Shikhar Insurance

बौरिँदैछ कोरोनाले थलिएको ठमेल, कोरोना अघिको स्थितिमा फर्काउन के गर्ने ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार २१:१३
NIMB
Nabil Bank

काठमाडौँ । मुलुककै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको हो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बन्न पुग्यो । थोरै लगानी गरेर धेरै फाइदा लिन सकिने पर्यटन क्षेत्र सुस्ताउँदा देशको अर्थतन्त्रमा समेत ठूलो क्षति पुग्न गयो ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो ।

व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । सम्पदा गार्डेन होटलका सञ्चालक एवं पर्यटन व्यवसायी कुमार अधिकारी सरकारले अनअराइभल प्रवेशाज्ञालाई खुकुलो बनाएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । ठमेल गत वर्ष पनि झण्डै आठ महिना बन्द रहेको थियो ।

पर्यटन व्यवसायी सुदर्शन नेपाल पछिल्लो समयमा ठमेलमा पर्यटकीय गतिविधि बढेको बताउँछन् । अहिलको समय ट्रेकिङ जाने पर्यटकका लागि उत्कृष्ट सिजन भएकाले पनि ठमेलमा पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । ट्रेकिङका लागि उत्तम सिजनका रूपमा मार्च, अप्रिल, अक्टोबर र नोभेम्बरलाई लिने गरिन्छ ।

नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा)का पूर्वअध्यक्ष सिएन पाण्डे विदेशी पर्यटकलाई अनलाइनमार्फत प्रवेशाज्ञा दिएमात्र नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बताउँछन् । धेरै पर्यटक नेपाल घुम्न आउन चाहे पनि प्रक्रिया झन्झट भएका कारण आउन नसकेको उनको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि कम आए पनि आन्तरिक पर्यटक बढेको बताउँछन् ।

ठमेलको ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि पूर्णरूपमा हुनलाई केही समय लाग्ने बताउँछन् । नेपाल घुम्न आउने पर्यटकलाई व्यवस्था गरिएको क्वारेन्टिनको व्यवस्था हटाएमात्र पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ । विश्वले चिनेको ठमेलमा दिवा तथा रात्रिकालीन गतिविधि सञ्चालन गरेर राज्यले फाइदा लिनुपर्ने सुवेदी बताउँछन् ।

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई स्वास्थ्य मापदण्ड पालना गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने बताउँछन् । ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायीको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्