Shikhar Insurance

नेपालगञ्जमा निर्माणाधिन सिटी हलको भौतिक प्रगति ८६ प्रतिशत

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १२:३४
NIMB
Nabil Bank

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधिन अत्याधुनिक नगरभवनको ८६ प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयको बजेटमा नगरभवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका प्रमुख विजय केशर खनालले जानकारी दिएका हुन् ।

“हालसम्म सिटी हलको ८६ प्रतिशत भौतिक प्रगति भएको छ, माग गरिए बमोजिमको बजेट तत्काल आउने हो भने यही असारसम्म काम सम्पन्न हुनेछ । निर्माण सामग्री समयमा नपाउनु र बीचमै डिजाइन समेत परिवर्तन गर्नु परेकाले तोकिएको समयमा सिटी हलको निर्माण पूरा हुन नसकेको हो” खनालले भने । २९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा बजेट बढेर रु ३२ करोड पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बहुउपयोगी भवनमा सात सय ९५ सिट क्षमतासहितका तीनवटा सम्मेलन हल छन् । अत्याधुनिक थिएटरसहितको सभा हलमा पनि छ । सभाहलमा २५ वटा चारपाङ्ग्र्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने क्षमता पनि छ । नगर भवनको डिजाइन परिवर्तन गर्दा थप रु सात करोड बजेट थपिएको छ । माग गरिएको बजेट छिट्टै निकासा भए असार मसान्तसम्म निर्माण सम्पन्न हुने भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँकेका प्रमुख खनालले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले पुरानो नगर भवन भत्काएर अत्याधुनिक नगर भवन निर्माण सुरु गरेपनि काम अलपत्र पर्दै आएको छ । निर्माणाधिन नगर भवनको काम समयमै सम्पन्न गर्नतर्फ सरोकारवाला निकायले चासो दिनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको बजेटमा भवानीयापुरमा निर्माणाधिन नगर भवन समयमै सम्पन्न हुनसके नेपालगञ्जको १४ नं वडा भवानीयापुरमा चहलपहल बढ्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्