Shikhar Insurance

नीतिगत परिवर्तनको प्रभावमा नपरी ‘फन्डामेन्ट’ बुझेर यी कम्पनीमा गर्नुस् लगानी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार १७:४९
NIMB
Nabil Bank

काठमाडौं । पछिल्ला केही वर्षयता नेपाल स्कट एक्स्चेन्ज (नेप्से) इन्डेक्स (परिसूचक) लगानीकर्ताको मनोबलमै आधारित छ । लगानीकर्ताको मनोबल उच्च वा मनोबल गिर्दा बजारमा यसको प्रत्यक्ष प्रभाव देखिन्छ ।

तर, प्रत्यक्ष सरोकार नै नभएको वा आफ्नो लगानीलाई असर नगर्ने विषयमा समेत लगानीकर्ता ‘प्यानिक’ हुँदा बजारमा प्रतिकुल प्रभाव परेको लगानीकर्ता स्वयम् बताउँछन् । सम्बन्धित नियमनकारी निकायले नीति निर्देशन जारी गर्नु अघि नै चलाइएका हल्ला वा कसैको अभिव्यक्तिमा लगानीकर्ता पर्दा सम्पूर्ण बजार नै प्रभावित हुने गरेको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डले नीतिगत परिमार्जन गर्ने भयो भन्ने हल्लामा लगानी गरिएको कम्पनीको अवस्था मुल्यांकन नै नगरी सेयर बिक्री गर्ने लगानीकर्ता पछि पछुताउनु बाहेक विकल्प हुँदैन,’ निवर्तमान अध्यक्ष रौनियारले सिंहदरबारसँग भने, ‘नीतिगत व्यवस्थाले आफ्नो लगानीलाई कति प्रभाव पार्छ त्यसको पनि मुल्यांकन स्वयम लगानीकर्ताले गर्नुपर्छ ।’

हल्लाको भरमा लगानी गर्दा वा झिक्दा सूचीकृत कम्पनीहरुको मूल्यमा समेत उच्च उतारचढाव हुने गरेकाले लाखौं लगानीकर्ताले अर्बौ कमाउने र गुमाउँछन् ।

प्रधानमन्त्री, अर्थमन्त्री, धितोपत्र बोर्डका अधिकारी, नेप्से, राष्ट्र बैंकका गभर्नर र विभागीय प्रमुखहरुको अभिव्यक्तिले समेत पछिल्लो समय लगानीकर्ताको मनोबललाई प्रत्यक्ष प्रभावित गरिरहेको छ । राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा निर्माणमा जुट्दा लगानीकर्तामा त्यस्तै मनोविज्ञानले खेलेको छ ।

सामाजिक सञ्जाल, विभिन्न पत्रपत्रिका तथा अनलाईन सञ्चार माध्यममार्फत् केन्द्रीय बैंकले सेयर धितो कर्जामा थप कढाइ गर्न सक्ने अभिव्यक्तिका समाचार आइरहेका छन् । जसले गर्दा लामो समयसम्म ओरालो दिशामा लागेर फर्किएको नेप्से पुनः प्रभावित भइरहेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितोमा गरेको ४/१२ को नीतिले तर्सिएका लगानीकर्ता अहिले थप कढाइ हुने डरले आत्तिएका हुन् ।

साढे ३८ खर्बको पुँजीकरण भएको बजारमा लगानीकर्ताले सेयर धितोमा राखी बैंक तथा वित्त कम्पनी करिब डेढ खर्ब रुपैयाँ कर्जा लिएका छन् । सेयर धितो कर्जामा कडाइले सीमित लगानीकर्ता मात्र प्रभावित हुने हुँदा संयमताले लगानी गर्नुपर्ने फोरमका अध्यक्ष रौनियारको सुझाव छ ।

‘मिडियामा मौद्रिक नीति समीक्षामा बैंक ब्याजदर र सेयर धितो कर्जामा कडाइ हुने जस्ता समाचार आउन थालेका छन्, जसले गर्दा लगानीकर्ता डराएर लगानी झिक्दा बजारमा प्रतिकुल प्रभाव परिरहेको छ,’ अध्यक्ष रौनियारले भने, ‘समाचार र हल्ला कतिको सत्य हो भन्ने अनुमान नगरी लगानीकर्ता हावाको पछि लाग्दा आफै डुबेका छन् ।’

लामो समयसम्म ओरालो लागेको सेयर बजार पुनः लयमा फर्किन खोजेको समयमा यस्ता हल्ला व्यक्तिगत स्वार्थमा पनि फिँजाइएको हुनसक्ने र यस्ता हल्लाको भरमा सेयर नबेच्न उनको सुझाव छ ।

