Shikhar Insurance

वैदेशिक रोजगार बचतपत्रबाट राष्ट्र ऋण उठाउन किन धौधौ पर्छ सरकारलाई ?

५० करोड माग गर्दा २ करोडको मात्र आवेदन
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार ०९:०८
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो वैदेशिक रोजगार बचतपत्रमा आह्वानको ४ प्रतिशतमात्र माग भएको छ । नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेकामा कुल २ करोड रुपैयाँको मात्र माग परेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार आन्तरिक ऋण उठाउने औजारमध्ये वैदेशिक रोजगार बचतपत्रमार्फत् ५० करोड रुपैयाँ आह्वान गर्दा २ करोडको मात्र माग परेको छ । वार्षिक १० प्रतिशत ब्याज दिइ ५ वर्षपछि सावाँ भुक्तानी गर्ने गरी माघ ९ गते बचतपत्र बिक्री खुला गरेकामा अति कम माग भएको हो । बचतपत्रको बिक्री फागुन २ गते नै बन्द भइसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो बचतपत्रमा वैदेशिक रोजगारीमा गएका व्यक्ति, उसको परिवार वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिनामात्र भएको व्यक्तिले माग गर्न सक्छ । राज्यले आन्तरिक ऋण उठाउने औजारमध्ये वैदेशिक रोजगार बचतपत्र एक हो जसको व्यवस्थापन केन्द्रिय बैंकले गर्छ ।

वैदेशिक रोजगार बचतपत्रमा विगतदेखि नै कम माग हुँदै आएको छ । केन्द्रिय बैंकका अनुसार वैदेशिक रोजगारीमा गएको व्यक्तिको कमाइ मुख्यगरी घरपरिवारको आवश्यकता गुजारा गर्न खर्च हुने भएकाले यस्तो बचतपत्रको कम माग हुँदै आएको छ । यस्तै कमाएको रकम विदेश जाँदा लाग्ने ऋण तिर्न र घरायसी आवश्यकता जोड्न खर्च गर्ने भएकाले उसको कम बचत हुने गर्छ ।

वैदेशिक रोजगार बचतपत्रमा आह्वान अनुसार माग नभएपछि राज्यको आन्तरिक ऋण उठाउने चक्रमा हेरफेर हुने गरेको छ ।

यसो हुँदा केन्द्रिय बैंकले यसको विकल्प सोच्नुपर्ने अवस्था आएको देखिएको छ । केन्द्रिय बैंकले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर उच्च राखेर ऋण आह्वान गर्दा पनि सोचेअनुसार धेरै बिक्री नभएको अनुभव छ ।

नागरिक बचतपत्र भने ओभरसब्स्क्राइब

वैदेशिक रोजगार बचतपत्रमा आह्वान अनुसार माग नपर्दा नागरिक बचतपत्र भने समयअगावै ओभरसब्स्क्राइब हुने गरेको छ । पछिल्लो अर्थात् गत माघ २७ गते खुला गरिएको २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रमा आह्वान रकमभन्दा अधीक माग भएपछि बिक्री बन्द गरिएको छ ।

नागरिक बचतपत्रमा वैदेशिक रोजगार बचतपत्रभन्दा १ प्रतिशत कम अर्थात् ९ प्रतिशतमात्र ब्याज केन्द्रिय बैंकले दिने गरी ल्याएको थियो । केन्द्रिय बैंकको खुला बजार सञ्चालक समितिको निर्णयले नागरिक बचतपत्र विक्री बन्द गरेको हो ।

राष्ट्र बैंकले माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बिक्री खुला गरेकोमा फागुन १२ गतेसम्ममा माग भन्दा बढिको आवेदन परेपछि बिक्रि बन्द गरेको जनाएको छ ।

५ वर्ष अवधिका लागि ९ प्रतिशत ब्याजदर पाइने भएकाले बचतपत्रमा लगानीकर्ताको आकर्षण छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्