Shikhar Insurance

लोडसेडिङको त्रास बढेपछि प्राधिकरणले कर्मचारीसँग गर्यो कार्य सम्पादन सम्झौता

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार १३:२५
NIMB
Nabil Bank

काठमाडौं । नागरिकहरुमा लोडसेडिङको त्रास बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले सोमबार प्रदेश नं. २को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको हो ।

प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, राजेन्द्रबहादुर क्षेत्री (सफल),भक्तबहादुर पुन, कपिल आचार्यको उपस्थितीमा सोमबार कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरे । वि.सं. २०७४ बाट सुरु भएको कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्ष (आव) २०७७/७८मा भने विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कारण समयमै सुरु हुन सकेको थिएन ।

कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणले चालु आवमा वितरणतर्फको विद्युत् चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत आवमा वितरणतर्फको चुहावट १०.२८ प्रतिशत थियो ।

प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरुको गत आवमा १५.६ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवमा १२.०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मंसिरसम्मको चुहावट १६.६ प्रतिशत छ । कार्यालयअन्तर्गतका प्रत्येक वितरण केन्द्र प्रमुखहरुलाई चुहावट नियन्त्रणको छुट्टाछुट्टै टार्गेट दिइएको छ ।

विद्युत् बिक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजश्वको ३१.२३ प्रतिशत हिस्सा प्रदेशिक कार्यालय जनकपुरले संकलन गर्छ ।

कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह सुधारल, दिइएका लक्ष्य पूरा गर्ने लगायतमा केन्द्रित भई काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, गुणस्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचाकांक निर्धारण गरिएको छ ।

हरेक प्रादेशिक कार्यालय र त्यस मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रण,औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट)निर्धारण गरिएको छ । कार्य सम्पादनको हरेक चार/चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ ।

हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसैगरि, टार्गेट हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् ।

तर, ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ । प्राधिकरणले प्रमुखहरुलाई बितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता जनाएको छ ।

सम्झौताको अनुगमन र मूल्याङकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालयअन्तर्गत ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामा समेटिएको छ ।

बाँकी प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्