Shikhar Insurance

मानव जीवन, जोखिम र बीमा

निर्मल अधिकारी
२०७७ माघ २१, बुधबार १०:४५
NIMB
Nabil Bank

पृष्ठभूमी
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांकृतिक एवं भौगोलिक रूपमा विविधतायुक्त स्वतन्त्र, अविभाज्य सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । यसबाट के बुझ्न सकिन्छ भने नेपालको मानव समाज विविधताले भरिएको छ । यस खालको विविधता भएको समाजमा जीवन यापन गर्ने मानिसहरुको आफ्नो समाज, भूगोल एवं परिवेश अनुसार जीवनशैली र उक्त जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिएर आउने जोखिमको मात्रा र प्रकार फरक फरक खालको हुन्छ । दैनिक जीवनमा आउन सक्ने जोखिमलाई रोक्न र जोखिमसँग भागेर जीवनयापन गर्न पनि सकिन्न । उपयुक्त विधि अवलम्वन गरी जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्दे जोखिमको सामना गर्नुको विकल्प हँुदैन । वर्तमान समय विश्व नै एकीकृत बन्दै गएको सन्दर्भमा त झन् जोखिमको प्रकार र मात्रा दिनानुदिन बढ्दै गइरहेका छन् । यस सँगै जोखिम न्यूनीकरण र व्यवस्थापनका नवीवनम उपाय एवं विधिहरु विकसित भइरहेका भएपनि बीमा जोखिम व्यवस्थापन तथा हस्तान्तरण गर्ने एक सशक्त र उपयुक्त विधिका रूपमा स्थापित भएको छ ।

मानव जीवन
मानव जीवन र भौतिक सम्पत्तिमा जोखिम निरन्तर देखा परिरहन्छ । मानिसको जन्म देखि मृत्युसम्म अनेक प्रकारका जोखिम आइरहन्छ । रोग, दुर्घटना, मृत्यु, वेरोजगारी आदि व्यक्ति सम्बन्धी जोखिमले भयंकर आर्थिक संकट सिर्जना गर्छ । यस्ता आपद विपदहरुबाट उत्पन्न दुष्परिणामबाट उन्मुक्ति पाउने उपायको व्यक्ति, परिवार, समाज र राष्ट्रले आ–आफनो तहबाट उपायहरु खोजिरहेका हुन्छन् । व्यक्तिगत जीवन एवं सम्पत्तिमा जुनसुकै समयमा पनि जोखिमको सम्भावना रहन्छ । परिवारका सबै सदस्यको भरण पोषण गर्ने मुख्य व्यक्तिको मृत्युले आश्रितहरुको जीवन थप कष्टकर बन्दै जान्छ । सक्षम एवं सम्पन्न व्यक्तिलाई साना तिना जोखिम एवं घटनाले आर्थिक रूपमा खासै फरक नपर्न सक्छ तर गरीब र विपन्न वर्गका मानिसलाई यस्ता घटनाको सामना गर्नुपर्यो भने त्यसको प्रभावबाट बाहिर निस्कन पुस्तौ पुस्ताले सघर्ष गर्नु पर्छ । धनी र सम्पन्नलाई भन्दा गरीब र विपन्नलाई आर्थिक सुरक्षाको आवश्यकता बढी हुन्छ । वर्तमान समय विश्वव्यापीकरण र उदारीकरणको प्रभावसँगै विज्ञान र प्रविधिको क्षेत्रमा भएका विभिन्न परिवर्तनले अवसर र सम्भावनाको साथै दिन प्रतिदिन नयाँ नयाँ प्रकृतिका जोखिम सिर्जना गरेको छ । असमानता, युद्ध, प्रकोप, महामारी, भोकमरी, गरिबी, सहरीकरण, जलवायु परिवर्तन, वातावरण विनास जस्ता विषयले सिर्जना भएको परिस्थितिले मानव जीवन भयानक जोखिमयुक्त हँुदै गइरहेको छ । जोखिमको स्वरूप, स्रोत र फैलावट फरक फरक हुन सक्छ तर व्यक्ति, परिवार, समाज र राज्य कहिले पनि जोखिम मुक्त हँुदैन । एक समयको जोखिम अर्को समय त्यही रूपमा आउँदैन । जोखिम कहिले प्रकोपका रूपमा कहिले महामारीका रूपमा मानवीय संवेदनासँग जोडिएर आएको हुन्छ । मानव जीवन र सम्पत्तिमा आउने यी विविध जोखिमबाट हामी भागेर मानव जीवन सुचारु गर्न सक्दैनौ । जोखिमलाई हटाउन तथा रोक्न नसकेपनि यसको प्रकार, स्वरूपका आधारमा न्यूनीकरण तथा व्यवस्थापन गर्नु पर्दछ ।

