Shikhar Insurance

खुलामञ्चमा महानगरको डाेजर चल्यो, ‘अब बाटोमा सभा गर्नु पर्दैन’

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार ०९:१८
NIMB
Nabil Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुर्ननिर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने, ‘वीर अस्पताल र दरवार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ उनले विस्तारै बसपार्क पनि खुला गर्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’
काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरज्यु (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताए । ‘दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफलपछि हामी यो चरणमा आएका हौँँ,’ काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो ।

कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । त्यसैले खुलामञ्च खुला गर्ने काम थालेका हौँ । केही दिनभित्रै सबै खुला हुन्छ ।’

उनले पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भई महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको बताए ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठुला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने, ‘प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै बनाउँछौँ । अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’ ज्ञवालीले महानगरपालिका विकास निर्माणसँगै मिचिएका सार्वजनिक जग्गा फिर्ता गरी खुला गर्ने अभियानमा आक्रमक रुपमा अघि बढेको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई पत्र काटेरै हिजोसम्म खाली गर्ने वातावरण बनाउन आग्रह गरेको जानकारी दिए । ‘हामीले हिजोसम्म खाली गर्न तीन निकायलाई भनेका थियौँ,’ सापकोटाले भने, ‘उहाँहरुलाई ठेकेदार कम्पनीलाई पनि उहाँहरुका सामग्री हटाउन आग्रह गर्नु भनेका थियौँ । आज हामीले हटाउन सुरु गर्यौँ ।’

केही दिन अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्