Shikhar Insurance

फिदिममा एकैसाथ तीन आयोजना सुरु, सम्पन्न भयो शिलान्यास

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १, शनिबार १५:१५
NIMB
Nabil Bank

 

पाँचथर। पाँचथर सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेका छन्। फिदिम बजारभित्र रहेको फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्यको समेत मन्त्री नेम्वाङले शिलान्यास गरेका हुन्।

राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनीयर राजेश श्रेष्ठका अनुसार  १२ करोड १५ लाख ६६ हजार कूल लागत रहेको रङ्गशाला निर्माणको ठेक्का पिएस-किरातेश्वर-मैनाचुली जेभीले १० करोड ६३ लाख ७५ हजारमा लिएको हो । गत माघ २५ गते भएको सम्झौताअनुसार रङ्गशाला आगामी १७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रङ्गशालामा प्यारापिट ब्लक, प्रशासकीय भवन, ९३ मिटरमा व्यावसायिक सटर र शौचालयसमेत निर्माण हुनेछ । रङ्गशाला शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकूद परिषद् सदस्य एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली झण्डा विश्वमा फहराउने कार्यका लागि यो शिलान्यास उद्गम कार्य भएको बताए । खड्काले खेलकूद क्षेत्रमा सरकारी लगानी अझै बढ्नुपर्नेमा समेत जोड दिए ।

यस्तै फिदिममा नयाँ शहर आयोजना कार्यालयबाट बजारभित्रका मुख्य सडकको कालोपत्र गर्ने कार्यको शिलान्यास गरिएको हो । सो कार्यालयबाट सञ्चालन हुने योजनाअनुसार  ४ करोड १८ लाख कूल लागतमा फिदिम बजारभित्रका मुख्य सडकहरुको कालोपत्र तथा स्तरोन्नति हुन लागेको हो । आगामी छ महिनाभित्र बजारभित्रका मुख्य सडकको कालोपत्रको ठेक्का ३ करोड ५ लाख ८६ हजारमा भइसकेको नयाँ शहर आयोजना कार्यालयका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिनुभयो ।

यस्तै झण्डै २ हजार २ सय  विद्यार्थी अध्ययनरत फिदिम माध्यमिक विद्यालयमा अत्याधुनिक १२ कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । ३ करोड ५ लाख कूल लागत रहेको भवन निर्माणको ठेक्का अधिकारी-खनाल जेभीले २ करोड ३ लाखमा प्राप्त गरेको हो । नमूना विद्यालय निर्माण कार्यक्रमअन्तर्गत यस विद्यालयमा सूचना सञ्चार-प्रविधि प्रयोगशालासहितका संरचना निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले जानकारी दिए । सो भवन एक वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि दिननाथ अघिकारीले बताए ।

तीनवटै आयोजनाको शिलान्यास समारोहमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बाहनामा रोकिन नहुने बताए । फिदिम खेल मैदानलाई रङ्गशालाका रूपमा विकास गर्ने कार्य आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताउँदै मन्त्री नेम्वाङले आफैँले रङ्गशालाको शिलान्यास गर्न पाउँदा खुशी लागेको समेत बताए । नेम्वाङले पूर्वाधार निर्माण कार्यलाई घोषित निर्वाचनले कुनै असर नगर्ने जिकिर समेत गरे ।

सबै आयोजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री नेम्वाङले विकास निर्माणको अभियानबाट कोही बिचलित हुन वा आत्तिन नहुने पनि बताए । “पूर्वाधार विकासको गति अगाडि बढ्दा केही मान्छेलाई छटपटी भएको छ”, “जनताको खुशी नै नेता कार्यकर्ताको खुशी हुने भएकाले दलीय सोचबाट माथि उठेर विकाश निर्माणमा सरिकहुन” मन्त्री नेम्वाङको आग्रह थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्