Shikhar Insurance

सीमित व्यक्ति र व्यवसायीको फाइदाका लागि मबाट केही हुँदैनः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ६, शनिबार १४:०७
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । शनिबार सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भने–‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।’

Citizen Life
Kumar Bank

उनले स्वदेशमै उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राखिएको पनि बताए । ‘नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं’, मन्त्री डा. महतले भने, ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

अर्थमन्त्री डा महतले आफु ठूलो स्वरमा कुरा गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । ‘म ठूलो स्वरमा कुरा गर्दिन । सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन् । धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ’, डा. महतले भने ।

उनले बजेट कार्यान्वयन देशको लागि सबै भन्दा ठूलो चुनौती बनेको पनि बताए । ‘कार्यान्वयन हाम्रो मूल चुनौति हो । ९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । ९ महिनासम्म के गरेर बस्यो ? बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गछौं । यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं । यसबारे गृहकार्य भइरहेको छ ।’, डा. महतले भने ।

मन्त्री डा. महतले अघि भने, ‘यो भयो भने हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्छ । पूँजी प्रवाह बढ्छ, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु । समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’
उनले राजश्व कम संकलन भैरहेका ठाउँमा आफुले मसिनो गरि अध्ययन गरिरहेको पनि बताए । ‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौ । राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु । ती कुरालाई हामी सुधार गर्छौ । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन’ अर्थमन्त्री डा. महतले भने ।

उनले वैदेशिक ऋणबाट अर्थतन्त्रमा योगदान भैरहेको छ वा छैन भनेर समेत अध्ययन गर्नुपर्ने समय आईसकेको बताए । ‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ ।’

उनले स्रोतमाथि चौतर्फी दबाव रहेको पनि खुलासा गरे । ‘हाम्रो सावाँ व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ । पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ । मेरो आधारसहितको तर्कलाई माननीयज्यूहरुले बुझिदिनु हुनेछ ।’

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए । अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्