Shikhar Insurance

‘अरू बैंक संस्थागत निक्षेपको खोसातानीमा लागे, हामीले दिने ब्याजको लाभ सर्वसाधारणले मात्र पाउँछन्’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २, मंगलवार १८:०६
NIMB
Nabil Bank

काठमाडौं । कात्तिक महिनाका लागि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरले निक्षेप खोसातानीको खेलमा तीब्र प्रतिस्पर्धा देखाउँछ । बैंकहरुले २०७८ असार मसान्तसम्म कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) बढीमा ९० प्रतिशत कायम गरिसक्नुपर्ने भएकाले यतिबेला बैंकहरु निक्षेप आफूतिर ल्याएर कर्जा लगानी गरौं भन्ने सुरमा देखिन्छन् । फलस्वरुप अहिले ब्याजदर बढेको छ ।

बजारमा निक्षेपको हाहाकार जस्तो स्थिति सिर्जना भएपछि बैंकहरुले कात्तिकबाट ब्याजदर झनै बढाएका थिए । ३ महिनाको अन्तराल (असार मसान्तदेखि असोज २२ सम्म)मा निक्षेप ५४ अर्बले बढ्दा २ सय ६० अर्बले कर्जा बढ्यो । बैंकहरु एसएलएफ लिएर तरलता व्यवस्थापन गर्न लाग्दा कर्जाको वृद्धि उच्च भयो ।

Citizen Life
Kumar Bank
Nepal Life

अल्पकालीन स्रोत व्यवस्थापनले कर्जा धान्न नसक्ने प्रष्ट थियो । यसबीचमा नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइदियो ।

यी कारणले बैंकरहरुले निक्षेपको ब्याजदर आकाशिने अनुमान लगाए । र, संस्थागत निक्षेप आफूतर्फ आकर्षित गर्ने योजना बनाए । जसकारण हिमालयन बैंकले सबैभन्दा बढी ११.६७ प्रतिशत सम्म ब्याज दिनेगरी ब्याजदर प्रकाशित गर्‍यो ।

हिमालयन समेत केही बैंकले निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्‍याएका छन् । जसमध्ये एउटा हो, एनआईसी एशिया ।

अरु बैंकले संस्थागत निक्षेप लोभ्याउने सुर कस्दा एनआईसी एशियाले भने व्यक्तिगत निक्षेप र त्यसमा पनि बचतलाई आफूतर्फ आकर्षित गर्ने योजना बनाएको देखिन्छ । अर्बौं रुपैयाँको एउटै संस्थागत निक्षेप भन्दा बैंकले व्यक्ति व्यक्तिले बचत खातामा जम्मा गर्ने हजार/लाख रुपैयाँ लोभ्याउने सुर बैंकको हो ।

सोही योजना अनुसार एनआईसीले अरुभन्दा पृथक ब्याजदर सार्वजनिक गरेको छ । प्रतिस्पर्धी संस्थाले संस्थागत निक्षेप (बिडिङतर्फ) को ब्याजदरलाई लगातार दोस्रो महिना बढाएर १० प्रतिशत भन्दा माथि पुर्‍याउँदा एनआईसीले भने चलाखी शैलीमा ती संस्थाले सम्बोधन नगरेका सर्वसाधारणलाई लाभ दिने रणनीति अपनाएको हो ।

एनआईसीले कात्तिकमा खोलिने बचत खातामा ८.१ प्रतिशतसम्म ब्याज दिने घोषणा गर्‍यो जुन बैंकले यसअघि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट)मा दिएको ब्याजदर बराबर हो । एक महिनामा बैंकले व्यक्तिगत मुद्दती खातामा दिने अधिकतम ब्याज पनि ११ प्रतिशत बढी बनाएको हो । एनआईसी दोस्रो धेरै ब्याज दिने बैंक हो ।

सबैभन्दा ब्याज दिने हल्ला फिँजाएको हिमालयन बैंकले दिने १०.६७ प्रतिशत ब्याज संस्थागत निक्षेप (बिडिङ)तर्फ हो । एनआईसीले ११.१ प्रतिशत ब्याज व्यक्तिगत मुद्दती निक्षेपमै दिन्छ । अर्थात्, व्यक्तिगत निक्षेपमा एनआईसी एशियाले इन्डस्ट्रिकै सर्वाधिक ब्याज दिन्छ । यता तेस्रोमा रहेको लक्ष्मीले दिने ११.०५ प्रतिशत ब्याज संस्थागत र व्यक्तिगत निक्षेप दुवैतर्फ हो ।

