Shikhar Insurance

बैंकिङ क्षेत्रबाट आधाभन्दा बढी कर्जा बागमतीमा जाँदा कर्णाली ओझेलमा, लघुवित्त बढी सन्तुलित

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १७:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा बढी बागमती प्रदेशमा कर्जा प्रवाह गर्ने गरेको पाइएको छ । बैंकिङ क्षेत्रबाट प्रवाहित कुल कर्जाकोे आधाभन्दा बढी बागमती प्रदेशमा मात्र प्रवाह भएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘संघीय संरचना अन्तर्गत वित्तीय क्षेत्रको स्रोत परिचालन नेपाल’ नामक अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ५६.६ प्रतिशत बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा कर्जा प्रवाह गरेको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank

सो अवधिमा बैंक तथा वित्तीय संस्थाले संकलित निक्षेपको ६५.१ प्रतिशत हिस्सा बागमती प्रदेशकै रहेको रहँदा सबैभन्दा न्यून कर्णाली प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

साथै, बैंक तथा वित्तीय संस्थाको कुल शाखा कार्यालयमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा र सबैभन्दा बढी बागमती प्रदेशमै उपस्थित छन् । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल शाखाहरु मध्ये ३४ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा ककम ४ प्रतिशतमात्र उपस्थित छन् ।

वित्तीय पहँुच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा समेत वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने उद्देश्य राष्ट्र बैंकले लिएको छ । जसलाई पुरा गर्न नेपालको संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचानका लागि केन्द्रीय बैंकले सो अध्ययन गरेको जनाएको छ ।

सो अध्ययनले मूलतः प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहँुच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरेको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबंैकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यो अध्ययन मूलतः वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।

अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।

पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ ।

तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्