Shikhar Insurance

चुनाव सकियो, पुँजी बजारका नेता सांसद भए, ब्याजदर पनि घट्दैछ, अब सेयर बजार के हुन्छ ?

मीरा श्रेष्ठ
२०७९ मंसिर १४, बुधबार १५:३८
NIMB
Nabil Bank

काठमाडौं । बहु प्रतिक्षित निर्वाचन सकिएको मात्रै होइन, पुँजी बजारका नेता पनि यसपाली सांसद बनेका छन् । पुँजी बजार सुधारका लागि आमरण अनसन बसेका हरि ढकालले चितवनबाट प्रतिनिधी सभा सदस्यमा भारी मतसहित जित निकालेका छन् ।

धितोपत्र बोर्डको मुल गेटमा आमरण अनसन बस्दा समेत मुल राजनीतिक नेतृत्वको ध्यान खिच्न नसकेको सेयर बजारको एजेण्डाले पनि अब हरेक बैठकमा प्रवेश पाउनेछ मानननीय हरि ढकाल मार्फत ।
त्यति मात्रै होइन, निर्वाचनमा सरकार र राजनीतिक पार्टीहरुले पनि ठूलो मात्रामा पैसा खर्च गरेका छन् । जसको सिधा प्रभाव अब बैंकहरुको निक्षेपमा देखिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

घट्दै ब्याजदर
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको स्प्रेड दर ०.४ प्रतिशतले घटाईदिएको छ । हालसम्म ४.४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको स्प्रेडदर ४ प्रतिशत, ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशत कायम गरेको हो । हाल वाणिज्य बैंकहरुको औषत कर्जाको ब्यानदर १२.१९ प्रतिशत छ । स्प्रेडदर ०.४ प्रतिशतले घट्दा कर्जाको ब्याजदर १.३९ प्रतिशतले घट्न सक्ने अनुमान राष्ट्र बैंकको छ ।

पछिल्लो पटक वैदेशिक मुद्राको सञ्चिति बढेको छ, शोधनान्तर नाफामा पुगेको छ । रेमिटेन्सको आगमन पनि बढेको छ ।
असोज मसान्तसम्ममा । रेमिटेन्स आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो रेमिटेन्स आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा आउने रेमिटेन्स पनि ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष त्यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ ।

संसदमा लगानीकर्ता
तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार प्रति सकारात्मक नीति नलिएको भन्दै नेप्से अगाडी आमरण अनसन बसेको हरि ढकालले सांसद जितेका छन् । उनी चितवन क्षेत्र १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर प्रतिनिधी सभा सदस्य बनेका छन् । यस अघि नेपाल उद्योग बाणिज्य महासंघमा नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल कार्य समिति सदस्य बनेका थिए । उनले महासंघ मार्फत पुँजी बजारको दिगो विकासका लागि निरन्तर आवाज उठाउँदै आएका थिए । अब भने ५५ लाख दावी गरिने पुँजी बजारका लगानीकर्ताहरुको आवाज सिधै संसदमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भयो भने ढकाल मन्त्री बन्न सक्छन् । अझै अर्थमन्त्री नै बन्ने सम्भावनाहरु समेत जिवितै छन् ।

पुँजी बजार मैत्री काँग्रेस पहिलो पार्टी
निर्वाचनबाट प्रमुख दलका रुपमा नेपाली काँग्रेसको पुनरोदय भएको छ, जसलाई पुँजी बजार प्रति सकारात्मक पार्टी समेत मानिन्छ । सत्ताको साधारण गणित नबिथोलिए काँग्रेसकै नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिन्छ । काँग्रेसको मूल नेतृत्व रहँदा पुँजी बजारको दिगो विकासका लागि गतिला कार्यक्रम आउने अपेक्षा लगानी कर्ताहरुले गर्ने गरेका छन् ।

अब के हुन्छ बजार ?

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले अब पनि सेयर बजार नबढ्नुपर्ने कुनै कारण नरहेको बताए । लगानीकर्ताहरुले विगत १५ महिनादेखि घाटा खाईरहेको बताउँदै उनले अब भने बजार बढ्ने ठोकुवा गरे ।
निर्वाचन सकिएको, ब्याजदर घटाउने गरि मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा आएको, पुँजी बजारका नेता सांसद बनेको, अर्थतन्त्रका आधारभूत परिसूचकहरु सुधार भएकाले अब सेयर बजार बढ्ने उनले बताए ।
‘१५ महिनादेखि बजार घटिरहेको थियो, पोर्टफोलियो त ५० प्रतिशत घट्यो, अर्थतन्त्रका सबै परिसूचक राम्रा छन्, लगानी गर्ने यो भन्दा राम्रो अवसर कहिले हुन्छ र ?’, रौनियारले भने ।

धितोपत्र बोर्डले सुधारका काम थालेको, ब्रोकर लाइसेन्स दिने, नयाँ स्टक एक्सचेञ्ज आउँदै, एनआरएनलाई पुँजी बजारमा ल्याउँदै गरेकोले पनि पुँजी बजारमा लगानी गर्ने यो नै परफेक्ट समय भएको उनले बताए । सेयर लगानीकर्ता संघ, नेपालका कार्यवाहक अध्यक्ष  तारा प्रसाद फुल्लेलले पनि अब बजार बढ्ने बताए । उनले सेयर बजारका नेता सांसद बनेकोले अब पुँजी बजारका मुद्धाहरु जोडदार रुपले संसदमा उठ्ने बताए । ‘बजार अब बढ्नै पर्ने हो, सबै कुराको निकास निस्किसकेको छ । हाम्रा नेता सांसद बनेका छन्, ब्याजदर पनि घट्ने सुनिश्चितता भैसकेको छ । अब बजार बढ्छ’, फुल्लेलले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्