Shikhar Insurance

सात अर्ब दुई करोड लागतको मयुरधाप औद्योगिक क्षेत्रको निर्माण आरम्भ, १० हजारलाई रोजगारी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन १४, शुक्रबार २१:०४
NIMB
Nabil Bank

मकवानपुर । हेटौँडा उप महानगरपालिका–१४ मयुरधापमा औद्योगीक क्षेत्र निर्माण कार्य आरम्भ भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन । सङ्घीय सरकारले विसं २०७२ साल चैत्र १ गते मयुरधापमा नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेको थियो ।

उक्त औद्योगिक क्षेत्रमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा गरी १९९ बिगाहा १७ कट्ठा सरकारी जग्गा सङ्घीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा पनि हस्तान्तरण गरिसकिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । सो क्षेत्रमा २०७५ साल कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको पनि बताइएको छ ।
कार्यक्रम मन्त्री भट्टले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी निर्यातमुखी उद्योगलाई आत्मनिर्भर बनाउन सङ्घीय सरकारले मौजुदा ऐन कानूनलाई परिमार्जन गरी उद्योगलाई अघि बढाउने लक्ष्य रहेको बताए । उनले अर्थतन्त्रलाई गतिशील आत्मनिर्भरमुखीतर्फ उन्मुख गराउन सङ्घीय सरकारले प्रत्येक प्रदेशमा नयाँ–नयाँ औद्योगिक क्षेत्रको विस्तार गर्न लागिएको र बहुराष्ट्रिय कम्पनीका उद्यमीलाई पनि यहाँ शान्तिसुरक्षा प्रदान गर्न जग्गा र भौतिक सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशित गरिसकिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा औद्योगिक क्षेत्रलगायत मयुरधाप औद्योगिक क्षेत्रलाई अब औद्योगिक जिल्लाको रुपमा घोषणा गर्ने र बहुराष्ट्रिय कम्पनी, विभिन्न उद्यमीहरुलाई यहाँ नयाँ–नयाँ उद्योग स्थापन गर्न प्रदेश सरकारले भौतिक सुविधायुक्त सेवाहरु उपलब्ध गराउँदै लैजाने नीति रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले मुलुकको अर्थतन्त्रलाई सुदृढ पार्न र आत्मनिर्भरमुखी उद्योग स्थापना गर्न सङ्घीय सरकारले मझौला, घरेलु उद्यमी र उद्योग व्यवस्थापकलाई भौतिक सुविधा उपलब्ध गराउने र उद्योग सञ्चालन नभएको अवस्थामा सरकारलाई तिर्नुपर्ने विभिन्न करलाई केही प्रतिशतसम्म मात्र भए पनि मिनाहा दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले सङ्घीय सरकारद्वारा स्थापना गरिएको मयुरधाप औद्योगिक क्षेत्रको आगामी दुई वर्षभित्र भौतिक पूर्वाधार विकासको निर्माण गर्ने र उक्त औद्योगिक क्षेत्रमा नयाँ–नयाँ उद्योगहरु स्थापना गर्ने उद्यमीहरुलाई आगामी पाँच वर्ष भित्रसम्ममा जग्गा भाडामा लिने रकम पूरै छुट दिने घोषणा गरे । उनले उक्त औद्योगिक क्षेत्रमा ६२ वटा प्लटिङ छुट्याइ प्रत्येक उद्यमीहरुलाई उद्योग स्थापना गर्ने जग्गा, विद्युत्, बाटो, पिउने पानी र आवश्यक भवनहरु निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री भट्टले मयुरधाप औद्योगिक क्षेत्रको स्थापनका लागि योगदान गर्ने तत्कालीन संविधानसभाका सदस्य अनन्तप्रसाद पौडेललाई दोसल्ला ओढाई सम्मान गरेका थिए । मयुरधाप औद्योगिक क्षेत्रमा पूर्वाधार विकासका लागि सात अर्ब दुई करोड १४ लाख सरकारी क्षेत्रबाट लगानी गरी निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने लक्ष्य रहेको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए ।

निकट भविष्यमा सो औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी सञ्चालन हुँदा प्रत्यक्ष/अप्रत्यक्ष गरी १० हजार व्यक्तिले रोजगारका अवसर प्राप्त गर्ने भएको बताइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्