Shikhar Insurance

धेरैजना छुटेको भन्दै सिङ्गटी हाइड्रोपावरमा स्थानीयवासीलाई सेयर हाल्ने समयावधि थप

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार ००:०३
NIMB
Nabil Bank

चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको सेयर हाल्ने समयावधि थप गरेको छ ।

 

Citizen Life
Kumar Bank
Nepal Life

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण सेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले सेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ ।

 

प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म सेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ । प्रतिसाधारण सेयर रु १०० अङ्कित दरका १४ लाख ५० हजार कित्ता सेयर कम्पनीले निष्कासन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौँलगायत विभिन्न क्षेत्रमा रहेकाले सेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत सेयर छुट्याएको छ ।

 

प्रभावित क्षेत्रका स्थानीयवासीका लागि सेयर बाँडफाँट हुनासाथ सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन तथा बाँडफाँट गर्नका लागि मेघा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयवासीलाई सेयर हाल्नका लागि आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेघा क्यापिटलले जिल्लाको सिङ्गटी, वावरेलगायत आयोजनास्थलमा समेत व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रका स्थानीयवासी बैंकको पहुँचबाट टाढा रहेको हुँदा हरेक नागरिकलाई समेट्ने उद्देश्यले ती क्षेत्रमा सेयर आवेदन गर्नका लागि व्यवस्था मिलाइएको कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए ।

 

सिङ्गटीमा निर्माण गरेको २५ मेगावाटको सो आयोजना निर्माण कार्यसम्पन्न भइसकेको छ । निर्माण सम्पन्न गरी परीक्षणसमेत भइसकेको हाइड्रो १३२ केभीको सिङ्गटी लामोसाँगु राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण विद्यत् प्रसारण लाइनमा जोडिन सकेको छैन । प्रसारण लाइनको पर्खाइमा रहेको उक्त आयोजना विद्युत् सङ्कटका बेलामा सरकारद्वारा विद्युत् सङ्कट निवारणका लागि छनोटमा परेको आयोजना हो ।

सरकारले विद्युत् सङ्कट निवारणका लागि भन्दै बास्केटमा रहेको आयोजनामध्ये प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको जिम्मा दिएको थियो । सरकारले २१० मेगावाट क्षमताका छ आयोजनालाई ‘सुपर सिक्स’ नामबाट निजी क्षेत्रलाई दिएकामा सो आयोजना निर्माण सम्पन्न भई सेयर निष्कासन गर्ने पहिलो हाइड्रो पावर बनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्