‘प्रायः जसो कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो आएको छ भने धेरै कम्पनीहरुले राम्रो दरको प्रतिफल घोषणा गरेका छन्, बैंकहरुले पनि औसतमा १५ प्रतिशतभन्दा बढी नै लाभांश दिएका छन्,’ उनले थपे, ‘कम्पनीको लाभांश क्षमता हेरेर बैंकलगायत हाइड्रोपावर, इन्स्योरेन्स, माइक्रोफाइनान्स कम्पनीमा लगानी गर्दा दीर्घकालिन फाइदा हुन्छ ।’

नीतिगत परिवर्तनको असरमा सीमित लगानीकर्ता मात्र पर्ने भएका हुँदा तीनै लगानीकर्ता समूहबाट सोझा लगानीकर्ता ‘म्यानिपुलेट’ हुने गरेको उनको भनाइ छ ।

कोरोना संक्रमणबीच आएका नयाँ लगानीकर्ताले सेयर बजारमा लिएको नयाँ रणनीतिले गर्दा बजार हल्लामा बढी प्रभावित भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरी बताउँछिन् ।

कोरोना संक्रमण सुरु हुनअघि अनलाइनमार्फत् सेयर कारोबार गर्ने ६/७ लाखको संख्यामा भएकामा अहिले करिब २० लाख पुगिसकेको छ । १५/२० लाखको संख्यामा रहेका डिम्याट खाता र मेरो सेयर प्रयोगकर्ता पनि करिब ४५ लाख पुगिसकेका छन् ।

यी थपिएका लगानीकर्ताले नै कोरोना संक्रमणमाझ करोडौं लगानी गरी अर्को करोडौं कमाएका छन् । छोटो समयमै धेरै कमाउने उद्देश्य राखेर आएका लगानीकर्ता नै व्यक्तिगत अभिव्यक्ति र नीतिगत परिवर्तनको हल्लाको प्रभावमा परेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष चौधरीको बुझाइ छ ।

‘पुराना लगानीकर्ताले मार्केटको ट्रेण्ड देखिरहेको हुन्छन् भने उनीहरु कम्पनीको रिर्टन हेरेरमात्र लगानी गर्छन्,’ अध्यक्ष चौधरीले सिंहदरबारसँग भनिन्, ‘नयाँ लगानीकर्तालाई इन्भेष्ट नभएर ‘सर्ट टर्म’ ट्रेड गर्ने बानी परिसकेको छ, त्यसैले यी नै लगानीकर्ताले नबुझेर कारोबार गर्दा सम्पूर्ण सेयर बजार प्रभावित भइरहेको छ ।’

अनुभवी र कम्पनीको ‘फन्डामेन्टल’ बुझेका लगानीकर्ताभन्दा बढी बजारमा ट्रेडरहरु बढी भएकाले नीतिगत परिवर्तनको प्रभाव बजारमा कस्तो हुने नबुझी कारोबार गर्दा बजार बिग्रिएको उनको भनाइ छ ।

‘मार्केट तल झ¥यो भन्दैमा भएको सबै सेयर बेच्ने नभएर लगानी गरेको कम्पनीले भविष्यमा दिने लाभांशको समेत मूल्यांकन गर्न सक्ने क्षमता हुनपर्छ,’ उनले थपिन्, ‘सेयर खेलाडीहरुले एउटा स्टकलाई नै म्यानिपुलेट गर्न सक्छन्, यो कुरा नयाँ लगानीकर्ताले बुझेका छैनन्, त्यसैले यस्ता खेलाडी पछि लाग्दा सधै फाइदा नभएर लगानी डुब्ने समेत हुन्छ ।’

नयाँ लगानीकर्ताहरु बजार हल्लाको पछि नलागेर कम्पनीको ‘फन्डामेन्टल’ हेरेर लगानी गर्दा नीतिगत परिवर्तनको प्रभाव धेरै नपर्ने उनको भनाइ छ ।

‘जब राष्ट्र बैंकले नीति नियम ल्याउने वा बैंकहरुले ब्याजदर थपघट बेला हुन्छ, बजार हल्लाको भरमा प्रभावित हुन्छ,’ उनले भनिन् ‘केही यस्ता कम्पनीहरु छन् जसको सेयर मूल्य हल्ला वा नीतिगत परिवर्तनको प्रभावमा पर्दैनन् ।’

अहिलेको समयमा लगानीकर्ताले वाणिज्य बैंकहरु र लघुवित्त कम्पनीहरुको वित्तीय परिसूचकलाई मूल्यांकन गरेर लगानी गर्दा कहिल्यै घाटा नपर्ने उनको बुझाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्