लय समाउँदै पर्यटन क्षेत्र: होटलहरू भरिभराउ, सगरमाथामा नयाँ रेकर्ड

सिबी अधिकारी
२०८० बैशाख २७, बुधबार १४:५७

काठमाडौं। सन् २०२३ को चार महिनाको अवधिमा ३ लाख २६ हजार ५ सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को समीक्षा अवधिमा विदेशी पर्यटक आगमन १ सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म १ लाख ४० हजार ३ सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा ३ लाख २६ हजार ५ सय २७ पर्यटक आएका छन् ।

कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा ४ लाख २० हजार ४ सय ४६ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा २ लाख २० हजार ६ सय ८२, सन् २०२१ मा ५५ हजार ४ सय ४७ र सन् २०२२ मा १ लाख ४० हजार ३ सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विदेशी पर्यटक आगमन, होटल पूर्वाधार र गन्तव्यहरूको भीडभाडले मुलुकको पर्यटन पुरानै लयमा फर्केको संकेत गर्छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि पर्यटन लगभग पुरानै लयमा फर्किएको बताउँछन् । “विदेशी पर्यटक आगमन, पर्वतारोहणमा देखिएको उत्साह र पर्यटकीय गन्तव्यको चहलपहलले मुलुकको पर्यटन लयमा फर्केको संकेत गर्छ, आक्रामक बजारीकरणलाई तीव्रता दिएर ‘वान स्टप डेस्टिनेसन’ लाई प्राथमिकता दिएको खण्डमा छिट्टै पर्यटन पुनरुत्थान हुने देखिन्छ”, उनले भने ।

निर्देशक लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । “चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ”, उनले भने । पर्यटन क्षेत्रलाई थप गतिशील र चलायमान बनाउन प्रभावकारी बजारीकरण गन्तव्यको ‘रिब्रान्डिङ र रिपोजिसिनिङ’ गर्नुपर्ने आवश्यकता रहेको निर्देशक लामिछानेले उल्लेख गरे ।

विश्व पर्यटनको प्रक्षेपण के छ ?

विश्व पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ । सङ्गठनको सन् २०२३ को जनवरी १७ को प्रक्षेपणअनुसार सन् २०२३ मा ८० देखि ९५ प्रतिशतसम्म नेपालको पर्यटन पुनरुत्थान हुने जनाइएको छ । यस अवधिमा युरोप र मध्यपूर्वी मुलुकको पर्यटन पुनरुत्थान अर्थात् महामारीपूर्व सन् २०१९ कै दाँजोमा आउने भनिएको छ ।

विश्वव्यापी रूपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ । पछिल्लो समय व्यक्तिहरूको प्रवृत्ति पनि नजिकका गन्तव्यहरू जाने बढेको र चीन गन्तव्य पनि खुलिसकेकाले नेपालको पर्यटन पुनरुत्थान हुने सङ्गठनले उल्लेख गरेको छ । विदेशी पर्यटक आगमन मात्रै हैन पर्वतारोहणमा पनि उत्साहवर्द्धक रूपमा विदेशी आएका छन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् ।

सगरमाथामा इतिहासकै बढी आरोही

पर्यटन विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वसन्त ऋतुको यो याममा ४४ आरोही समूहका ९८ महिला र ३ सय ६९ पुरुष गरी कूल चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका छन् । यो वैशाख २६ गतेसम्मको तथ्याङ्क हो । अझै अरोही सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड ५९ लाख राजस्व सङ्कलन भएको छ । आरोहण अनुमति लिएको अधिकांश आरोही सगरमाथा आधार शिविर र त्यसभन्दा माथितिर आरोहणका लागि अनुकूल मौसमको प्रतीक्षामा छन् । आइसफल डाक्टरले सगरमाथाको चौथो शिविर अर्थात् साउथ कोलसम्म बाटो खुलाइसकेका छन् । प्रतिकूल मौसमका कारण सात हजार पाँच सय मिटरमाथि तीव्र वेगले हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन ।