Citizen Life
Kumar Bank
Nepal Life

जोखिम
जोखिम शब्दलाई परिभाषा गर्न कठिन छ । जोखिम यस्तो अवस्था हो जो सोचिएको हँुदैन । जोखिम योजना भन्दा बाहिरको अनपेक्षित अवस्थामा देखा पर्दछ । जोखिम कहिले र कसरी आउने हो यकिन हुँदैन । जोखिम अनपेक्षित र अनिश्चित अवस्था हो । घटना हुन सक्ने र नसक्ने दुई परिस्थिति नै यसका मापदण्ड हुन । मानव जीवन र धन सम्पत्ति अनेक प्रकारका जोखिमले घेरिएका हुन्छन् ती जोखिमहरुको सम्बन्धमा हामीलाई केही जानकारी हँुदैन, अनिश्चित हुन्छ । कुनै पनि घटना घट्न सक्ने सम्भावनालाई अनुमान गर्न सकिन्न तर घटना घट्ने निश्चित प्रायः हुन्छ । मानव जीवन र सम्पत्तिमा हरेक क्षण हरेक समय जोखिमको सम्भावना भइरहन्छ । जोखिम अनुमान तथा मापन गर्न नसकिने खालको समेत हुने सक्ने भएकोले बहुआयामिक प्रकृतिको हुन्छ । आजकाल कुनैपनि स्थान, समय, व्यवसाय जोखिम÷विपद मुक्त छैन । घटना हुन्छ हुँदैन त्यो अनिश्चित छ त्यसै गरी दुर्घटना भएमा कत्रो हुन्छ र क्षति कति हुन्छ सो पनि अनिश्चित छ । जोखिम यस्तै प्रकृति र प्रकारका हुन्छन् भनी किटान गर्न सकिन्न । मानवले अनिच्छा देखाएपनि प्राकृतिक वा मानव र्सििर्जत कुनै पनि तवरबाट जोखिम आइरहेको हुन्छ । यसर्थ जोखिमको चरित्रका आधारमा व्यवस्थापन गर्नु पर्छ । जोखिम सामाजिक, आर्थिक, राजनीतिक, प्राविधिक आदि कारणबाट सिर्जना हुन्छ । एउटा जोखिमले अर्को जोखिम निम्त्याउछ । आगलागी चट्याङ, भूकम्प, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट हुने र मानव सिर्जित चोरी, डकेैती, हुलदंगा, हडताल, आतङ्कवादी क्रियाकलाप, युद्ध, लगायतका परिस्थितिबाट जोखिम आउछ ।

जोखिम व्यवस्थापन
जोखिम व्यवस्थापन जटिल विषय हो । जोखिमले विशेषगरी अस्थिर र असामान्य अवस्था सिर्जना गर्दछ । जसलाई व्यवस्थापन गर्न विशेष ज्ञान, सीप, पद्धति, प्रक्रिया र दक्षताको आवश्यकता पर्दछ । हरेक जोखिम खतरापूर्ण र समस्यामूलक मात्र हुन्छन् भन्ने छैन । अवसर सिर्जना गर्ने, पूर्वानुमान नगरिएका र जटिल अवस्थामा काम गर्न सक्ने क्षमता वृद्धि गर्ने, भविष्यको लागि योजना बनाउन सहयोग गर्ने खालका पनि हुन्छन् । वर्तमान समय प्रविधि र आधुनिकताको विकासले जति सहज र सरल हुँदै गइरहेको छ त्यतिकै जोखिम पनि बढीरहेको छ । कुनैपनि जोखिम व्यवस्थापनको लागि सर्वप्रथम जोखिमको पहिचान गरी कस्तो प्रकृतिको जोखिम हो ? कुन समयमा आइपर्न सक्छ ? कस्तो र कुन स्थानमा त्यस्ता जोखिमको सम्भावना बढी छ ? भन्ने पहिचान गरी पूर्व सावधानी अपनाउनु पर्दछ । जोखिम मानव जीवन र सम्पत्तिमा जुनसुकै समयमा पनि आउन सक्ने भएको हँुदा जोखिमको पहिचान, मूल्याङ्कन तथा विश्लेषण गर्नुको साथै जोखिमबाट हुन सक्ने सम्भावित क्षतिपूर्तिका लागि वैकल्पिक स्रोतको उचित व्यवस्था गर्ने संयन्त्र विकास गर्न सकेमा जोखिमबाट बच्न र त्यसको क्षति कम गर्न मद्दत पुग्छ ।

