Shikhar Insurance

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १०:०२
NIMB
Nabil Bank

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण शुरु गरेको बताए ।

“पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो”, यादवले भने, “आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।” आगामी आर्थिक वर्ष २०७८÷७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ । हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ । पन्ध्र किलोमिटर दू्रीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो । रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्