Shikhar Insurance

मुस्ताङको कैकु–खन्ती खण्ड कालोपत्र भएपछि एक घण्टा अवधि छोटियो

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार १०:२२
NIMB
Nabil Bank

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो । योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि एक घन्टा ३० मिनेटको यात्रा अवधि आधा घन्टामा छोटिएको जानकारी दिए।

Citizen Life
Kumar Bank

“कैकुखोला–खन्ती सडक कालोपत्र भएपछि एक घन्टा यात्रा अवधि छोटिएको छ”, उनले भने, “मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।”

११ मिटर फराकिलो बनाइएको उक्त सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवतजावत सहज भएको स्थानीयवासीले बताएका छन् । मालढुंगादेखि कोरला नाकाको दुई सय दुई किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ प्याकेजमध्ये कैकु–खन्ती खण्ड पूर्णरुपमा कालोपत्र गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्तीसहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग २ अर्ब ५० करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । विसं २०७४ मा सुरु भएको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण कार्य जारी छ । हालसम्म मुस्ताङको सात खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

यस्तै एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छ खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेको योजना प्रमुख जगत प्रजापतिले बताए। आठ पक्की पुल र तीन बेलिब्रिज निर्माण गरिएको छ। थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्र मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्