Shikhar Insurance

स्वाप रेसियो बार्गेनिङ चलिरहेको नबिल र एनबीको मर्जरमा सनराइजको छड्के !

दिलु कार्की
२०७८ मंसिर १३, सोमबार ०८:००
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ बजारमा पछिल्लो समय चर्चाको विषय हो ‘मर्जर तथा एक्विजिसन’ । त्यसमा पनि नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको मर्जरको चर्चा शिखरमा छ । यी बैंकले मर्जरको प्रारम्भिक सम्झौतालाई अन्तिम रुप दिन कयौं अनौपचारिक छलफल पनि गरिसकेका छन् ।

एनबीले मर्जरको महसुस गर्दै नबिललाई पहिलो प्राथमिकतामा राखेको छ । मर्जरका लागि नबिलले नेगोसिएसन गरिरहँदा अन्य बैंकले अफर गरेको उच्च स्वाप रेसियोलाई समेत माया मारेर नबिललाई नै पार्टनर बनाउने दाउमा एनबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नबिल भने एनबीलाई मर्जर गरी आउने ‘गुडविल’ ले भविष्यमा आफ्नो शाख जोगाउन कति मद्दत पुग्छ ? भन्ने आधारमा मोलमोल्याईंमा लागेको छ ।

यता, यी बैंकको अनौपचारिक मर्जर तानाबुनामा सनराइज बैंकले छड्के हानेको छ । स्वाप रेसियोदेखि बैंकको नेतृत्वसम्ममा नबिलसँग बार्गेन गरिरहेको एनबीलाई खरिद गर्ने इच्छा सनराइजले देखाएको हो ।

एनबी बैंकको सबैभन्दा ठूलो लगानीकर्ता बंगलादेशको आईएफआईसी बैंकले आफ्नो ४०.८९ प्रतिशत सेयर गत असारमै बिक्री गर्न खोजेको थियो ।

आईएफआईसीको सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान सञ्चालकलाई नै दिएपनि अहिले राष्ट्र बैंककै सुझावमा बाहिरका लगानीकर्तालाई समेत खरिदको अवसर छ ।

आईएफआईसीको सेयर खरिद गर्ने ग्रुपकै लगानी भएको बैंकमा एनबी बैंक मर्जरमार्फत् विलय हुनेछ । जसले गर्दा आईएफआईसीको सेयर खरिद गर्ने लगानीकर्ता छनौटमा केन्द्रीय बैंकको समेत चासो छ ।

बैंककै लगानीकर्ताहरु आईएफआईसीको सेयर खरिदमा फिट नभएपछि अहिले २ वटा ग्रुप सो सेयर खरिदमा इच्छुक छन् । राष्ट्र बैंककै सुझावमा अहिले चौधरी ग्रुप र एमभी दुगड ग्रुपले आईएफआईसीसँग भएको सेयर खरिद गर्न इच्छा देखाएका छन् । नबिल बैंकमा चौधरी ग्रुपको र सनराइज बैंकमा दुगड ग्रुपको सबैभन्दा ठूलो लगानी हिस्सा छ ।

बंगाली लगानीकर्ता बाहिरिन खोज्नु अगावै नबिललाई नै मर्जरको पहिलो रोजाई बनाएको एनबी अहिले मर्जर पाटनर को बनाउने ? भन्ने अन्यौलमा छ ।

सुरुवाती चरणबाटै नबिलले एनबीलाई ४५/५० को स्वापमा खरिदको प्रस्ताव राखेको थियो । तर, अहिले नबिलसँग बार्गेन गर्दै एनबी ५५ देखि ६० को स्वाप पाउने आशामा मोलमोल्याईं गरिरहेको छ । यसको कारण हो, सनराइज बैंकले ९० सम्मको स्वाप रेसियो अफर गर्नु । राष्ट्र बैंकले एनबी बैंकको मर्जर कमिटीलाई सनराइजको अफरलाई समेत विचार गर्न घुमाउरो पारामा सुझाइ सकेको छ ।

एनबी बैंकले वार्षिक साधारणसभामार्फत मर्जरको ढोका खुल्ला गरिसकेको छ । एनबीको मर्जर कमिटीमा सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, नेपाली सञ्चालक इन्द्रबहादुर थापा र बंगाली सञ्चालक एम साह आलम सरवार छन् ।

एनबीको सञ्चालक समितिले पनि मर्जर कमिटीलाई एक महिनाभित्र सनराइज वा नबिलमध्ये उपयुक्त पार्टनर को हुन सक्छ ? निर्क्योल गरी प्रारम्भिक सम्झौताको तयारी थाल्न भनिसकेको छ ।

नबिलसँग मर्जरमा गएपछि बन्ने बैंकमा एनबीका ढुंगानाले सिईओको स्थान लिन खोजेका छन् । नबिल बैंकका सीईओ अनिल केशरी शाहको पहिलो कार्यकाल आउँदो असार मसान्तमा समाप्त हुँदैछ । बैंक सञ्चालक समितिले उनलाई दोहोर्याउने छाँटकाँट देखाएको छैन ।

