Shikhar Insurance

पटक-पटक म्याद थप्दापनि बनेन सर्लाहीका सडक, ठेकेदारको लापर्वाहीले जनता बेहाल

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३, मंगलवार १८:३९
NIMB
Nabil Bank

सर्लाही । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवाबाट छिमेकी जिल्ला महोत्तरीसँग जोड्ने शितलपुर हर्दी खोलासम्मको सडक जीर्ण अवस्थामा छ ।

सडक निर्माण पूरा नहुँदा यस सडक हुँदै यात्रा गर्ने सर्वसाधारण दुर्घटनाको जोखिममा पर्नुको साथै धुल्लामे हुँदै आएको छ । यात्रा कष्टकर बनेको छ । हेमडुङ्ग एण्ड थोकररहीरा एण्ड नमिता जेभी कम्पनीले मलङ्गवाबाट महोत्तरीको सिमाना शीतलपुर हर्दी खोलासम्मको १५ किलोमिटर सडकको निर्माण तीन वर्षमा सम्पन्न गरिसक्ने भनी ठेक्का लिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

ठेकेदार कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसक्दा पनि २५ प्रतिशत कामसमेत नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विगत एक वर्षदेखि निर्माणमा खटिएका निर्माण व्यवसायी काम नै छाडेर बेपत्ता भएका ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए ।

काममा हेलचक्राइँ गर्ने निर्माण व्यवसायीमाथि स्थानीय प्रशासन तथा मातहतका निकायले निगरानी गरिरहेको भए पनि निर्माण व्यावसायी सम्पर्कविहीन हुँदा निर्माणबारे बुझ्न नपाएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए ।

उक्त सडक सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी हिलाम्मे हुने गरेको छ । सर्लाहीबाट छिमेकी जिल्ला महोत्तरीको सिमाना हर्दी खोलासम्मको सवारी दूरी करिब २० मिनेटको रहेको भए पनि सडकको निर्माण नहुँदा घण्टौँ लाग्ने गरेको छ । जीर्ण सडकका कारण दिनदिनै सवारीसाधन बिग्रेर आफू हैरान भएको सवारी चालकको गुनासो छ ।

स्थानीय निकायले निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको ध्यानाकर्षण गराएको भए पनि ठेकेदारको माथिल्लो तहमा सम्बन्ध रहेका कारण त्यसको कुनै सुनुवाइ नभएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । सङ्घीय संसद्मा पुगेका जनप्रतिनिधिले यस सडकको स्तरोन्नतीका लागि ठेकेदारलाई ध्यानाकर्षण गराउनेलगायत काम नगरेको स्थानीयको आरोप छ । बजेटको सुनिश्चिता हुँदाहुँदै पनि ठेकेदारले बदमासी गरिरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

स्थानीय दश गाउँका बासिन्दाका लागि किनमेल गर्ने सबैभन्दा नजिकको बजार सदरमुकाम मलङ्गवासम्म पुग्ने मुख्य सडकखण्ड हुलाकी सडक भए पनि निर्माण नहुँदा छिमेकी भारतका बजारमा जानुपर्नै बाध्यता छ । भारतबाट सर्लाही हुँदै महोत्तरी पुग्ने मुख्य सडककोरुपमा रहेको हुलाकी सडकको अवस्था स्तरोन्नति हुनुको सट्टा दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्