Shikhar Insurance

टेलिकम व्यवस्थापनमा रणनीतिक साझेदारको आवश्यकताः सञ्चारमन्त्री

टेलिकमको वार्षिकोत्सव, यसै आवभित्र फाइभ जी परिक्षण गर्न निर्देशन
सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फायभ जीको परीक्षण गर्न पनि निर्देशन दिएका छन् ।

दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाई र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव उनको छ । उनले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता औंल्याए ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको दिर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन रणनीतिक व्यवस्थापन साझेदारको व्यवस्था गर्नुपर्ने तथा प्रविधिको विकासक्रम अनुसार फाइभ जी सेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न पनि सुझाव दिए । कम्पनीको विशिष्ट कार्यप्रकृति र कर्मचारीहरुको वृत्तिविकास तथा ग्राहकलाई उपलब्ध गराउन सकिने उच्चस्तरीय सेवा सुनिश्चित गर्न सक्नेगरी कर्मचारी विनियमावली शिघ्र कार्यान्वयन गर्नेतर्फ पनि ध्यानाकर्षण गराए । कार्यक्रममा कम्पनीका सेवाहरुका बारेमा आर्टिपिसियल इन्टिलिजेन्सको उपयोगमार्फत जानकारी हासिल गर्न सकिने च्याटबट सेवाको सफ्ट लञ्च पनि गरिएको छ ।

टेलिकमले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरी प्रसाद वस्यालले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकवर्गले उपयोग गरेका अनलाईन कक्षा, अनलाइन बैठक, अनलाइन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेकोले नै कम्पनीको ग्राहकआधार अन्य सेवा प्रदायकहरुको भन्दा बढी भएतापनि राजस्वमा सो अनुरुप वृद्धि हुन नसकेको वास्तविकता उल्लेख गरे । उनले पूर्वाधारको सहप्रयोगबाट कम्पनी थप लाभान्वित हुनसक्ने पनि बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुरुवात गरेको बताए ।

फोरजी वायरलेस होम ब्रोडब्यान्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् । उक्त सीपीईमा फोर जी ब्रोडब्यान्डको सिमकार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिन्छ । हाल यो सेवा प्रतिमहिना ९ सय रुपैयाँमा ६० जीबी, १५ सयमा १ सय २० जीबी, वार्षिक ९ हजार ६ सयमा ७२० जीबी र १६ हजारमा १४ सय ४० जिबी उपलब्ध छ ।

व्यावसायीक उपकरणबीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेसन अद्यावधिक गर्ने, लजिस्टिक व्यवस्थापन गर्ने प्रयास विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले सुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा गरिएको छ ।

यसै अवसरमा नेपाल प्रहरीलाई प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले ७ थान अत्याधुनिक कम्प्युटर प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले गरीब तथा असहाय बालबालिकाको मुटुको भल्भ फेर्ने कार्यमा शहीद गंगालाल राष्ट्रिय हृदयसँग सहकार्य गर्ने कार्यक्रम पनि सार्वजनिक गरियो ।

कार्यक्रममा मन्त्री गुरुङ र कम्पनी अध्यक्षले कम्पनीको सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रुपमा विमोचन गरे । यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाहरुमा आवाज दिने कलाकारहरु, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरु, कोरोनाको महामारीमा कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरुलाई सम्मान तथा पदक प्रदान गरिएको थियो । समारोहमा मन्त्री गुरुङ तथा कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र पनि वितरण गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्