Shikhar Insurance

आजका मुलखबर: एमसीसीबारे प्रचण्डको जिब्रो फेरियो, अदालतमा लफडा पनि हेरियो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार २०:५०
NIMB
Nabil Bank

१. यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank

मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरूले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरूलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जबाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।

हालै मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यो विषय सार्वजनिक भएको थियो । यसलाई लिएर माओवादी केन्द्रका नेताहरूले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् । नारायणकाजी श्रेष्ठ प्रकाश, देव गुरुङ, लीलामणि पोखरेललगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नै राष्ट्रिय संवेदशनीलतासँग जोडिएकाले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गर्ने प्रस्ताव राखेका थिए, जसलाई स्थायी समितिले अनुमोदन गरेको छ ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसीसी अगाडि नबढ्ने बताएका छन् ।

२. राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, लगत्तै नयाँ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई मंगलबार पदमुक्त गरेकी हुन् ।

आजै राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

३. राष्ट्रिय सम्मेलन काठमाडौंमै गर्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको ११ देखि १३ पुससम्म हुने तय भएको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ भने प्रदेश पदाधिकारीहरूका सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरी टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

४. फेरि घट्न थाल्यो शेयर बजार, दुई दिनमा ९८.९९ अंकको ह्रास

लामो समयसम्म करेक्सनमा गएको शेयर बजार तिहारपछि फेरि घट्न थालेको छ । तीन हजार २०० को उच्चविन्दुमा पुगेर फर्किएको नेप्से छोटो समयमै दुई हजार ४०० अंकमा ओर्लिएपछि तिहारअघि केही दिन बढेर दुई हजार ८०० अंकसम्म पुगेको थियो । तर, तिहारपछि बजार खुलेसँगै नेप्से दोहोरो अंकले घट्न थालेको छ ।

पहिलो दिन नै १९ अंकले घटेको नेप्से दोस्रो दिन मंगलबार पनि ७९.७९ अंकले घटेर दुई हजार ७४९.८५ अंकमा पुगेको छ । यसरी समग्रमा नेप्से हिजो र आज गरी ९८.९९ अंकले घट्यो । त्यसो त राताम्मे बनेको नेप्सेमा सेन्सेटिभ परिसूचकले पनि साथ दिएको छ । सेन्सेटिभ परिसूचक १६.०२ अंकले घटेर ५१२.८२ अंक कायम भएको छ । सोमबारको तुलनामा मंगलबार नेप्से सूचक धेरै अंकले घटे पनि कारोबार भने बढेको छ ।

५. सर्वोच्चका न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणाले तोकेका इजलास बहिष्कार

सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेका सबै इजलास बहिष्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिट तोकेका थिए । उक्त इजलास पनि त्यही रिट हेर्न मात्र बसेको छ । अरू मुद्दामा हेर्न नभ्याइने जनाउ दिएको छ ।

मंगलबार प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा २९८ जटा मुद्दा तोक्दा एउटा मात्र बन्दी प्रत्यक्षीकरणको मुद्दा राखेका थिए ।

१० वटामध्ये नौवटा अरू न्यायाधीशका संयुक्त इजलास तोकेका छन् भने आफ्नालागि एकल इजलास तोकेका थिए । तर, बन्दीको एउटा मुद्दाबाहेक अरू सबै इजलास न्यायाधीशले बहिष्कार गरेका छन् । उनीहरूले सर्वोच्चको वेबसाइटमा प्रकाशित पेसी सूचीमा बेन्च नबसेको जनाउ दिएका छन् ।

६. महाधिवेशनमा अध्यक्ष उठ्ने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । गृहजिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कार्यकर्ताको भावनाअनुसार आफू पार्टीको दशौँ महाधिवेशनमा अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए । रावलले एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनुपर्ने बताउँदै गृहजिल्लामा कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उचित होला ? भनेर सोधे । त्यसपछि कार्यकर्ताहरूले अध्यक्षमा उठ्नुपर्ने बताएका थिए ।

त्यसपछि रावलले भने, ‘तपाईंहरू जेमा उठ् भन्नुहुन्छ, म त्यसमै उठ्छु । तपाईंहरू जस्तै थुप्रै कार्यकर्ताले अध्यक्षमा उठ्नुपर्ने भनेका छन् । तपाईंहरूले पनि त्यही भन्नुभएको छ । तपाईंहरूको यो आवाजलाई कमजोर हुन दिन्नँ ।’

७. सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना: एक जनाको मृत्‍यु, १८ जना घाइते

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका- ११ पोखरेस्थित बन्देउ-चौतारा सडक खण्डमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता दक्षकुमार बस्‍नेतका अनुसार मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की ४० वर्षीया जानुका भन्‍ने सरस्वती पराजुली रहेकी छन् । गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

८. यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

उनले कुस्मामा ४०० केबी सबस्टेसन र जुम्ला सबस्टेसनका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने, नेपाल कृषि तथा वन सेवा समूह सामूहीकरणतर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा नीरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाई प्रोभिन्सस्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको पनि बताए ।

प्रवक्ता कार्कीले लोक सेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठनको जेनेभामा संचालन हुने स्पेसल सेसन अफ द वर्ल्ड हेल्थ एसेम्ब्ली, डब्ल्यूएचए ७४(१६) कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णयसमेत गरेको बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्