Shikhar Insurance

अरुण तेस्रोले दिएन कन्स्ट्रक्सनको एक करोड भुक्तानी, सुरक्षागार्डको दुई वर्षदेखि बाँकी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार १९:००
NIMB
Nabil Bank

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले बताए ।

अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ । सोही कम्पनीसँग रौताहा कम्पनीले रु २० करोडको पेटी ठेक्कामा काम गरेको थियो । त्योमध्ये रु १७ करोड अरुण तेस्रोले भुक्तानी दिएको तर रु एक करोड ४९ लाख ९० हजार ६६ भुक्तानी लिन बाँकी रहेको निर्देशक थापाले जनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

काम सम्पन्न गरेर पटकपटक भुक्तानीका लागि धाउँदा पनि भुक्तानी गर्न आलटाल गरिरहेको, गत कात्तिक १ गते रु ८६ लाखको भ्याट बिल काटेर पनि अहिलेसम्म भुक्तानी नपाएको समेत निर्देशक थापाले बताए ।
निर्देशक थापाका अनुसार रौताहा कम्पनीले अरुण तेस्रोमा विसं २०७५ भदौदेखि काम शुरु गरी २०७६ साउनभित्र तोकिएबमोजिमको काम सम्पन्न गरेको थियो । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दासमेत बेवास्ता गरेपछि मजदूरलाई भुक्तानी दिन नसकिएको र बैंकले समेत धितो लिलाम गर्ने अवस्था आएको छ निर्देशक थापाले भने

 

सुरक्षागार्डले पनि पाएनन् दुई वर्षदेखि भुक्तानी

अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा काम गर्ने सुरक्षागार्डले दुई वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । आयोजनाले गरुड सुरक्षागार्ड कम्पनीका सुरक्षागार्डलाई दुई वर्षदेखिको भुक्तानी नदिएको गरुड सुरक्षागार्ड कम्पनीका प्रदेश नं १ का प्रमुख देवराम राईले जनाए ।

अरुण तेस्रोले ९ लाखभन्दा बढी रकम भुक्तानी नदिएको राईले जानकारी दिए । अरुण तेस्रोमा अन्य निर्माण कम्पनी र मजदूरलाई समेत समयमा तलब, भत्ता नपाएको बताइएको छ । अरुण तेस्रोले समयमा पारिश्रमिक र काम गरेको पैसा नदिएको भन्दै पटकपटक आन्दोलन हुने गरेको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय एसजेविएन सतलज कम्पनी गरिरहेको छ । उक्त अरुण तेस्रो जलविद्युत् आयोजना मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइट र चिचिला गाउँपालिका–३ पुखुवामा पावारहाउस निर्माण भइरहेको छ ।

उक्त अरुण तेस्रो परियोजनामा कूल रु एक खर्ब ४४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्