त्यसैले मर्जर पछि नबिल बैंकको नेतृत्व आफ्नो हातमा लिने वातावरण मिलाउँदै ढुंगाना मर्जरको लबिङमा छन् । तर, सुमन शर्माको नेतृत्वमा चलिरहेको सनराइजमा भने उनको अन्डरमा ढुंगाना काम गर्न राजी छैनन् ।

अनौपचारिक छलफलमा नबिलले भन्दा सनराइज बैंकले नै बढी स्वाप दिन तयार भएपनि एनबीले नबिल बैंककै ‘गुडविल’ लाई भविष्यमा आफ्नो बनाउन चाहेको बैंक स्रोतको भनाई छ ।

‘नबिल बैंक वित्तीय सुचकांकका अधिकांश पंक्तिमा अगाडि मात्र नभएर कर्मचारीको सेवा सुविधा र लगानीकर्ताको लगानी पनि सुरक्षित छ,’ एनबी बैंक सम्बद्ध स्रोतले सिंहदरबारसँग भन्यो, ‘सनराइज बैंक आफैं समस्यामा छ, प्रोमोटरको टिम नै गुटबन्दी भएकाले बोर्ड अध्यक्षको कन्ट्रोलमा छैन । राष्ट्र बैंकले नै कयौं पटक बोलाएर झगडा मिलाएको छ । त्यहाँ हामी जाँदा झन् खिचातानी बढ्छ ।’

सनराइज बैंकको पर्फमेन्स नबिलको तुलनामा नराम्रो भएको हुँदा एनबी बैंक नबिलसँगै मर्जर हुन सक्ने स्रोत दाबी गर्छ ।

‘सनराइजको भन्दा राम्रो अवस्था अहिले एनबी कै छ, आफूभन्दा नराम्रोसँग मर्ज हुँदा लगानीकर्ताकै इज्जत गिर्छ, बंगलादेशी लगानीकर्ताले समेत आफ्नो सेयर राम्रो पर्फमेन्स भएको बैंकलाई नै बिक्री गर्ने सर्त राखेका छन्,’ स्रोतले थप्यो, ‘स्वाप रेसियो तय गर्नलाई केही सुत्र छन् । तर, नबिलले युनाइटेडलाई ३५ दिएकाले हामीले ५० भन्दा माथि अर्थात् ६० सम्ममा मोलमोलाई गर्न सक्ने अवस्था छ । तर, सनराइजले ९० सम्म कुरा गरिरहेको छ ।’

सनराइजले सेयर स्वाप रेसियो बढी अफर गरेपनि नबिल बैंकमै मर्जर हुने तयारी गरिएको उनको भनाइ छ ।

आईएफआईसीसँग भएको सेयर खरिद गरेर एनबीलाई आफूमा समाहित गर्न सनराइज र नबिल बैंक अहिले रेसमा छन् । तर, एनबी बैंकका ठूला नेपाली लगानीकर्ता भने सनराइजमा भन्दा नबिल बैंकमै समाहित हुँदा फाइदा हुने बताउँछन् ।

‘सनराइज र नबिल दुबैले मर्जरको अनौपचारिक प्रस्ताव गरिरहेका छन् । तर, नबिलमा समाहित हुँदा एनबीका सबै लगानीकर्ताको हीत हुन्छ,’ स्रोत भन्छ, ‘सर्वसाधारण लगानीकर्ताको चाहना पनि नबिलसँग मर्ज भए राम्रो भन्ने छ भने अहिलेसम्मको तयारीले पनि नबिल नै हो भन्ने देखाउँछ ।’

एनबी बैंक स्वाप रेसियोको लालचमा सनराइज बैंकसँग मर्ज भएमा सेयरधनीहरुको लागि घातक हुने उनको भनाई छ ।

आफ्नो स्थायित्व कायम राख्दै मर्जर गर्दा एनबी बैंक पनि नबिलको लागि उपयुक्त विकल्प
नबिल बैंकले गत वर्ष आफ्नै ग्रुपको मुख्य होल्डिङ रहेको युनाइडेड फाइनान्सलाई एक्वायर गरिसकेको छ । बैंकले आफ्नो स्थायित्व नगुम्ने योजना सहित मर्जर तथा प्राप्तिको बाटो खोलेको हो ।

नबिललाई आफ्नो ‘नम्बर वान’ को ताज जोगाउँदै बजारमा प्रतिस्पर्धि व्यवसाय गर्न कुनै न कुनै संस्थालाई मर्जर गराउने बाध्यता छ । बैंकले चालु आर्थिक वर्षभित्रै आफ्नो शाख कायम राख्दै कुनै आफ्नै वर्गको बैंक एक्वायर गर्ने बैंकका महाप्रबन्धक मनोज ज्ञवाली बताउँछन् । तर, बजारमा चलेको हल्ला जस्तो नबिलले अहिले नै कुनै बैंकसँग मर्जरका लागि औपचारिक छलफल नगरेको उनको भनाइ छ ।