विभिन्न प्रकारका भवितव्य, दुर्घटनाबाट सिर्जित जोखिम व्यवस्थापन चरणवद्ध रूपमा गर्नुपर्दछ । जोखिम व्यवस्थापनको लागि रणनीति र प्रक्रियाहरु हुन्छ । जस्तै घटना हुन सक्ने सम्भावनाको पहिचान गर्ने, सम्भावित क्षतिको परिमाण, घटना घटेमा आफ्नो खर्च गर्ने क्षमताको अवस्था, क्षतिको परिमाण आफ्नो अनुमान भन्दा फरक भई बढी भएमा वैकल्पिक श्रोत के हुने, भन्ने जस्ता विषयको विश्लेषण गर्नु पर्दछ । जोखिम व्यवस्थापन गर्न पहिला सम्पत्तिको अवस्था र सूचीका साथै कुन कुन प्रकोप सँग ति सम्पत्ति को जोखिम रहन्छ भन्ने पत्ता लगाउन जरुरी हुन्छ । सम्पत्तिको विवरण जोखिमका आधरमा वर्गीकरण गरी हुन सक्ने क्षतिको पूर्व अनुमान गर्नु पर्दछ । अन्यथा जोखिम न्यूनीकरण खर्च भन्दा महाविपत्ति पछाडि पुनरुत्थान गर्ने खर्च बढी हुन्छ । उदाहरणका लागि सवारी चलाउँदा सिट वेल्ट तथा एयर व्यागको प्रयोग गर्नु, आगलागीको सूचना दिने व्यवस्था गर्नु, चोरी हुन सक्ने स्थानमा सिसिटिभि तथा साइरनको व्यवस्था गर्नु, बाढी पहिरोको जोखिम भएको स्थानमा पूर्व सूचना दिने उपकरण जडान गर्नु यी सबै जोखिमको असर न्युन गर्ने पूर्व जोखिम व्यवस्थापनका माध्यम हुन । सोही अनुसार घटना पश्चात असर न्युन गर्न अग्नि निवारक यन्त्र जडान गर्ने, संपत्ति क्षती भई सकेपछी सकेसम्म बचाउने प्रयास गरि वक्यौता राख्न प्रयास गर्ने, प्राथमिक उपचारको व्यवस्था गर्ने आदि उपाय अवलम्वन गर्न सकिन्छ ।

नेपालमा जोखिम व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था तथा प्रयासहरु
नेपाल विभिन्न मानव सिर्जित एवं प्राकृतिक प्रकोपका घटनाबाट उत्पन्न विपदको उच्च जोखिममा रहेको मुलुक हो । हरेक वर्ष बाढी, पहिरो, आगलागी, शीतलहर, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, सवारी दुर्घटना लगायतका कारण ठूलो जनधनको क्षति हुन्छ । त्यस्तै नेपाल भूकम्पीय हिसाबले उच्च जोखिममा रहेका मुलुकमा पर्दछ भने काठमाडौं उपत्यका त विश्वका सहरहरुमा ११ औं स्थानमा पर्दछ । नेपालमा यी विविध प्रकारका जोखिमबाट हुनसक्ने जनधनको क्षतिको न्यूनीकरण गर्नका लागि केही नीतिगत, कानुनी, संस्थागत प्रयास भएका छन । कानुनी रूपमा प्राकृतिक विपदको सामना गर्न दैवी प्रकोप उद्धार ऐन, २०३९, स्थानीय स्वायत्त शासन ऐन, २०५५, राष्टिय भवन निर्माण संहिता, प्रधानमन्त्री दैवी उद्धारकोष नियमावली, २०६३, विपद जोखिम व्यवस्थापन सम्बन्धी राष्ट्रिय रणनीति, २०६६, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७, स्थानीय विपद जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६८, जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६९, राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा, २०७० आदि रहेका छन् । वि.स.२०७२ साल वैसाख १२ गतेको गोरखा भूकम्प पश्चात क्षति भएका संरचनाको निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन, राष्ट्रिय जोखिम विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गठनका साथै विभिन्न गैरसरकारी संस्थाहरु जोखिम विपद न्यूनीकरणमा सक्रिय रूपमा कार्य गरिरहेका छन् । श्रम ऐन,२०७४ मा श्रमिकका व्यक्तिगत सुरक्षणको व्यवस्था, स्वास्थ्य बीमा बोर्डको गठन, सामाजिक सुरक्षा कोषको गठन भएको छ । तर व्यक्तिगत रूपमा आउने जोखिमका लागि राज्यबाट त्यति प्राथमिकतामा राखी जोखिमलाई बीमासँग जोड्दै जाने कार्यक्रम आउन सकेको छैन ।