हवाई उडान लयमा

मुलुकको हवाई उडान पनि पुरानै लयमा फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फ दुईतर्फी करिब तीन सय उडान भइरहेको छ भने आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनी र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २७ वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित ५४ विमानस्थल छन् । यीमध्ये १८ विमानस्थल सञ्चालनमा छैनन् । दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो बिजनेस पाएका छैनन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ऋणभार बढिरहेको छ । करिब ४८ अर्ब ऋणमा रहेको निगमले जहाज थपेर गन्तव्य विस्तार गर्न सकेको छैन ।

आर्थिक सङ्कटकै बीच निगमले आन्तरिक उडानमा थप तीन नयाँ जहाज खरिद गर्ने योजना बनाएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान ‘वाइड बडी’ र दुई थान ‘न्यारो बडी’ जहाज छन् । आन्तरिकमा हालमात्र दुई ट्विनअटर जहाज छन् । आक्रामक बजारीकरणलाई ध्यान दिएको पर्यटन बोर्डले भारत र बङ्गलादेशको साथसाथै चीन गन्तव्यलाई पनि लक्षित गरेर व्यापक बजारीकरण गरिने जनाएको छ । युरोप र अमेरिकाको पर्यटन लयमा फर्किसकेको छ । एसियाली मुलुकको पर्यटन पुनरुत्थानको दिशामा छ ।

चिनियाँ पर्यटक बढे

पछिल्लो समय चीनबाट हूलका हूल पर्यटक नेपाल आइरहेका छन् । कोरोना महामारीपछि चीनबाट जहाज चार्टड उडानमार्फत एक सय ८० चिनियाँ पर्यटक नेपाल आएका थिए । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए।

काेरोनापूर्व चीनबाट २ लाख ७० हजार हाराहारी पर्यटक भित्रिएका थिए । पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहवर्द्धक रूपमा बढेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । उनका अनुसार फेब्रुअरीमा करिब १ हजार ८ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर २ हजार ६ सय पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर ४ हजार ७ सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।

चीनबाट नेपालको उडान पनि थपिएको छ । भारत र बंगलादेश लक्षित बजारीकरणले ती देशबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आएको निर्देशक लामिछानेले बताए । उनले चीनको नाका खुलेको र उडान पनि सञ्चालन भइसकेकाले अब चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो याममा सगरमाथा आरोहणमा देखिएको उत्साह र सगरमाथाको ७०औं वर्षगाँठको दौरानमा हुने गतिविधिले नेपालको पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले बिस्तारै लयमा फर्किएको पर्यटनलाई थप गतिशील बनाउन प्रभावकारी प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए। हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।

पाँचतारे र चेन होटल वृद्धि

नेपालमा झन्डै ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार बनिसकेको छ । पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी १० हजार हाराहारी होटल छन् । होटल सङ्घ नेपाल (हान) का अनुसार एक डिलक्ससहित १८ वटा पाँचतारे होटल छन् भने अबको डेढ वर्षभित्र १८ देखि २० वटा पाँचतारे होटल थपिँदैछन् । दुई दर्जन बढी चेन होटल पनि सञ्चालनको तयारीमा छन् ।

हानका अध्यक्ष विनायक शाहका अनुसार कोरोना महामारीले प्रभावित बनेको नेपालको पर्यटन बिस्तारै लयमा फर्किरहेको छ । नेपाल मात्र नभई विश्वव्यापी रुपमै पर्यटन पुनरुत्थानको बाटोमा छ । कोरोना महामारीको असर न्यून भएको आजको अवस्थामा पनि विश्वको पर्यटन पूर्णरूपमा पुनरुत्थान भइसकेको छैन । आजका दिनमा सबै देशलाई पर्यटक चाहिएको छ । किनभने पर्यटन यस्तो एउटा क्षेत्र हो जसका कारण अन्य कैयन क्षेत्रको विकास सम्भव छ ।

