Shikhar Insurance

उद्योगलाई कारवाही गर्न माग गर्दै वीरगञ्ज-काठमाडौं पैदल यात्रा, यीनलाई हुँदैछ कारवाही

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ६, शनिबार १२:०१
NIMB
Nabil Bank

वीरगञ्ज । पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियनता सरोजराय यादवले बताए ।

वीरगञ्जबाट सुरु भएको पैदलयात्रा ११ औँ दिनमा राजधानी काठमाडौँ पुग्ने र सिंहदरबार अगाडि सिर्सिया नदीको पानी पोखेर विरोध जनाउने कार्यक्रम तय भएको उनले जानकारी दिए । यसपछि पनि सरकारले ध्यान नदिए माइतीघरमा धर्ना बस्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले पनि अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहर गर्नेलाई महानगरपालिकाले जरिवानासमेत गरिसकेको छ ।

पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको छ । महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारीअनुरुप मरियम लेदरसहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ ।

सिर्सिया नदीलाई फोहररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाले जथाभावी फोहर नफ्याँक्न पटक पटक आग्रह गरेपनि उद्योगीले बेवास्ता गर्दै आएकाले कारबाही गर्न लागेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए ।

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको अनुगमनसमेत गरेको थियो । महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहर व्यवस्थापन गर्न उद्योगीहरुलाई सुझाव दिएपनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै हेर्ने गरेकाले अब सिधै कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज सहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहर पर्दाथ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशकयतादेखि प्रदूषित बनेको हो ।

छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदि प्रदूषित र दुर्गन्धित बनेको हो । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्