Shikhar Insurance

‘श्रमिकको उद्धारमा एक रूपैयाँ पनि हिनामिना भएको छैन’

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ६, बिहीबार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको एनआएनएले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपमा सत्यता नभएको बताएका हुन् ।

श्रमिकहरुको उद्धारका विषयमा विभिन्न व्यक्तिहरुबाट सामाजिक सञ्जालमा आएका विभिन्न खाले कुराप्रति संघको ध्यानाकर्षण भएको उनले जनाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“कोभिड-१९ को महामारीपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्रसंघका निकायसम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो,” विज्ञप्तिमा जनाइएको छ, “सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारका लागि संघले सक्रिय रुपमा काम गर्दै आएको छ । कोरोना महामारीको चुनौतीबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । सोको जानकारी संघका पदाधिकारीहरुलाई बेलाबेलामा दिइएको छ ।”

राहत तथा उद्धारका लागि भएका खर्चहरु पारदर्शी होस् भनेर सचिवालयमा छुट्टै संयन्त्र राखिएको र जसको सुपरीवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णयअनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र महिला संयोजक भोमादेवी लिम्बू भएको तीनजनाको समिति गठन गरिएको एनआरएनएले जनाएको छ ।

उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषद्‌मा एक उपसमितिमार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रियासमेत अगाडि बढाइसकेको विज्ञप्तिमा छ । विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रक्रिया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्ने क्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्पणीहरुप्रति संघ संवेदनशील भएको जनाएको छ ।

हालसम्म मध्यपूर्वका विभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पीसीआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तव्य मुलुकहरुमा खाना तथा बासको व्यवस्था, २४९ जनालाई पुनः रोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससँग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पुर्‍याइएको एनआरएनएले जनाएको छ ।

साथै नेपालमा आइसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ-आफ्नो घरसम्म जानका लागि यातायात खर्चसमेत सहयोग प्रदान गरिएको छ । प्रदेश १, २ र ७ का विभिन्न १४ स्वास्थ्य संस्थामा कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरुसमेत प्रदान गरिएको छ ।

साथै दातृसंस्थाको सहकार्यमा मलेसियाका जेलमा रहेका १७ जना र अन्य एकजना गरी १८ नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ व्यक्ति निकै समस्यामा रहेका र धेरै वर्षदेखि मलेसियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको विज्ञप्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्