बीमा
मानव जीवन र सम्पत्तिमा आइपर्ने विभिन्न प्रकारका जोखिमहरुलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले बीमाको प्रादुर्भाव भएको पाइन्छ । बीमा एउटा जोखिम हस्तान्तरण गर्ने सम्भावित जोखिमको सिद्धान्तमा आधारित एक सहकारी व्यवस्था एवं माध्यम हो । मानव जीवन र भौतिक सम्पत्तिमा भविष्यमा हुनसक्ने सम्भावति जोखिम विपद व्यवस्थापन तथा न्यूनीकरण गर्नुका साथै सरकारका लागि पुँजी निर्माण, आर्थिक विकास, लगानी र व्यक्तिका लागि सम्झौतित बचत तथा सुरक्षणका रूपमा बीमा लाई लिने गरिन्छ । बीमाको मुख्य काम भनेको प्रतिकूल घटनाहरुको अनिश्चिततालाई कम गरी निश्चतता र आर्थिक सुरक्षा प्रदान गर्नु हो । बीमाले दुर्घटनालाई रोक्दैन तर दुर्घटनाबाट हुनसक्ने सम्भावित जोखिमलाई आर्थिक सहायता मार्फत दुर्घटनाबाट सिर्जित क्षतिलाई बहन गर्छ । बीमालाई जोखिम विरुद्धको सिद्धान्त एवं रणनीतिका रूपमा लिइने हुँदा बीमा शुल्कको माध्यमबाट बीमीतको विशिष्ट जोखिमलाई वहन गरी बीमकले भविष्यमा कुनै घटना घटेमा बीमीतलाई निश्चित रकम क्षतिपूर्ति दिन्छ । यसर्थ बीमा व्यक्ति, समाज र व्यवसायका लागि अपरिहार्य साधन एवं यथार्थमा संकट समाधानको सहयोगी औजार हो ।

बीमाको महत्व
विकसित देशहरूमा प्राय सबै नागरिक वीमाको दायरमा हुन्छन् । यसबाट के बुझ्न सकिन्छ भने बीमा धनी गरीब सबैका लागि आवश्यक हुन्छ । बीमा जोखिम व्यवस्थापनको यस्तो माध्यम हो जसले न्यूनतम शुल्कमा जोखिमको व्यवस्थापन गरिदिन्छ । बीमाले सम्भावित जोखिमबाट पर्न जाने आर्थिक भारलाई कम गर्नुका साथै आश्रित व्यक्तिहरुको भलाई, व्यवसायको निरन्तरताको लागि पुँजीको व्यवस्था, बुढेसकालमा जोखिमको सुरक्षा साहराको साथै अन्य आर्थिक सुरक्षाहरु प्रदान गर्दछ । विकसित मुलुकहरुमा बीमा मानव जीवन, व्यापार तथा व्यवसायको अनिवार्य र आवश्यक विषय मानिन्छ । तर हाम्रो देशमा बीमालाई आम जनताको जनजीवनसँग जोड्न सकिएको छैन । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन, बीमा हुन जोखिमका विशेष चरित्र हुन जरुरी छ । बीमा हुन अनिश्चित प्रकारको जोखिम हुनै पर्दछ । आधुनिक युगमा बीमा व्यवसाय मानव जीवन, व्यापार, उद्योगधन्दा तथा बैंकिङ्ग क्षेत्र, भौतिक पूर्वाधार आदिको अभिन्न अंग बनेको छ । बीमाको संवन्ध कुनै न कुनै रूपमा जोखिमसंग जोडिएको हुन्छ । रोग, दुर्घटना, मृत्यु, बेरोजगारी, वृद्धावस्था आदि व्यक्ति सम्बन्धी विविध जोखिमले भयकंर आर्थिक संकट सिर्जना गर्दछ यस्ता परिणाम एवं जोखिमबाट बचाई वा नोक्सान भइहालेको अवस्थामा आर्थिक सुरक्षा प्रदान गरी जीवनलाई निरन्तरता प्रदान गर्न बीमाको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