पर्यटक होटलको सुङ्ख्याको तुलनामा पर्यटकको सङ्ख्या भने पर्याप्त छैन । आजका दिनमा होटल ३० प्रतिशत ‘अकुपेन्सी’मा सञ्चालन भइरहेका छन् । सञ्चालन खर्च धान्नका लागि मात्रै पनि कम्तीमा ३८ प्रतिशत अकुपेन्सी आवश्यक पर्छ । आजका दिनमा हामीसँग कोरोना महामारीभन्दा अघिको जत्तिको पनि पर्यटक आएको अवस्था छैन । “अब हामीले पर्यटक बढाउनका लागि प्याकेज ल्याउन सक्नुपर्छ । तीन वर्षसम्म पर्यटक नआएपछि होटलका कोठाहरू खाली भए भने आम्दानी नभएपछि बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज तिर्न पनि नसक्ने अवस्था भयो । गत आर्थिक वर्षसम्म त सरकारले मौद्रिक नीतिमार्फत सम्बोधनको प्रयास गरेको थियो तर चालु आवदेखि त्यो पनि छैन । त्यसैले अहिलेको समस्या समाधानका लागि हामीले सरकारसमक्ष आफ्ना समस्या राखेका छौं”, उनले भने ।

लगानीको प्रतिफल कहिले ?

होटलमा सरकारको वार्षिक बजेट जत्तिकै अर्थात् १७ देखि १८ खर्ब रुपैयाँ लगानी भएको छ । सन् २०२२ मा करिब छ लाख पर्यटक आएका छन् । तर होटलको क्षमता भने ३५ लाख पर्यटक धान्ने छ । यस्तो अवस्थामा आन्तरिक पर्यटक केही बढे पनि होटलले आम्दानी लिन सकेका छैनन् । यस्तो अवस्थामा होटलमा भइरहेको लगानी जोगाउनका लागि तत्कालै पोखरा र भैरहवाका विमानस्थल राम्रोसँग सञ्चालन गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ ।

उनले भने, “विमानस्थल बनाउने तर सञ्चालन नै गर्न सकिएन भने अर्थ हुँदैन । हामीले राष्ट्रिय ध्वजावाहक विमान पनि चलाउन सकेका छैनौँ । विमानस्थल नै नचल्ने हो भने हामीले ३५ लाख पर्यटक ल्याउन पनि त सक्दैनौँ । यसमा सरकारी संयन्त्रबाटै पर्याप्त मार्केटिङ नभएको हो कि भन्ने पनि लाग्छ । यसका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ ।”

गन्तव्य भरिभराउ

आन्तरिक पर्यटकले प्रमुख पर्यटकीय क्षेत्र राजधानीको ठमेल, उपत्यकाबाहिर पोखरा, चितवन, लुम्बिनीलगायत अन्य गन्तव्य पनि स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ छन् । पर्वतारोहण, पदयात्रा र घुमफिरका लागि अहिले उल्लेख्य सङ्ख्यामा पर्यटक निस्किएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवि शर्माले समग्रमा मुलुकको पर्यटन लयमा फर्किरहेको र पर्यटन व्यवसायीमा पनि उत्साह जगाएको बताए । “पर्यटन विस्तारै लयमा फर्किंदैँ गरेको छ, व्यवसायी पनि सकारात्मक ऊर्जाका साथ काम गरिरहनुभएको छ । ठमेल क्षेत्रमा हेर्ने हो भने आजको दिनमा करिब ८० प्रतिशत अकुपेन्सी छ, चिनियाँ पर्यटक पनि बढिरहेका छन्”, उनले भने ।

प्रवर्द्धन प्रभावकारी बनाइनुपर्ने

पर्यटनलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर जानुपर्नेमा उहाँको जोड छ । उनले भने, “पर्यटन प्रवर्द्धनको जिम्मा लिएको प्रमुख निकाय पर्यटन बोर्डले राम्रो भूमिका खेल्नुपर्ने थियो तर त्यहाँ नेतृत्व र सञ्चालक समितिका सदस्यहरुले प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने हामी व्यवसायीलाई लागेको छ ।”

ट्रेकिङ एजेन्सिज एसासिएसन अफ नेपाल (टान) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)ले पनि लयमा फर्किंदै गरेको पर्यटनलाई प्रभावकारी बजारीकरण र आकर्षक प्याकेजका साथ अन्तर्राष्ट्रिय गन्तव्यमा जानुपर्ने खाँचो औँल्याएको छ । टानका अध्यक्ष नीलहरि बास्तोलाले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी बनाइनुपर्ने उल्लेख गरे । नाट्टाका अध्यक्ष रमेश थापाले पनि पर्यटनलाई चाँडो पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।रासस

प्रतिक्रिया दिनुहोस्