Shikhar Insurance

विद्यासुन्दर शाक्यले कमलपोखरीको ठेकेदारलाई झपारे, कति भयो काम ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३०, सोमबार १९:३७
NIMB
Nabil Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छन् । महानगरपालिका वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतलाई साथमै लिएर पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका क्रममा आज त्यहाँ पुगेका शाक्यले यस्तो निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा शाक्यले जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टी मात्रै व्यक्त गरेनन् पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको प्रष्ट पारे । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन,’ शाक्यले भने, ‘पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहियो।’

Citizen Life
Kumar Bank
Nepal Life

शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिए । प्रमुख शाक्यको निर्देशनपछि कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे । सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी कार्य भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदा बसेकाले केही दिन ढिलाई भएको बताए । ‘करीब ८५ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न गरी हस्तान्तरण गर्छौ ।’

प्रमुख शाक्यले निरीक्षणकै क्रममा कमल पोखरीमा पानी भरणको काम भैरहेको जानकारी दिए । ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भने, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’

प्रमुख शाक्यसँगै रहेका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिए । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उनले भने, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’

करीब एक घण्टा कमलपोखरीको निरीक्षण गरेका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गरे ।

शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए । उनले पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पारे ।

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै उनले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराए ।

‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ,’ उनले भने, ‘दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्