यसअर्थमा एनआईसीले संस्थाभन्दा व्यक्ति रिझाउन ब्याजदर सार्वजनिक गरेको देखिन्छ । संस्थागत निक्षेपमा (बिडिङतर्फ) ८.६ प्रतिशतमात्र ब्याज दिने एनआईसीको घोषणा छ जुन अघिल्लो महिनाबराबर हो ।

“सबैले एनआईसी एशियाले सर्वाधिक ब्याज दिने बुझे तर हाम्रो घोषणा अरु बैंकभन्दा भिन्न थियो,” बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले सिंहदरबारसँग भने, “सबैले संस्थागत निक्षेप ताकिरहेका बेला हामी धेरै ब्याजको लाभ सर्वसाधारणले पाउन् भन्ने सोचिरहेका थियौं ।”

तीब्र प्रतिस्पर्धामा निक्षेप बैंकमै जोगाउन सक्ने स्थिति नआएपछि बैंकसँग संस्थागत निक्षेपको दर बढाउने कि व्यक्तिगतको भन्ने विकल्प रहेको उनी सुनाउँछन् । “व्यक्तिगत निक्षेपमा ११.१ प्रतिशतसम्म दिने घोषणा गर्‍यौं तर संस्थागत निक्षेप (बिडिङ) को दर हेरफेर गरेनौं,” न्यौपानेले भने ।

‘यसो किन ?’ भन्ने प्रश्नमा न्यौपाने जवाफ दिन्छन्, “संस्थागत निक्षेपकर्तालाई लाभ दिनुभन्दा धेरै ब्याजबाट सर्वसाधारण लाभान्वित हुन् भन्ने योजना हो । हाम्रो रणनीति स्टेबल तरिकारले बजार विस्तार गर्ने हो । त्यसैले बचतमा उच्च ब्याज राख्यौं ।”

संस्थागत निक्षेपमा बढी ब्याजदर हुँदा खोसाखोस बढी हुन्छ भने बढी संस्थागत निक्षेप हुनु राम्रो मानिँदैन ।

३ महिना वा १ वर्ष कुरेर ब्याज खाने मुद्दती निक्षेप (एफडी) मा पैसा राख्नुभन्दा दिनैपिच्छे चलाउन मिल्ने बचत खातामा पैसा राख्दा उचति हुने उनको तर्क छ । “घरमा भएको पैसा सेभिङमा राखे हुन्छ । उति नै ब्याज दिने एफडीमा राखे पैसा ब्लक हुन्छ,” न्यौपानेले थपे, “बचतमा राख्दा जहिले चाहे चलाउन पाइन्छ, ब्याज पनि मुद्दती निक्षेप बराबर पाइन्छ । अलि धेरै ब्याज चाहिए बैंकहरु मध्ये सबैभन्दा धेरै ब्याज पाइने हाम्रै बैंकमा मुद्दती निक्षेप राखे भयो ।”

संस्थागत निक्षेप उठाउने बिडिङमा जानुपर्ने, प्रतिस्पर्धा गर्नुपर्ने हुनाले सर्वसाधारणलाई नै लाभ दिँदा उचीत हुने योजनाको बैंकिङ अभ्यास आफूहरुले गरेको न्यौपानेको तर्क छ ।

“संस्थागत निक्षेप तर्फ अरु बैंकमा ब्याज धेरै नपाउने भएपछि हाम्रो बैंकबाट पैसा बाहिरिएला तर व्यक्तिगत निक्षेप हाम्रो बैंकमा पक्कै बढ्छ,” उनले थपे । बैंकमा रहेको ३ अर्ब ११ अर्ब भन्दा बढी निक्षेपमध्ये १ खर्ब रुपैयाँ संस्थागत निक्षेप हो ।

न्यौपानेका अनुसार सीडी रेसियो लक्षित सीमाभित्र राख्न एनआईसी एशियाले कृत्रिम निक्षेप भन्दै विदेशी मुद्राको निक्षेप बढी देखाएको आरोप लगाए पनि बैंकसँग १८ अर्ब हाराहारीमा मात्र विदेशी मुद्राको निक्षेप छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्