मानव जीवन, जोखिम र बीमाको सम्बन्ध
मानवको जन्मदेखि मृत्युसम्म जोखिमसँगै हिडिरहेको हुन्छ । यसलाई कुनै तरिकाले पनि नकार्न सकिन्न । मान्छेको जीवन र उसको जीवनसँग सम्बन्धित सम्पत्ति सबैमा जोखिम हुने हुँदा त्यही यथार्थलाई मध्यनजर गरी जोखिमलाई न्यूनीकरण तथा व्यवस्थापन गर्ने उपायहरुको खोजी भयो । जोखिमले व्यक्ति,समाज, मुलुकलाई नै एकैपटक प्रभावित पार्न सक्ने र त्यसले ठूलो जनधनको क्षति भई आर्थिक संकट सिर्जना गर्ने भएका कारण सरकारले समेत एकैपटक ठूलो आर्थिक भार वहन गर्न सक्दैन । यी विविध उपायहरुको खोजी गर्दे जाँदा बीमाको विकास भयो । मानव जीवन र सम्पत्तिमा आउन सक्ने संकट तथा जोखिम व्यवस्थापन गर्न बीमालाई प्रयोग गर्न थालियो । बीमाले न्यूनतम शुल्कमा जीवन तथा सम्पत्तिमा आउन सक्ने ठूला ठूला जोखिम बीमा तथा पुनर्बीमा कम्पनि मार्फत बहन गरिदिन्छ । मानिसलाई आफूले व्योहोर्नु पर्ने जोखिम तथा जोखिमबाट सिर्जना भएको क्षतिको आर्थिक भार बीमाले बहन गरिदिएपछि भावी जीवन विना अवरोध सुचारु गर्न सहयोग पुग्दछ । त्यसैगरी सरकारका लागि पनि विभिन्न घटनाबाट सिर्जित क्षतिको आर्थिक मूल्य बीमा तथा पुनर्बीमा कम्पनिले व्याहोरेपछि पुनरुत्थानका लागि बजेट व्यवस्था गर्नु पर्देन । प्रत्येक वर्ष जोखिम विपद व्यवस्थापनमा खर्च हुने ठूलो रकम विकास निर्माण लगायत अन्य उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकिन्छ ।
नेपालको भू–बनोट, विविधतायुक्त समाज, चेतनाको स्तर, आर्थिक स्थिति, गरिबी, लगायत विविध कारणले गर्दा जोखिमको प्रकृति पनि फरक फरक खालको रहेको छ । हिमाल देखि तराईसम्म बसोवास गर्ने सबै मानिस कुनै न कुनै खालको जोखिमबाट प्रभावित भईरहेका हुन्छन् । कृषि, व्यापार, सेवा, उद्योग व्यवसाय, यातायात, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति सबै हाम्रो दैनिकीसँग जोडिएका हुन्छन् । यी जीवन र सम्पत्ति माथिको जोखिम सहज र सरल तरिकाले हस्तान्तरण गर्ने एक उपयुक्त विधि बीमा भएका कारण मानव जीवन, जोखिम र बीमा वीचको सम्बन्ध अन्योन्याश्रित छ । मानव जीवनको विकाससँगै जोखिम जोडिएको हँुदा वर्तमान समयमा बीमा मानव जीवनको एउटा अभिन्न पाटो भइसकेको छ ।

निश्कर्ष
नेपाल विभिन्न प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट अति संवेदनशील स्थानमा रहेको छ । यसर्थ, आर्थिक सामाजिक तथा प्राकृतिक कारणले हुनसक्ने जोखिमबाट मानव जीवन, पशुपक्षीं, कृषि लगायत औद्योगिक, व्यवसायिक तथा नेपालको वैदेशिक व्यापारको क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिने गरी बीमा व्यवसायको विकास गर्नु पर्छ । यसका साथै नेपालमा निर्जीवन वीमा व्यवसायलाई सामाजिक तथा प्राकृतिक जोखिमबाट उत्पन्न हुनसक्ने जोखिम व्यवस्थापनको सशक्त माध्यमका रूपमा स्थापित गर्न आवश्यक छ भने जीवन बीमालाई आर्थिक सुरक्षा र दीर्घकालीन पुँजी परिचालन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नु पर्छ । जोखिम व्यास्थापन गर्नका लागि व्यक्ति, संस्था र सरकारी निकायका सबै तह बाट आफनो क्षेत्रमा गर्नु पर्ने पूर्व तयारी लगायतका कार्यहरु गर्न सकेमा जोखिम विपदबाट सिर्जना हुने क्षति पश्चात उचित साधन स्रोतको समयमा प्रयोग गरी जोखिम व्यवस्थापन गर्न सहयोग पुग्दछ । यस प्रकारको तयारीले विपद पश्चात उत्पन्न हुन सक्ने असामान्य परिस्थितिमा समेत देशको आर्थिक अवस्था चलयमान बनाइराख्न सहयोग पुग्दछ ।

(नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव लेख विशेषाङ्कबाट)

GBIME
Wai Wai

प्रतिक्रिया दिनुहोस्