Shikhar Insurance

फास्ट ट्रयाकः सुरुङ र ठूला पुल बनाउन सेनाले चिनियाँ कम्पनीसँग माग्यो विस्तृत प्रस्ताव

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चाङ्दा इञ्जिनियरिङ कम्पनी मात्रै प्रतिष्पर्धामा
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार १०:०४
NIMB
Nabil Bank

काठमाडौं । सेनाले तराई मधेस द्रुतमार्ग सडक परियोजनाअन्तर्गत सुरुङमार्ग र पुल निर्माणका लागि विस्तृत प्रस्ताव मागेको छ । पूर्व योग्यता निर्धारणको छनोटमा परेका दुई चिनियाँ कम्पनीसँग त्यस्तो मागिएको हो । त्यस्तो प्रस्ताव पेश गर्ने कम्पनीहरूलाई नै निर्माणको नै ठेक्का दिईनेछ ।

सेना आयोजना कार्यान्वयन निर्देशनालयले सार्वजनिक सूचना प्रकाशित गर्दै थप कागजात र योजना पेश गर्न भनेको हो । सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले पूर्व योग्यतामा उतिर्ण भएका कम्पनीहरुसँग थप प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको र त्यसकै आधारमा थप अध्ययन गरेर निर्माणको जिम्मेवारी दिने बताए । ‘दुई वटा प्याकेजका लागि तीन वटा कम्पनी प्रारम्भिक छनौटमा परेका छन्, एउटा प्याकेजमा एउटा कम्पनी छानिएको छ र अर्काे प्याकेजमा दुई कम्पनी छन्, प्राविधिक र आर्थिक प्रस्ताव उपयुक्त देखिएमा यिनै कम्पनीले निर्माणको जिम्मा पाउँछन्’, सेनाका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठूला र जटिल भनी निर्धारण गरेको निर्माण कार्य गर्न वा योग्य बोलपत्रदाताको पहिचान गर्न सार्वजनिक निकायले बोलपत्र आह्वान गर्नु अघि पूर्व योग्यता सम्बन्धी कागजात तयार गरी पूर्व योग्यता निर्धारणको लागि प्रस्ताव पेश गर्न सार्वजनिक रुपमा आह्वान गर्नु पर्ने व्यवस्था छ ।

त्यस्तो निकायले उचित ठानेमा अन्य खरिदको लागि समेत पूर्व योग्यता निर्धारण गर्न सक्नेछ । पूर्व योग्यता सम्बन्धी कागजातमा पूर्व योग्यताको लागि आवश्यक पर्ने योग्यताका आधार, प्रस्ताव तयार गर्ने र पेश गर्ने तरिका उल्लेख गर्छ ।

प्रस्ताव पेश गर्न आवश्यक पूर्व योग्यता सम्बन्धी कागजात माग गर्ने सबै व्यक्ति, फर्म, कम्पनी, संस्थालाई त्यस्तो कागजात तोकिए दिन्छन् । बमोजिम दिनु पर्नेछ । योग्य आवेदकको छनोट योग्यताको आधारमा हुन्छ । यसरी छनोट भएका आवेदकको सूची सार्वजनिक निकायले सार्वजनिक रुपमा प्रकाशन गरी सबै आवेदकलाई पठाउछ । सूचना दिएको तीस दिनभित्र पूर्व योग्यताको प्रस्ताव अस्वीकृत भएको कुनै आवेदकले उसको प्रस्ताव अस्वीकृत भएको कारणको जानकारी माग गर्ने मौका दिइन्छ ।

गत वर्ष फागुन ३०मा निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ बनाउन पूर्वयोग्यता निर्धारण गर्न टेन्डर आह्वान गरिएको थियो । तीन वटा सुरुङ निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चंग्डा इञ्जिनियरिङ कम्पनी छनोट गरेको हो ।
सेनाले ट्विन डबल लेन स्टाण्डर्डको सुरुङमार्ग, पुल र द्रूतमार्ग निर्माणका लागि छनोट गरेको हो । सेनाले तीनवटा सुरुङमार्ग निर्माणका लागि दुई प्याकेजमा पूर्वयोग्यता निर्धारणका लागि बोलपत्र आह्वान गरेको थियो । यसमा पहिलो प्याकेजमा २१ वटा र दोस्रो प्याकेजमा २२ वटा गरी कुल ४३ कम्पनीले आवेदन दिएका थिए ।

दोस्रो प्याकेजका लागि पोली चाङ्दा इञ्जिनियरिङ कम्पनी मात्रै छनोटमा परेको छ । पहिलो प्याकेजका लागि इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चाङ्दा कम्पनी दुवै प्रतिस्पर्धामा छन् ।

पहिलो प्याकेजमा छोक्रेडाँडादेखि महादेव खोल्सी ३.३ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । दोस्रो प्याकेजमा धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ । यी तीनवटै सुरुङमार्ग मकवानपुर जिल्लामा बन्नेछन् । सुरुङमार्गहरुको कुल लम्बाई ६.४१५ किलोमिटर हुनेछ ।

दुई लेनको स्ट्याण्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलबाट गर्न लागिएको हो। जसमा परियोजनाको योजना, डिजाइन, इन्जिनियरिङ्ग, निर्माण र सञ्चालनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्नेछ ।

मूल्याङ्कन समितिले पेश भएका बोलपत्रहरुको मूल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचीकृत गरेको थियो। आयोजनाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरु सूचीकृत भएको नेपाली सेनाले जानकारी दिएको छ ।

७२.५ किमी लम्बाइको द्रुतमार्गमा अहिले सडक बनाउने काम भइरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने सडक बाराको निजगढमा पुगेर टुंगिनेछ  । पुल र सुरुङमार्गको ठेक्कासमेत भएको छैन । आर्थिक वर्ष २०८०–८१ मा निर्माण सक्ने भनिए पनि पुल र सुरुङ निर्माणको काम सुरु नै नभएकाले तोकिएकै समयमा नसकिने निश्चितप्रायः छ । यो सडकमा कुल १०.५९ किमि पुल बनाइनेछ । निर्माण हुने ८७ पुलमध्ये १६ वटा अत्याधुनिक पुल हुनेछन् ।

द्रुतमार्गमा ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । २०७४/७५ मा २० र २०७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । यसमध्ये पाँच प्याकेजमा सेना आफैंले काम गरिरहेको छ । मख्खुबेंसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम आफ्नै जनशक्तिमा काम गरिरहेको छ । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि छ । द्रुतमार्गको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा संशोधित अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ छ  ।

GBIME

प्रतिक्रिया दिनुहोस्