ्नो घर खर्च यही व्यवसायबाट चलाउँदै आएकी छन् । उनले काम सुरु गरेको एक महिना मात्र भयो । पहिला उनको बुहारीले सोही व्यापार चलाउँदै आएकी थिइन् । उनी भन्छिन्, ‘बुहारीले कोरोना महामारीअघि एकदिनमै चार हजार रुपैयाँसम्मको व्यापार गरेकी थिइन् । तर, अहिले भने एकदिनमा बल्ल सात सय रुपैयाँ कमाइन्छ ।’ उनले आफ्नो एकजना छोराको पढाइ खर्चदेखि सम्पूर्ण घर खर्च चटपटे पानीपुरीबाट निकाल्छु भन्दा दसैंमा झनै व्यापार नै नभएको गुनासो गरिन् ।

‘गाउँ छोडेर काठमाडौं आइयो तर, रोजगार भने जस्तो पाइँदैन । ठूलो व्यवसाय गर्न धेरै लगानी चाहिन्छ । त्यसैले, पानीपुरी र चटपटे व्यापारमा लागेकी हुँ । यसमा कम लगानीबाट धेरै फाइदा हुन्छ,’ तिवारीले भनिन् ।

आम्दानीको श्रोत नभएरभन्दा उनी घरमा दिनभर त्यतिकै बस्नुभन्दा समय बिताउनका लागि पनि यो व्यापार आवश्यक रहेको उनी बताउँछिन् । उनले व्यापार कम नै भए पनि महिनामा १५/२० हजार रुपैयाँ भने कमाइ हुने बताइन् । उनले आफू यस कामबाट सन्तुष्ट भएको पनि बताइन् ।

उनले गाडा किन्न पनि छ हजार रुपैयाँ खर्च भएको बताउँदै खासै घाटा भने नलागेको उल्लेख गरिन् । उनले आफूले एकदिनमा तीन सय रुपैयाँ बराबरको खर्च गरेर दिनमा सात सय रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । उनले फेरी भनिन्, ‘कोरोनाले गर्दा र अहिले दसैं लागेकाले ग्राहकहरु गाउँ जान थालेका छन् । अब जाडोको समयमा राम्रो व्यापार हुने आशा छ ।’ गाउँ गएका सबै फर्किएपछि आफ्नो व्यापार वृद्धि हुने उनले आशा व्यक्त गरिन् ।

उनले बजारमा व्यापार गर्नभने सहज नभएको बताइन् । गाडा वरिपरि भएका सामानहरू चोरिदिने गर्दा असुरक्षित भएको सुनाउँछिन उनी । बिजुलीबजारको पुलको छेउमा फोहोर थुपार्ने ठाउँ भएकाले गन्ध धेरै आउने गरेको दुःखेसो पोखिन् । झनै सुक्खायाममा हावा चलेर धुलो उड्दा स्वास्थ्यमा समेत असर पर्ने उनी बताउँछिन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्