Shikhar Insurance

डढेलोले वन सखापः बस्ती पनि असुरक्षित

सिंहदरबार संवाददाता
२०७७ चैत्र १४, शनिबार १२:३५
NIMB
Nabil Bank

महोत्तरी । चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो । बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन् । डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको बर्दिवास–५ गणन्ताका सामाजिक कार्यकर्ता कहरमान स्याङ्वाले बताउनुभयो । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।

जिल्लाको सघन वन क्षेत्रमा चार ठाउँ वन सुरक्षा पोष्ट र बाँके मरहा साझेदारी वनको कार्यालय नै भए पनि डढेलो नियन्त्रणमा भने उदासिनता देखिएको सर्वसाधारणको गुनासो छ । फागुन मध्यदेखि नै वनमा डढेलो देखिन थाल्छ । घाँसे, दाउरे र गोठालाले डढेलो लगाउने गरेका वनसम्वद्ध सरकारी सेवाबाट अवकास लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादवले बताए । फागुन÷चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने बिश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको सहायक वन अधिकृतको सेवाबाट अवकास लिनु भएका यादवको अनुभव छ ।

पूर्वपश्चिम राजमार्गको भव्सी नदीदेखि पश्चिममा बाँके नदीसम्मको १६ किलोमिटर दूरीको दुवैतिर सघन वन क्षेत्र छ । वनसँगै जोडिएका बर्दिवासका हाथिलेट फार्लाइन, लटियानी, भव्सी, माईस्थान, वरडाँडा, चेरु, गणन्ता, ढुङ्ग्रे, सोनापेटी, खयरमारासहित दर्जनभन्दा बढी बस्ती छन् । त्यसैगरी गौशाला नगरपालिकाका पनि ढल्केवर, बेलगाछी, भण्टाबारी, लक्ष्मीनियाँ, कालीपुरसहितका बस्ती पनि वनसँगै जोडिएका हुँदा डढेलोले गर्दा यी बस्ती आगलागीको उच्च जोखिममा रहेका गौशाला–१० बटौवाका २५ वर्षीय युवा विवेककुमार कुशवाहाको चिन्ता छ ।

जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । वनक्षेत्रमा बढेको अनधिकृत अतिक्रमण र डढेलोले गर्दा अहिले मुस्किलले १६ हजार हेक्टरको सेरोफेरोमा मात्र वन बाँकी रहेको कार्यालयका अधिकृत नै बताउँछन् ।

पछिल्ला केही वर्षयता सुरक्षा तरलताले वन क्षेत्र रुखबिहीन बन्दै गएका वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउँछन् । वनका रुख मानव प्रयोगका भएका र यी बुढा भएर धोद्रिएपछि उपयोगविहीन हुने यादवको भनाइ छ । त्यसैले पाका रुख काटने र नयाँ रुख रोप्ने वैज्ञानिक प्रणाली नबसालेसम्म साँचो अर्थमा रुखको उपयोग र वन संरक्षण हुन नसक्ने यादवको ठहर छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले वन क्षेत्रको नियमित गस्ती र कारवाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा तथा जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली परिचालन गरिने जानकारी दिए । कुनै पनि निहुँमा वन क्षेत्र सखाप पार्ने कामले छुट नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्