Shikhar Insurance

सिंहदरबारः पालो आर्थिक बहसको…

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ७, शुक्रबार ११:५७
NIMB
Nabil Bank

शताब्दीअघि चन्द्रशमशेरले निजी निवासका रूपमा निर्माण गरेको सिंहदरबार त्यतिबेला सामन्तहरूको अखडा थियो । सत्ता सञ्चालन गर्नेहरूको अखडा बनेपछि त्यो स्वतः शक्ति केन्द्रका रूपमा स्थापित भयो । २००७ सालमा प्रजातन्त्र स्थापनासँगै सिंहदरबार राजनीतिक प्रशासनिक केन्द्रका रूपमा स्थापित भयो र त्यो शक्तिको मूल स्रोतकै रूपमा कायम रह्यो ।

यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा पुगिसकेको छ । तीन तहका सरकार नागरिक जीवन सुधारका लागि क्रियाशील छन् । यद्यपि सिंहदरबारलाई शक्तिको केन्द्रका रूपमा भने अझै स्वीकार गरिएकै छ चाहे त्यो प्रशासनिक केन्द्रका रूपमा होस् वा गाउँगाउँमा सिंहदरबार पु¥याइएको सन्देशकै रूपमा किन नहोस् । हामीले गाउँ–गाउँमा सिंहदरबार पु¥याइएको भनेरै पनि सिंहदरबारको शक्ति स्रोतलाई स्वीकार गरेकै देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिंहदरबार अर्थात जहानीयाँ राणाहरूको निवास हुँदै प्रजातन्त्रकालको प्रशासनिक केन्द्रदेखि नयाँ व्यवस्थाको मूल केन्द्रका रूपमा आज पर्यन्त जबरजस्त स्थापित छ । समस्त नेपाली नागरिकका मन–मस्तिष्कमा आजपर्यन्त सिंहदरबार शासकहरूकै केन्द्र छ । २०७२ सालको संविधानले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउने संकल्प गरेको छ । विकास, समृद्धि, सुशासन र समानता आमनागरिकको साझा संकल्प हो । समाज कस्तो छ भनेर हेर्न त्यहाँको उत्पादन प्रणाली र उत्पादन सम्बन्धलाई नियाल्नुपर्ने तथ्य स्थापित छ । संविधानले नै समाजवादको बाटोमा अघि बढ्ने संकल्प गरिसकेपछि अब समस्त नेपाली जनजीवनको पहिलो लक्ष्य समृद्धि नै हो भन्ने यथार्थमा दुईमत देखिन्न ।

सधैं सत्ता र शक्तिको केन्द्रका रूपमा स्थापित सिंहदरबारलाई अब समृद्धि फैलाउने माध्यमका रूपमा विकास गरिनुपर्छ । सिंहदरबारले विकास र समृद्धिको नागरिक सपनालाई साकार पार्न शक्तिको केन्द्रबाट शक्ति विकेन्द्रित गर्ने सोच बनाउनुपर्छ । त्यसका लागि नागरिक राज्य संयन्त्रलाई खबरदारी गर्ने र समृद्धि र सुशासनका पक्षमा वकालत गर्ने जिम्मेवारी बोक्नु अपरिहार्य छ । जसरी सिंहदरबारले समृद्धिको सपना पूरा गर्न आफ्नो नयाँ जिम्मेवारी ग्रहण गर्नुपर्नेछ, त्यसरी नै आमसञ्चार माध्यमले पनि समृद्धिको यात्रालाई राष्ट्रिय संकल्पका रूपमा स्थापित गर्न भूमिका खेल्नुपर्छ ।

सत्य र तथ्यका पक्षमा सतिसाल झैं उभिने, सरकार र सिंगो समाजलाई झकझक्याइरहने अनि सिंहदरबारबाट अघि बढ्ने समृद्धिको यात्रालाई रचनात्मक सहयोग गर्ने आफ्नो गहन जिम्मेवारी बोक्ने तत्परतासाथ सिंहदरबार डटकम अघि सरेको छ । विकास, समृद्धि, सुशासन र समानतामार्फत नै समाजवादको स्थापना सम्भव छ । त्यसका लागि सरकार र निजी क्षेत्रको अन्योन्याश्रित सम्बन्ध र सहकार्य नै एक मात्र विकल्प हो भन्ने निष्कर्षमा हामी दृढ छौं । अर्थ–राजनीतिक बहसद्धारा सरकार र निजी क्षेत्रलाई झकझक्याउने र नागरिकलाई आफ्ना हक–अधिकारबारे सचेत गराउने भागिरथ प्रयत्नमा हामी संकल्पित रहनेछौं ।

नेपाली सञ्चारमाध्यममा पनि विज्ञका विचार सर्वाधिक पढिने विषय हुन् । तर, यहाँ आर्थिक विचार, विमर्श, बहस छरिएर रहेका माध्यमबाट पढ्न पाइन्छ । यस्तोमा, आर्थिक विषयका विचार, अन्तर्वार्ता, तार्किक बहसका शृंखला एकैठाउँमा पढ्न पाउने अनलाइन सञ्चारमाध्यमको महसुस गरेर हामीले ‘सिंहदरबार डटकम’ सञ्चालनमा ल्याएका छौं ।
प्रशासनिक केन्द्रबाट अब पालो आर्थिक बहसको…!

 

GBIME

प्रतिक्रिया दिनुहोस्