Shikhar Insurance

अस्पताल निर्माण गर्न गुरुङले गरे ७५ लाख बराबरको जग्गा दान

सिंहदरबार संवाददाता
२०८० कार्तिक २३, बिहीबार १०:०७
NIMB
Nabil Bank

मनाङ । ‘एउटा स्थानीय तह, एउटा  अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा देवीजङ्ग गुरुङले जग्गा दान गरेका छन्। गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उनले जग्गा दान गरेका हुन्।

नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार ६ रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ ।

Citizen Life
Kumar Bank

मनाङमा जन्मिएर अमेरिकामा बस्दै आएका डा गुरुङले दान गरेको जग्गाको मुल्य चलनचल्ती अनुसार करिब ७५ लाख पर्छ । गाउँपालिकाले पाँच श्ययाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । तर जग्गा अभावका कारण हालसम्म अस्पताल निर्माण गर्न सकिएको थिएन ।

हिमालयन फ्यामली हेल्थ केयरका संस्थापक तथा कार्यकारी निर्देशकसमेत रहेका डा गुरुङले आफ्नो संस्थाको उद्देश्यसँग मिल्ने खालको काम पालिकाले गर्न लागेपछि जग्गा उपलब्ध गराएको बताए। उनले भने, “हामीले पनि अस्पताल बनाउनकै लागि जग्गा खरिद गरेका हौँ । तर, निर्माण गरिएको थिएन । अहिले पालिकाको उद्देश्य र हाम्रो एउटै रहेकाले अस्पताल बनाउन जग्गा दिएका हौँ ।”

अस्पताल निर्माण भएपछि नासो गाउँपालिकावासीलाई स्वास्थ्योपचारमा सहज हुनेछ । सामान्य उपचारका लागि पनि स्थानीयवासी सदरमुकाम वा छिमेकी जिल्लाको अस्पताल पुग्नुपर्ने अवस्था छ । पालिकाले एक विशेषज्ञ चिकित्सक रहने गरी अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष गुरुङले जग्गा निःशुल्क उपलब्ध भएकाले अब अस्पताल निर्माणको प्रक्रिया थाल्ने बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्