Shikhar Insurance

महाकाली पुल र सुख्खा बन्दरगाह निमार्ण भएपछि सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने आशा

सिंहदरबार संवाददाता
२०७९ माघ १५, आईतवार १४:१५
NIMB
Nabil Bank

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ ।

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहर सहज पहुँच हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

विसं २०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । ३ अर्ब रुपैयाँको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार मानव निर्मित ताल निर्माणधीन अवस्थामा छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा चार लेनको पुल बनेको हो । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको विकास भए समृद्ध सुदूरपश्चिम बन्ने सुदूरपश्चिमका व्यवसायी बताउँछन् ।

भारतका प्रमुख व्यापारिक सहर सुदूरपश्चिमबाट छोटो दुरीमा पर्छन । भारतको राजधानी दिल्ली यो पुलबाट साढे तीन सय किलोमिटरको मात्रै दुरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन् ।

हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा सुदूरपश्चिमका व्यवसायीले सहज रूपमा आयात निर्यात गर्न पाएका छैन । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण सुदूरपश्चिमको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायी बताउँछन ।

महाकाली नदीमा पुल निमार्ण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निमार्णको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठूलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मावध जोशीले बताए । उनले हाल प्रयोगमा आएको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

‘महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसंग प्रतिस्पर्धा गर्न सहज हुन्छ’, उनले भने, ‘यो सँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका खुल्छ जसका कारण सुदूरपश्चिम हरेक किसिमका व्यापार व्यवसाय फष्टाउछन् ।’ उनले पश्चिमी नाका सुचारु भए मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्ने बताए ।

व्यवसाय मात्रै नभई पर्यटनको ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको सुदूरपश्चिमका पर्यटन व्यवसायी बताउँछन् । भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल सुदूरपश्चिमबाट तीन सय ५० किमिको दूरीमा रहेको छ । जसका कारण यो नाकाबाट आउने तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको कञ्चनपुर होटेल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्ट बताउँछन् ।

उनका अनुसार सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले सुदूरपश्चिमको पर्यटन फष्टाउन नसकेको हो ।

‘महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रुपमा आउन जान सक्छन्’, उनले भने, ‘महाकाली नदी आफैँमा पर्यटकीय गन्तव्य बन्न यहाँ होटेल खुल्छन् र आर्थिक गतिविधि बढ्नेछन् ।’

भट्टले भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले महाकाली पुलले ठूलो टेवा पुग्ने बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल महाकाली पुल र सुख्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउँछन् ।

‘यो नाका सुचारु भए भारतका औद्योगिक सहरबाट कम लागतमा वस्तु आयात गर्न सकिन्छ’, उनी भन्छन्, ‘नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।’ मल्ल यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताउँछन् ।

सुख्खा बन्दरगाह निमार्णसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गाकर्ण अवस्थीले बताए ।

‘यो नाका सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ,’ अवस्थीले भने, सुदूरपश्चिम औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउछ ।’

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र सुदूरपश्चिमबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन् ।

‘बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले भारतबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्व तयारीमा लाग्न जरुरी छ’, उनी भन्छन्, ‘सुदूरपश्चिमका उत्पादनहरु निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ ।’ अर्कोतर्फ नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेकाले धार्मिक पर्यटनको विकास हुने अवस्थी बताउँछन् ।

सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले सुदूरपश्चिमका हरेक पालिकामा औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने र सरकारले कृषिमा बढी लगानी गर्नुपर्ने उनले बताए । महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । पुलको छेउमै पर्यटकका लागि मानव निर्मित ताल निमार्ण निर्माणधीन अवस्थामा छ ।

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चारलेनको पुल निमार्णको काम सम्पन्न भएको बताए । ‘पुलसँगै निर्माण भएका पहुँच मार्ग पनि कालोपत्रे भइसकेको छ’, उनी भन्छन्, ‘पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।’

उनका अनुसार पुलको उत्तरपट्टी एक वर्गकिलो मिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ०.३ किलोमिटरका दुई गरी चार पोखरी निर्माण हुँदैछ । अहिले पोखरीका लागि बाँध बाध्ने काम भइरहेको छ ।

‘पोखरीको बीचमा तीनरतीन टापु बन्छन्, पोखरीमा डुङ्गा चढेर आउन जान सकिनेछ’, उनले भने, ‘पोखरी पर्यटकको लागि आकर्षण गन्तव्य बन्नेछ ।’ तीन अर्ब ६६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैत्रभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्