‘अहिलेकै अवस्थामा फाइनान्स कम्पनीहरुको भविष्य संकटमा छ, लोप हुन सक्छन्’

अजय मिश्र
२०७७ चैत्र २६, बिहीबार १२:४२

युनाइटेड फाइनान्स कम्पनीका सिईओ हुन्, अजय मिश्र । साधारणसभाबाटै मर्जरको निर्णय गरेर बसेको कम्पनीमा आउनु अघि मिश्र जनता बैंकमा डेपुटी सिईओ थिए । आफुले नेतृत्व गरेका पाँच संस्थालाई मर्जरमा पठाएको बताउने मिश्र अपवाद बाहेकका अवस्थामा आफु ‘सेकेण्ड म्यान’ भएर नबसेको र अब पनि नबस्ने बताउँछन् ।

नेपालमा फाइनान्स कम्पनीहरुलाई कसरी अघि बढाउने भन्ने विषयमा कानुन बनाउने सांसददेखि कार्यान्वयन गर्ने नियामकसम्म अलमलमा रहेको बताउने उनै मिश्रसँग सिंहदरबारले फाइनान्स कम्पनीहरुको वर्तमान र सम्भावित भविष्यका बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ, उनै मिश्रसँग गरिएको कुराकानीको संक्षेप :

फाइनान्स कम्पनीहरुले कन्जुमर फाइनान्सिङमा काम गर्ने भनेर लाइसेन्स दिईएको थियो, अहिले बाणिज्य बैंकहरुले एक लाखको ऋण दिन्छन्, २५ हजारको मोबाइललाई ऋण दिन्छन्, फाइनान्स कम्पनीहरुले पनि २५ करोडका कन्सोर्टियम फाइनान्सिङ गर्न थालेका छन् । उद्देश्य अनुसार कसैले काम गरेनन् । एउटै प्ले ग्राउण्डमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले उस्तै कर्जा र निक्षेपमा लडाई गरिरहेका छौं ।
– फाइनान्स कम्पनीहरुको सबै ऋण वाणिज्य बैंकहरुले तानिरहेका छन् । यहि अवस्था रहेमा विकास बैंक र फाइनान्स कम्पनीहरु आत्म समर्पण गर्दै वाणिज्य बैंकहरुमा विलय हुन बाध्य बन्दैछन् । विकास बैंक र फाइनान्स कम्पनीहरु लोप हुन अवस्था आउनेछ ।
– फाइनान्स कम्पनीहरुलाई हात खुट्टा बाँधेर बाणिज्य बैंकहरुसँग प्रतिष्पर्धा गर्न पठाईएको छ । सरकार र राष्ट्र बैंकको दीर्घकालिन सोँच के हो भन्ने नै थाहा छैन् ।
– फाइनान्स कम्पनीहरु कति समय रहन्छन् ? नियामकले राख्न चाहेको हो की होइन स्पष्ट हुनुपर्छ ।
– हामीलाई सरकारी निक्षेप नदिने, हाम्रो बैंक ग्यारेन्टीले मान्यता नपाउने भन्ने पनि हुन्छ ? एलसी खोल्न नदिने किन ? हामीलाई राष्ट्र बैंकले लाइसेन्स दिएर नियमन गरिरहेको होइन र ?
– हामी भन्दा १० गुणा बढी चुक्ता पुँजी भएका बाणिज्य बैंकसँग एक लाखको ऋणका लागि भिड्नु परिरहेको छ ।
– आज फाइनान्स कम्पनीहरुको ग्रोथ ५ प्रतिशत छ, सीसीडी रेसियो ६६ प्रतिशत छ । पाँच प्रतिशत स्प्रेड राखेर फाइनान्स कम्पनीहरुले नाफा कमाउनै सक्दैनन् ।
– वाणिज्य बैंकका सिईओ र फाइनान्स कम्पनीका सिईओहरुलाई हेर्ने नजर नै राष्ट्र बैंकको फरक छ, हामी माथि सुरुमै यी कमजोर हुन भन्ने दृष्टिकोण राखिन्छ ।
– अब मर्ज हुने संस्थामा म बस्दिन, र मेरो नेतृत्वमा काम गरिरहेका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाएरै छाड्छु ।
– फाइनान्स कम्पनीहरु डोको जस्तो भए, माथिबाट जति पानी हाले पनि तलबाट चुहिएर खाली हुने रहेछ । हामीले राम्रो अध्ययन गरेर कर्जा दिन्छौं, बाणिज्य बैंकहरुले खुरुक्क तानिदिन्छन् । कहिले काहीँ सुशासनमा राम्रोसँग काम गर्नु पनि अभिसाप रहेछ भन्ने पनि लाग्छ ।
– यो आर्थिक वर्षमा तरलताको धेरै चाप नपर्ला । राष्ट्र बैंकको पुनकर्जाले केहि काम गर्यो । चैतपछि विकास निर्माणको केहि पैसा आउँछन् । तर आगामी वर्षमा भने तरलतामा उच्च चाप पर्ने देख्छु ।
– असार मसान्तपछि बैंक तथा वित्तिय संस्थाहरुको नाफा निकै बढेको देखिन्छ, त्यो वास्तविक नाफा हुने छैन् । त्यो पोलिसी रिल्याक्सेसनले ल्याएको हो । अर्काे वर्ष एकै पटक ठूलो मात्रामा प्रोभिजन गर्नुपर्ने अवस्था आउँछ । ऋणको किस्ता तिर्ने समय थपेर नाफा बढ्छ र ?
– दुई वर्ष बैंकको नाफा नबढ्दा केहि हुन्नथ्यो । हामी बैंकको एसेट्स क्वालीटीमा कम्प्रोमाइज गरेर मुनाफा बढाईरहेका छौं । स्टेज वानको क्यान्सरलाई स्टेज थ्रीमा पुर्याउँदै छौं ।
– हामी भारतीय बैंकिङको बाटोमा अघि बढिरहेका छौं । अहिले पनि खराब कर्जा १.६ प्रतिशत भनेर खुसी बसिरहेका छौं । तर त्यो हुँदै होइन । तीन वर्षपछि हेर्दा डिजास्टर आउनेछ ।
– हामी कोरोनासँगै अघि बढ्दै जानुपर्छ । व्यवसायीलाई राहत दिने काम बैंकको होइन सरकारको हो । व्यवसायीलाई राहत दिने नाममा बैंकको ब्यालेन्ससिटसँग खेलबाड भैरहेको छ । जनताको निक्षेमाथि खेलबाड गर्न पाइँदैन् ।
– नेपालको अर्थतन्त्रमा कोरोनाले कति असर गर्यो ? हामी कसैलाई थाहा छैन् ।

 

प्रतिक्रिया दिनुहोस्