‘नबिल बैंकले चालु आर्थिक वर्ष भित्रै आफू अनुकल कुनै न कुनै संस्थासँग मर्जर गर्छ,’ ज्ञवालीले सिंहदरबारसँग भने, ‘त्यो नेपाल बंगलादेश बैंक पनि हुन सक्छ, अरु बैंक पनि हुन सक्छ ।’

नबिलले एनबीको मर्जर कमिटीमा आधिकारिक रुपमा मर्जरको प्रस्ताव अहिलेसम्म नगरेको उनले जानकारी दिए ।

‘बजारमा एनबीलाई मर्ज गर्ने ‘प्लान’ गरेर सेयर किनेको भनेर हल्ला चलेको छ, ती हल्ला काल्पनिक मात्र हुन्, त्यसमा सत्यता छैन,’ ज्ञवालीले थपे, ‘नयाँ मर्जर कमिटी गठन भएको छैन, अनौपचारिक रुपमा एनबी बैंकसँग बोर्ड कमिटीको कुरा भएको हुनसक्छ, तर मर्जर यही बैंकलाई गर्ने भनेर अहिलेसम्म टुंगो लागेको छैन ।’

नबिलले एक वर्षभित्र कुनै न कुनै संस्थासँग मर्ज गर्ने योजना बनाएको भएपनि त्यसका काम प्रारम्भिक तहमै चलिरेहको उनको भनाइ छ ।

नबिललाई मर्जरको आवश्यकता किन ?
नबिल बैंकले युनाइटेट फाइनान्सलाई मर्ज गर्नुअघि नै एनसीसी र गरिमा विकास बैंकसँग समेत अनौपचारिक छलफल गरेको थियो । अहिले सरकारले नै एकै वर्गका बैंकलाई मर्जरमा प्रोत्साह गरेको हुँदा नबिलले वाणिज्य बैंकलाई नै आफूमा समाहित गर्नु पर्ने हुन्छ ।

व्यवसायदेखि लगानीकर्तालाई उच्चतम प्रतिफल दिनेमा हालसम्म नम्बर वान बन्दै आएको नबिललाई अर्को वर्ष यो ताज जोगाउनु पर्ने ‘थ्रेट’ छ ।

मर्जर र प्राप्ति भर्खरै सुरु गरेको नबिललाई यो रणनीति अझै अगाडि बढाउनु पर्ने आवश्यकता छ । नत्र, प्रतिस्पर्धी बैंक ठूलो बनिसक्दा नबिल जत्राको तेत्रै रहनेछ ।

बैंकले गत वर्षसम्मको नाफाबाट ३३.६ प्रतिशत बोनस सेयर दिएको छ । यसले सेयरको संख्या एक तिहाइले बढ्छ । बैंकलाई प्रतिसेयर आम्दानी कायम गर्न नाफाबाट मात्र सहज नहुन सक्छ ।

त्यसका लागि बैंकले मर्जर र एक्विजिसनमा थप रणनीतिक कदम चाल्नुको विकल्प छैन । नबिलको ब्रान्ड भ्यालु र नेगोसियसन क्षमताको उपयोग गर्दै बैंकले उचित मर्जर/प्राप्तिको साझेदारसँग कुरा समेत गरिरहेको छ ।

राम्रा संस्थालाई बैंकले आफूमा समाहित गर्न सक्यो भने व्यवसाय विस्तार र प्रतिफल दुवै पाटोमा सहयोग हुने विश्वास बैंकका महाप्रबन्धक ज्ञवालीको छ ।

मर्जर एक्विजिसनको निर्णय व्यवस्थापनले लिने होइन, सञ्चालकले लिने हो । त्यसकारण सबैभन्दा महत्वपूर्ण विषय सञ्चालक समितिमा कुरा मिल्नुपर्छ । ज्ञवालीका अनुसार नबिल बैंक ठूलो वा सानो, नयाँ वा पुरानो जुनसुकै वाणिज्य बैंकसँग पनि मर्जरमा जान तयार छ । त्यसमा अनौपचारिक रुपमा केही वाणिज्य बैंकसँग नबिलले चिया गफ समेत गरिरहेको छ । त्यसमा एनबि बैंक पनि एक हो ।

तर, मर्जरका लागि नबिलका केही शर्त पनि छन् । नबिल ब्रान्ड नै डाइल्युट गर्नुपर्ने (नबिल नाम छाडेर अर्कै नाममा सञ्चालन गर्नुपर्ने) माग नबिलले स्वीकार गर्दैन । सञ्चालक समितिमा मागेजति प्रतिनिधित्व नहुन सक्छ र उच्च व्यवस्थापनमा पनि दोस्रो बैंकले माग गरेअनुसार कर्मचारी नहुन सक्छन् । यी सबै नमिल्दासम्म नबिलले कुन बैंकलाई मर्जर गर्ने हो त्यसको प्रारम्भिक सम्झौताको तयारी समेत नहुने ज्ञवालीको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्